राज्यलक्ष्मी शाक्य
दुई साता अघि चीनको भ्रमणमा पुगियो । चीनमा आयोजित व्यापार प्रदर्शनीमा नेपालको तर्फबाट सहभागी हुने अवसर प्राप्त भयो । नेपालमा उत्पादित हस्तकलाबाट उत्पादित सामानहरू बाहेक अरु प्रदर्शनीमा देख्न नपाउँदा आफैलाई खल्लो लागेर आयो । जतिसुकै खल्लो लागे पनि नेपाली हुनुमा गर्व गर्नुपर्ने बाहेक आफूसमक्ष अर्काे विकल्प नहुँदोरहेछ । चीनजस्तो विकसित मुलुकमा आयोजना गरिएको व्यापार प्रदर्शनी निश्चय पनि सौभाग्यको कुरा हो । त्यसमा सहभागिता पनि आफैमा गौरवको विषय हो । अर्काे कुरा चीनको विकासबाट पनि केही सिक्ने अवसर प्राप्त गर्न सकिदोरहेछ दुई साता भ्रमणका क्रममा यस्तै अनुभव हासिल गरियो । दशैंको अवसरमा चीनमा समय बिताउनु पर्दा केही खल्लो महसुस पनि भयो । नेपालीहरूको महत्वपूर्ण पर्वको दिन चीनमा नेपालकै तर्फबाट सरकारको प्रतिनिधित्व गर्ने महामहिम राजदूत लीलामणि पौडेलसमक्ष टिका थाप्न पुग्ने निर्णय गरेर टिकाको अघिल्लो दिन बेइजिङतर्फ लागियो । बेइजिङ नेपाली दूतावासमै दशैंको दिन राजदूत दम्पत्तिबाट टिका ग्रहण गर्ने अवसर पनि जु¥यो । विदेश भ्रमण मेरा लागि आफ्नै खर्चमा भए पनि एउटा अवसरको रूपमा मैले महसुस गरेकी छु ।
यता नेपालमा नयाँ सरकार गठन हुनेबित्तिकै प्रधानमन्त्रीको भारत भ्रमणको चर्चा सुरु हुन्छ । नेपालले कैयौंपटक भारत र चीनका प्रमुखलाई नेपाल भ्रमणका लागि आग्रह गरे पनि उनीहरू नेपाल भ्रमणमा आएको पाइदैन । उनीहरू नेपाल भ्रमणमा आउनु भनेको यहाँ दशैंतिहार आए बराबर हुन्छ । नेपालले उनीहरूको भ्रमणलाई ठूलो महत्वका साथ हेर्ने गरेको छ । त्यहीअनुसारको तामझाम र भव्य समारोह आयोजना गरिन्छ । सडक बन्द र नेपालभर नै बिदा दिने प्रचलन पनि छ । यति हुँदाहुँदै पनि छिमेकी देशका प्रमुख नेपाल कमै मात्र आउँछन् । तर, नेपालका प्रधानमन्त्री र राष्ट्रपति भने कुनै पनि एजेण्डा र महत्व नभईकन पनि विदेश भ्रमणका लागि मरिहत्ते गरेको पाइन्छ । म चीनमा रहेकै बेला यता नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारी कतारतिरको भ्रमणमा जानुभएको खबर सुनियो । राष्ट्रपतिको विदेश भ्रमणबाट नेपालले केही लाभ पक्कै हासिल गर्नुपर्छ भन्ने मेरो मान्यता छ । देशका प्रमुख व्यक्तिले छिमेकी देशहरूमा बेलाबखत भ्रमण गर्नु नराम्रो नभए पनि यो समानताको आधारमा हुनुपर्छ भन्ने मलाई लाग्दछ ।
छिमेकी देशले नेपाल भ्रमणमा कुनै महत्व र चासो नै नदिनु तर नेपालका प्रधानमन्त्री र राष्ट्रपति भने निर्वाचित हुनेबित्तिकै दर्शनभेट गर्नका लागि दौडिनु कूटनीतिक हिसाबले कत्ति पनि उचित होइन जस्तो लाग्छ । नेपालमा विगत कैयौं वर्षदेखि यही चलन चल्दै आएको छ र यही चलनअनुसार अहिले राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमण भएको हुनसक्छ । कतारसँग नेपालको नाता वा सरोकार वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सुरक्षाको सवाल मुख्य हो । कतारबाट प्रत्येक दिनजसो नेपालीहरूका लास बाकसमा बन्द भएर नेपाल आउने गर्दछन् । त्यसलाई न्यूनीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका के हुन सक्ला ? मलाई यसैमा जिज्ञासा भएको छ ।
कतार धेरै टाढाको कुरा हो । अहिले नेपालका दुई छिमेकी देशहरू चीन र भारतबीच शीतयुद्ध चलिरहेको अवस्था छ । दुवै शक्तिशाली बन्ने होडबाजी भइरहेको छ । यस्तो अवस्थामा नेपालको भूमिका कस्तो हुुनुपर्ला । सोचनीय विषय छ । नेपाली भूभाग भारतले आफ्नो नक्सामा पारेर नेपालको नक्सा निर्माण गरिदिएको छ । त्यो नक्साले नेपालको सिमाना नै घटाएको छ । यस सम्बन्धमा नेपालका शासकहरूले मौनता भंग गर्न सकिरहेका छ्रैनन् । दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध बनाउन आवश्यक ठान्ने नाममा आफ्नै देशको भू–भाग गुमाएर बस्नुपर्ने नियति दुर्भाग्यपूर्ण हो । चीन र भारतको विवाद होस् वा भारत र पाकिस्तानको विवाद होस्, नेपालले मौनता देखाउँदै आएको छ । तर नेपाल र भारतबीचको सिमा विवादमा नेपालको मौनता लज्जाजनक हो । यस्तो चरित्र सही अर्थमा सन्तुलित कूटनीति हुन सक्दैन । भारतले कूटनीतिक मर्मलाई ख्याल गर्ने चासो देखाएको छैन । नेपालका शासकहरूले भारतको लागि धेरै गुमाएका छन् । नेपालका नदीहरू कोशी, माथिल्लो कर्णाली, अरुण तेस्रो र महाकाली लगायत नदीहरू भारतको कब्जामा पुगिसकेका छन् । नेपालले यी नदीहरूको स्वामित्व गुमाइसकेको छ । जतिसुकै लम्पसार परेर भारतीय शासकहरूको चाकडीमा लागे पनि नेपाललाई दोहन गर्न भारतीय शासकहरू अगाडि बढिरहेकै अवस्था छ । त्यसैले विदेश नीति सन्तुलित बनाउने नाममा नेपालको स्वाभिमान नै गुमाएर बस्नु कायरता हो भन्ने विषयमा जबसम्म हामी सचेत बन्दैनौं, तबसम्म हाम्रो देश माथि उठ्न नसक्ने निश्चित छ ।
[email protected]
जनधारणा साप्ताहिक
















