काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा सुरु भएको छ ।
विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको चियापान कार्यक्रममा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वष्ठि नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु विजयकुमार गच्छदारलगायतले स्वागत गरिरहेका छन् ।
विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि वि सं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काङ्ग्रेसले चियापान तथा जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ ।
कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, पत्रकार, गैरआवासीय नेपाली सङ्घसंस्थाका प्रमुखलगायत विशिष्ट महानुभाव, काङ्ग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने पार्टी प्रवक्ता शर्माले जनाए ।
काङ्ग्रेसले विसं २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र विसं २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गर्न सकेको थिएन ।
हरेक वर्ष विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको चियापान यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनको १३ औँ दिन नपुगेकाले आज गरिएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनाए ।


















