काठमाडौं / राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिका–१ मा रहेको कागेश्वरी मन्दिरमा एक हजार किलोग्रामको कागको अष्टधातुको मूर्ति स्थापना गर्न लागिएको छ ।
प्रदेश नं ३ मा सांसद रहेका रामेश्वर फुयाँलले धातुका बिग्रिएका कवाडी सामग्री फाल्ने तयारी भएका सामानहरू संकलन गरेर कागको ठूलो मूर्ति बनाएर राख्ने अभियान चलाएका हुन् ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँगै रहेको कागेश्वरी धाममा कागको ठूलो मूर्ति स्थापना गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्ने फुयाँलको लक्ष्यमा स्थानीय नगरापालिका तथा अन्य निकायहरू हातेमालो गरेर हिँडेका छन् ।
धार्मिक पर्यटनमार्फत रोजगारी, सीप विकास र आर्थिक समृद्धि हासिल गर्न, यस क्षेत्रका कागेश्वरी, सुन्दरीमाई, शिवपुरी र मणिचुडलाई चिनाउन कागको ठूलो मूर्ति स्थापना गर्न लागिएको प्रति स्थानीयवासीहरू पनि खुशी छन् ।
१००० किलोको काग बनाउन नगरपालिकाका प्रत्येक घरधुरीलाई मिल्केका कवाड अष्ट धातुका सामान उपलब्ध गराउन आह्वान गरिएको छ । सँगै जोडिएका गोकर्णेश्वर र शङ्खरापुर नगरपालिकावासीलाई पनि अष्ट धातुका कवाड सामग्री बुझाउन अनुरोध गरिएको प्रदेशसभा सदस्य फुयाँलले बताए ।
सुन, चाँदी, तामा, पित्तल, फलाम लगायतका धातुका सामग्री कवाडीलाई नदिइ सम्पदा निर्माणमा उपयोग गर्न लागिएको हो । यसका लागि गागलफेदी–आलापोट–भद्रवास–डाँछी–मूलपानी–गोठाटारलगायत क्षेत्रमा सार्वजनिक र्याली गर्ने तयारीसमेत भइरहेको छ ।
सो कागको मूर्ति बनाउन रु ५० हजारभन्दा बढी सहयोग गर्ने दाताको नाम कागेश्वरी धामको शिलालेखमा उल्लेख गरिनेछ । सहयोग गर्न चाहनेले लोकतान्त्रिक शहीद उद्यान गागल निर्माण उपभोक्ता समितिको नाममा रहेको कृषि विकास बैंकको खाता नं ०२१०८०११८२७३७०१७ मा रकम जम्मा गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
कागेश्वरीमा मेला भर्न उपत्यकाका साथै छिमेकी जिल्ला र विदेशबाट समेत भक्तजन आउँछन्। श्रावण शुक्ल पूर्णिमाका दिन रसुवाको गोसाइँकुण्डमा मेला भर्ने दर्शनार्थीले ल्याएको जल आज कागेश्वरी महादेवलाई चढाउँदा आफ्नो इच्छा पूरा हुने धार्मिक विश्वास छ।
कागेश्वरीमा हाल २०० केजीको कागको मूर्ति स्थापना गरिएको छ । यहाँ प्रत्येक वर्षको भाद्र शुक्ल अष्टमीका दिन विशेष मेला लाग्छ । नगरपालिकाको नाम नै कागेश्वरी महादेवको नामबाट राखिएकाले असोज १ गते नगरपालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

















