काठमाडौं / नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विराटनगरमा पुगेर कार्यकर्ताहरुबीच आफूहरुबाट गल्ती कमजोरी भएको स्वीकार गरेका छन् । उनले कार्यकर्ताहरुलाई पार्टीको एकीकरण गर्दा बिग्रेकाहरुको एकता पनि भएको टिप्पणी गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीले गरेको कार्यक्रममा उनले कार्यशैली बिग्रेको, आचरण बिग्रेकाहरुको पनि एकता भएको भन्दै अब सुधार जरुरी रहेको जनाए ।
छातीमा हात राखेर भन्दा हामी सबै बिग्रेका छौं, यो बिग्रेकाहरुको पनि एकता हो, सप्रेकाहरुको मात्र एकता होइन’ उनले भने ‘कार्यशैली बिग्रेको, आचरण बिग्रेको, जनता र राष्ट्रका लागि जस्तोसुकै समर्पण गर्ने घरबार छाड्ने हामी अहिले विस्तारै विस्तारै सबै चिज मेरो लागि, अरुले मेरो लागि काम गर्नुपर्छ भन्ने प्रवृत्ति बनेको छ ।’
प्रचण्डले पार्टी एकतासँगै कार्यशैली, आचरण र व्यवहारमा पनि सुधार गर्दै जानुपर्ने बताए । ‘समाजवाद निर्माणका लागि नयाँ धाराको पार्टी चाहिएको छ, जनताको मन जितेर हामीले समाजवादको नयाँ मोडल बनाउन सक्छौं । रसियन र चाइनिज मोडलको नक्कल गरेर हुँदैन ।’
प्रचण्डले अहिलेको सरकार असफल भएमा देश नै असफल हुने जनाए । उनले सरकारलाई जनताको आत्मसम्मान हुने गरी काम गर्ने अवसर युगले दिएको धारणा राखे ।
‘युगले अहिलेको सरकारलाई ऐतिहासिक जिम्मेवारी पूरा गर्न अवसर दिएको भावना व्यक्त गर्दै प्रचण्डले त्यो अवसर पूरा गर्न अहिलेको सरकार सक्षम भएको दाबी पनि गरेका छन् ।


















