सामरिक महत्वको हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण सुरु

238

सुर्खेत, २८ कात्तिक । कर्णाली प्रदेश सरकारले मंगलबारबाट हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण सुरु गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश मन्त्रीसहित हुम्लाको उत्तरी नाका हिल्सा पुगेको चाइनिज रेल्वे कम्पनी सिचुवानको प्राविधिक टोलीले सुर्खेतदेखि हिल्सासम्मको दूरीको मंगलबार हवाई सर्वेक्षण गरेको हो । उक्त प्राविधिक टोलीले सीमकोट, चंखेली हुम्ला, सिंजा जुम्ला, गमगढी मुगु, कालीकोट महावु हुँदै दैलेखको रानीमत्ता लेकबाट सुर्खेत जोड्ने द्रुत मार्गको सम्भावित दूरी सर्वेक्षण गरेको मुख्यमन्त्री शाहीले बताए ।

“कर्णाली प्रदेश सरकारले सङ्घीय सरकारबाट अधिकार प्राप्त गरी चाइनिज सरकारसँगको समझदारीपत्रमा हस्ताक्षर गरेलगत्तै देशकै रणनीतिक महत्वको यो दु्रत मार्गको प्रारम्भिक सर्वेक्षण गरेका छौँ,” मुख्यमन्त्री शाहीले भने । यो मार्ग नेपालको आर्थिक व्यवस्थापनको ठूलो सहयोगी बन्ने अपेक्षा गरिएको छ । सङ्घीय तथा प्रदेश सरकारको आफ्नो पूँजीले निर्माण हुन नसक्ने भएपछि अन्तर्राष्ट्रिय लगानीकर्ता चाइना रेल्वे कम्पनी सिचुवान लगानी गर्न तयार भएको मुख्यमन्त्री शाहीले बताए ।

‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ वैशाख १ गते राजधानी सुर्खेतबाहिर मुगुको रारातालमा बसेको प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको कार्यान्वयनस्वरुप (हिल्सा–जमुना) प्रधानमन्त्री द्रुत मार्गको सर्वेक्षण शुरु गरिएको हो । हवाई मार्गबाट भएको सर्वेक्षणसहित चिनियाँ प्राविधिक टोलीले बुधबारदेखि तत्कालीन रेशमी मार्ग, कर्णाली करिडर कालीकोटको खुलालु–हिल्सासम्मको २८१ किलोमिटर सडकको समेत स्थलगत सर्वेक्षण गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here