फेसबुकमा स्टाटस लेख्दा स्पष्टीकरण माग

203

 काठमाडौं / फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले उपसचिवलाई स्पष्टीकरण सोधेको छ । कर्मचारी सरुवाका विषयमा शिक्षा सचिव खगराज बरालले उपसचिव ईश्वरी पोखरेललाई ‘किन कारबाही नगर्ने’ भनी ३ दिने स्पष्टीकरण सोधिएको हो ।

शिक्षा मन्त्रालयले कात्तिक १३ गते आफ्नो मातहतका कर्मचारी, शिक्षक र प्राध्यापकलाई फेसबुक सञ्चालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको थियो । जसमा मन्त्रालयका गतिविधिको समर्थन गर्न पाइने तर खण्डन गर्न नपाइने उल्लेख छ ।

दसैंअघि मन्त्रालयले गरेको सरुवामा शिक्षाका अधिकांश उपसचिव असन्तुष्ट छन् । कतिपयले खटाएको ठाउँमा जान नसक्ने भन्दै निवेदन दिएका छन् भने कतिपय सरुवा भएको नगरपालिकाभन्दा अन्यत्रै खटिन थालेका छन् ।

पोखरेलले शिक्षाका उपसचिवहरूलाई नगरपालिकामा खटाइएको र मन्त्रालयले फेसबुक सञ्चालनसम्बन्धी मार्गनिर्देशन जारी गरेको विषयमा स्टाटसमार्फत असन्तुष्टि पोखेका थिए ।

‘शिक्षामन्त्री र सचिव उदाहरण बनुन्, सलाम ठोकिन्छ तर अन्याय सहिन्नँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘मन्त्रालयको समर्थनमा लेख्न छुट रे, असहमति र विमतिमा लेख्नेलाई निगरानीमा राख्ने र विभागीय कारबाही गर्ने भा छ रे, फेसबुकमा हात चलाउन खोज्दा बाफ रे डरले थरथर कामेको शरीर ।’ मापदण्डबिनै शिक्षाका १ सय ५९ उपसचिवलाई नगरपालिकामा खटाइएकोमा पनि उनले स्टाटसमार्फत असन्तुष्टि जनाएका छन् । ‘मन्त्रीज्यू र सचिवज्यू प्रदेशमा जान तयार भए खटाएको ठाउँमा सलाम ठोकेर विमति नजनाएर गइन्छ,’ उनले स्टाटसमा भनेका छन् । करिब साढे ३ सय शब्द लामो स्टाटसमार्फत असन्तुष्टि व्यक्त गर्दा उनले स्पष्टीकरण खेप्नुपरेको हो ।

पोखरेलले कात्तिक १६ गते स्टाटस लेखी मन्त्रालयका गतिविधिबारे प्रश्न उठाएका थिए । उनले मंगलबार प्रधानमन्त्री, शिक्षामन्त्रीलगायत सरकारका विभिन्न ११ निकायलाई स्पष्टीकरण पठाएका छन् । पोखरेलले मार्गनिर्देशनले त्रास बढेको इंगित गरेका छन् । कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here