काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले वाईडबडी जहाज खरिद प्रकरणमा गलत र अनियमितता भएको भेटिए कारबाही गर्ने उद्धघोष गरेका छन् । उनले भने,‘अहिले जहाज खरिद प्रकरणबारे संसदीय समितिले छानबिन गरिरहेका छन् । मन्त्रालयले संसदीय समिति तथा अन्य छानबिन समितिलाई सहयोग गरिरहेको छ । यदि खरिद प्रकरणमा अनियमितता भएको भेटिए सरकारले कारबाही गर्छ ।’
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री अधिकारीले आफूहरुले नेपालको हितमा र वायु सेवा निगमको हितमा काम गर्नको लागि निर्देशन दिएको जनाए । उनले भने,‘खरिद प्रकरणमा जहाँ जसले गलत र अनियमितता गरेको पाईयो भने हामी शोधभर्ना गराउँछौं । सबै छानबिन समितिको रिपोर्ट बाहिर ल्याउँछौं । सत्य, तथ्य कुरा बाहिर ल्याउनुपर्छ ।’ यद्धपी उनले निगमलाई असफल पार्नको लागि प्रोपागाण्डा फैलाउने काम कसैबाट गर्न नहुनेपनि जिकिर गरे ।
उनले वाईडबडी जहाज खरिद प्रक्रिया २०७१ सालबाटै सुरु भएको र २०७४ सालमा खरिद प्रक्रिया पूरा भएको सुनाए । उनले भने,‘यो सरकार आएको एक दई महिनापछिमात्रै वाईडबडी आएको हो । त्यसैले जहाज खरिद प्रक्रिया, निर्णय प्रक्रिया, भुक्तानी र बैना पठाउने सबै काम योभन्दा अगाडिको सरकारको पालमा सिध्धिईसकेको थियो ।’ जहाज खरिदको सबै प्रक्रियामा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार सहभागी भएको उनले स्पष्ट पारे ।
वाईडबडी आईसकेकोले अब यसलाई चलाउनुपर्ने उनको भनाई छ । तर, खरिद प्रकरणमा अनियमितता र गलत भएको पाईए कारबाही गर्ने अधिकारीले पूनः दोहोर्याए । उनले भने,‘यस विषयमा गहिरो र गम्भिर छलफल हुन्छ । गलत भेटिए हामी कारबाहीको प्रक्रिया बढाउँछौं ।’ उक्त वाईडबडी जहाज अहिले दैनिक करिब ७ घण्टामात्रै चलिरहेकोले अब यसलाई बढाएर दैनिक १३ देखि १४ घण्टासम्म पुर्याउने उनको विश्वास छ । उनले आगामी फेब्रुअरीबाट जापानको ओशाका र मार्चबाट चीन उडान भर्नेपनि जानकारी दिए । उनले मार्चपछि जहाज ‘फुल–फ्लेज्ड’मा सञ्चालन गरिने जनाए ।
उनले नेपाल एयरलाईन्सलाई प्रभावकारी बनाउनको लागि यसको गन्तब्य बढाउन र फराकिलो पार्ने काम भैरहेको पनि जानकारी दिए । मन्त्री अधिकारीले थपे,‘एयरलाईन्सलाई कम्पनी मोडेलमा लैजाने कि रणनीतिक साझेदारी खोज्नेबारे अहिले छलफल भैरहेको छ । हामी नेपाल एयरलाईन्सलाई प्रतिष्पर्धी बनाउँछौं ।’ नेपाल वायु सेवा निगमलाई कसरी र कुन मोडेलमा सञ्चालन गर्नेबारे छलफल भैरहेको उनले जनाए ।
उनले भने,‘निगमलाई निजीकरण गर्दैनौं । बरु, हामी कम्पनी मोडेलमा चलाउँछौं । नेपाल टेलिकमजस्तो कम्पनी मोडेलमा चलाउँछौं । २ वटा जहाज खरिद गर्नको लागि सरकार आँफै जमानत बसेको छ । अब हामी निगमको व्यवस्थापन सुधार्छौं । हाम्रो पहिलो प्राथमिकता भनेको नै व्यवस्थापन सुधार्ने नै हो । निगमले आँफै कमाउँछ र तिर्छ । सधैं ऋण दिएर हुँदैन् । कमाउन र चलाउन सक्छ ।’
उनले आफूहरुले निगम सञ्चालनको लागि अन्तर्राष्ट्रिय साझेदारी खोजिरहेको पनि सुनाए । अधिकारीले थपे,‘नेपालमा मार्केट नभएकाहरुलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौं । त्यस्तोसँग हामी साझेदारी खोज्छौं । साझेदारी खोज्ने प्रक्रियाबारे हामी अबको दुई हप्ताभित्र निर्णय लिन्छौं ।’
त्यस्तै उनले भ्रमण वर्ष २०२० भव्यताका साथ मनाउन गैरहेको सुनाउँदै कम्तिमा पनि भ्रमणमा वर्षमा २५ लाखभन्दा बढि पर्यटकहरु आउने सम्भावना देखिएको विश्वास दिलाए । उनले भने,‘मुलुकको कुल ग्राहस्थ उत्पादनमा कम्तिमा पनि १० प्रतिशत पर्यटन क्षेत्रबाट योगदान पुर्याउने काम गर्छौं । उनका अनुसार आगामी ९ महिनाभित्र भैरवा अन्र्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ । उनले भने,‘त्यस्तै पोखरा विमास्थलको पनि काम द्रुत गतिमा भैरहेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवेको काम भैरहेको छ । अहिले मुलुकमा २६ वटा ठाउँमा हवाई सेवा सञ्चालनमा छन् । यो वर्षदेखि राजविराज, सुर्खेत र दाङमा नयाँ गन्तब्य सुरु गरेका छौं ।’

















