काठमाडाैं , नेपाली सेनाले भर्ना प्रक्रियामा अनियमितता गर्ने १९ अधिकृत सहित १७३ जना सैनिलाई कारबाही गरेको छ । ०७३ र ०७५ सालमा नेपाली सेनामा विभिन्न पदहरुको भर्नामा भएको अनियमित छानबिनका लागि गत जेठ ६ गते सहायक रथीको अध्यक्षतामा बसेको कोर्ट अफ ईन्क्वायरीले छानबिन गरी २३ अधिकृत सहित १८७ जनालाई भर्ना प्रक्रियामा दोषी ठहर गरेको थियो । दोषि ठहर भएकाहरुलाई जनरल समरी सैनिक अदालत (कोर्ट मार्शल)को लागि सिफारिस गरिएको थियो ।
कोर्ट अफ ईन्क्वायरीको आधारमा गत कार्तिक ६ गते प्रधानसेनापतिबाट निर्देशन भई उपरथीको अध्यक्षतामा ९ सदस्यीय जनरल समरी सैनिक अदालत गठन भई अदालती प्रकृया शुरु भएको थियो । उक्त सैनिक अदालतले यही मंसिर १३ गतेको मितिबाट लागू हुने गरी दोषीहरुबाट कूल विगो रकम तीन करोड २२ लाख ७५ हजार राजस्व दाखिला हुने गरी कारबाहीको फैसला सुनाएको छ ।
सैन्य अदालतले गरेको फैसला अनुसार दुई अन्यदर्जा (अधिकृतभन्दा तल) लाई ६ वर्ष कैद, विगो रकम राजस्व दाखिला र भविश्यमा सरकारी सेवामा अयोग्य ठहरीने गरी बरखास्त गरिएको छ । दुई अधिकृत सहित ६ जनालाई ३५ दिन देखि तीन वर्षसम्म कैद, विगो रकम राजस्व दाखिला र भविश्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी बरखास्त गरिएको छ । त्यस्तै एक जना अधिकृत सहित दुई जनालाई विगो रकम राजस्व दाखिला र भविश्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी बरखास्त गरिएको छ । एक अन्यदर्जालाई भविश्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी बरखास्त, एक अन्यदर्जालाई विगो रकम राजस्व दाखिला सहित चार वर्ष बढुवा रोक्का तथा पाँच अन्यदर्जालाई दुई देखि पाँच वर्ष बढुवा रोक्का गरिएको छ । भर्ना हुँदा मापदण्ड विपरित भर्ना भएका एक सय एक अन्यदर्जालाई भविश्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी बरखास्त गरिएको छ भने ३७ अन्यदर्जालाई भर्ना हुँदा आर्थिक लेनदेनमा संलग्न भएकोले तीन वर्ष बढुवा रोक्का गरिएको छ । सैनिक ऐन अनुसार आफ्नो पदिय दायित्व पुरा नगर्ने अधिकृत १६ सहित १७ जनालाई सचेत गराईएको छ । चार अधिकृत सहित आरोपित १४ जनालाई सफाई दिइएको छ भने सेवारत एक अन्यदर्जालाई भर्ना भएको दर्जाबाट घटुवा गरी पहिलाकै दर्जा कायम गरिएको छ ।


















