आयोगले अस्थायी मतदाता नामावली सङ्कलनको तालिका सार्वजनिक

52

काठमाडौं । निर्वाचन आयोगले अस्थायी मतदाता नामावली सङ्कलनको तालिका सार्वजनिक गरेको छ ।

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचन कार्यक्रमका लागि अस्थायी मतदाता नामावली सङ्कलन हुन लागेको हो ।

मङ्गलवार आयोगले सार्वजनिक गरेको अस्थायी मतदाता नामावली सङ्कलनसम्बन्धी कार्यक्रममा असोज ६ देखि ८ गतेसम्म अस्थायी मतदाता नामावली सङ्कलन हुने छ ।

आयोगले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी अस्थायी मतदाताका रुपमा सूचीकृत हुन पाउनेछन् ।

यसैगरी, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिइ सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरुलाई अस्थायी मतदाता नामावलीमा समावेश हुन योग्य मानिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार स्थायी मतदाता नामावलीमा समावेश हुने व्यक्तिहरुको नामावली सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने व्यवस्था गरिएको छ ।

असोज ८ देखि २६ गतेसम्म सम्बन्धित निकायका प्रमुखले मतदाता नामावलीमा समावेश हुने व्यक्तिहरुको नामावली (अन्तिम मतदाता नामावलीमा समावेश हुने व्यक्ति) प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने तालिका निर्धारण भएको छ ।

यसैगरी, कात्तिक १ गते मतदाता विवरण रुजु गरी प्रारम्भिक अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, कात्तिक २ र ३ गते प्रारम्भिक अस्थायी नामावलीमा छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले नाम समावेश गर्न तथा त्रुटि सच्याउन निवेदन दिन सक्ने छन् ।

यसरी प्राप्त निवेदन उपर जाँचबुझ गरी कात्तिक ४ गते संशोधित अस्थायी नामावली प्रकाशन गर्ने, कात्तिक ५ र ६ गते संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिको सम्बन्धमा दाबी विरोधका लागि निवेदन पेस गर्ने र कात्तिक ७ देखि ११ गतेसम्म दाबी विरोधको निवेदन उपर जाँचबुझ गरी निर्णय गर्ने आयोगले जनाएको छ ।

कात्तिक १२ र १३ गते अन्तिम अस्थायी मतदाता नामावली तयार गर्ने र कात्तिक १४ गते  नामावली प्रकाशन गर्ने आयोगले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here