श्री स्वस्थानी व्रत भोलिदेखि सुरु

372

काठमाडौं  / पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री स्वस्थानी व्रत (पौष २५) अर्थात् भोलि देखि प्रारम्भ हुँदैछ। पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यस ब्रतको सुरुवात गरिन्छ ।

बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने र सुनाउने परम्परा पनि रहेको छ।एक महिनासम्म गरिने यस ब्रतमा माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान,  १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाइ ब्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ ।

चढाइएका प्रसादमध्ये सबैबाट आठरआठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहगाउने ब्रत विधिमा उल्लेख छ।  छ । माघ शुक्ल पूर्णिमाका दिन सय रोटी ब्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गर्नाले व्रतालुको मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ । स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी ब्रतकथामा उल्लेख गरिएको छ ।

यस्ती देवीको विधिपूर्वक ब्रत गरेमा सम्पूर्ण दुख नास हुने, चिताएको काम बन्ने, परिवारमा सुख समृद्धि छाउने तथा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ । ब्रत अवधिमा काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतिदेवीका अङ्ग पतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here