ईपीजी प्रतिवेदन भारतले स्वीकार गर्दैन्ः भाजपा नेता जोली

103

काठमाडौं, भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको रिपोर्ट सार्थक नभएकोले भारतले स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता जोलीले यस्तो बताएका हुन् । उनले भने,‘ईपीजीको प्रतिवेदन तयार पार्नको लागि नेपाल–भारत सम्बन्धका जानकार र सम्बन्धित पक्षहरुसँग कुनै छलफल नै गरिएन् । नागरिक समाज, पत्रकार, राजनीतिकर्मीहरु, शिक्षाकर्मी, विद्यार्थी नेताहरु र उद्योगपतिहरुको तहमा प्रतिवेदन बनाउनेबारे कुनै छलफल गरिएन् । यस्ता सम्बन्धित पक्षसँग छलफल नै नगरी बनाईएको प्रतिवेदनको कुनै सार्थकता छैन् ।’
उनले आफू ईपीजीका भारत र नेपाल दुवै तर्फका सदस्यहरुको काम गराइबाट पूर्णतः असन्तुष्ट रहेको गुनासो पोखे । जोलीले भने,‘यो प्रतिवेदन सार्थक छैन र मान्य पनि छैन । प्रबुद्ध समूहबाट जे कुरा अपेक्षा गरिएको थियो, त्यो उनीहरूले पूरा गरेका छैनन् । बन्द कोठाभित्र बसेर बनाइएको प्रतिवेदनले दुई देशको सम्बन्धलाई अघि बढाउन सक्दैन ।’
नेता जोलीले आफू विगत १८ वर्षदेखि नेपाल–भारत द्धिपक्षीय सम्बन्धबारे जानकार रहेको र आफ्नो नेपालसँग अति नै निकट सम्बन्ध रहेको सुनाए । तर, ईपीजीका सदस्यहरुले आफूसँग प्रतिवेदन तयार पार्दा कुनै छलफल र राय नै नलिएको गुनासो पोखे । उनले भने,‘बन्द कोठाभित्र कुनै एउटा सिद्धान्तको आधारमा रिपोर्ट बनाउँदैमा समस्याको समाधान कसरी हुन्छ ? मसँग उहाँहरुले कुनै छलफल र राय तथा सुझाव लिन पनि आवश्यक सम्झिनुभएन् । कुनै एक सिद्धान्तविशेषमा बनाईएको प्रतिवेदन सार्थक हुँदैन् ।’
रिपोर्टसम्बन्धी सम्बन्धित पक्ष र विपक्षसँग पनि ईपीजीका सदस्यहरुले छलफल र विचार विमर्श नगरेकोमा उनले आक्रोश पोखे । उनले भने,‘चाहे त्यो वाटर ट्रिटीको कुरा होस् वा ईन्फास्ट्रक्चरको कुरा होस, या हाईड्रोको कुरा नै किन नहोस् वा अन्य सम्बन्धित क्षेत्रको बारेमा नै किन नहोस् यससम्बन्धी एक्टिभ प्लेअर्सहरुसँग वार्ता भएन् । यसमा मेरो गहिरो दुःख छ । ईपीजीले प्राथमिक कुराहरु नै पूरा गर्न सकेन । यो मेरो आलोचना होईन, तर यसलाई उहाँहरुले ‘कन्स्ट्रक्टिभ–सजेशन’को रुपमा लिनुपर्छ।’
पूरा विश्वले नेपाललाई प्यार गरिरहेको सुनाउँदै उनले आफूहरुले पनि नेपाललाई त्यतिकै माया र सम्मान गरिरहेको सुनाए । नेपालीहरु विश्वभरि नै मेहनती, सफल, काम गर्नेवाला, अघि बढ्नेवाला र विकासको पथमा हिँड्नेवाला भनेर चिनिएको भन्दै जोलीले प्रशंसामा आफ्ना शब्द खर्चिए ।
नेता जोलीले अहिलेपनि भारतीय सेनामा ‘गोरखा रेजिमेन्ट’ रहेको सुनाउँदै नेपाली गोरखालीहरुको वीरताको गाथा सुनाए । त्यतिमात्रै नभएर ब्रिटिश सेनामा पनि ‘गोरखा रेजिमेन्ट’ रहेको सुनाउँदै उनले विश्वभरि नै यसले नेपालको अस्मिता र प्रवुद्धतालाई दर्शाएको विश्वास दिलाए ।
आफू धेरै वर्षदेखि नेपालको राजनीतिक घट्नाक्रमसँग जोडिएको सुनाउँदै जोलीले जुनसुकै पार्टीको नेतृत्वमा नेपालमा सरकार बनेपनि आफ्नो एकमात्र जोड भनेको नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर र मजबुद बनाउनु रहेको स्पष्ट पारे । उनले भने,‘म त नेपाल–भारत सम्बन्ध सुमधुर बनाउने पक्षधर हुँ । यो सम्बन्धलाई अझै मजबुद बनाउनुपर्छ । म अहिलेपनि यही काममा लागिरहेको छु।’
नेपालले पछिल्लो समय धेरै प्रगति गरेको र अहिले नेपाल–भारतबीच सक्रिय सम्बन्ध रहेको पनि जोलीले सुनाए । उनले भने,‘भारतमा भाजपाको सरकार बनेपछि र नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि द्धिपक्षीय सम्बन्ध सक्रियताका साथ अघि बढेको छ । अहिले हामीबीचको सम्बन्धले गति लिएको छ । यो गति अविस्मरणीय र ऐतिहाँसिक छ ।’
मोदी प्रधानमन्त्री बनेको अहिले ५५ महिना भएको उल्लेख गर्दै यो बीचमा मोदी चार पटक नेपाल भ्रमणमा आएकोपनि उनले सुनाए । उनले भने,‘हाम्रो प्रधानमन्त्री मोदीजीले यो दौरानमा चार पटक नेपालको यात्रा गर्नुभएको छ । उहाँले यो भ्रमण गरेर नेपाल र नेपालीप्रति आफ्नो प्रेम, प्यार र सहयोग दर्शाउने कोशिस गर्नुभएको छ ।’
नेपाल प्रगति र उन्नतीको पथमा अघि लम्किओस भन्ने आफूहरुको चाहना रहेको उनको भनाई छ । जोलीले थपे,‘यहाँका नौजावान युवाहरुलाई रोजगार मिलोस् । शिक्षाको क्षेत्रमा नयाँ–नयाँ विश्वविद्यालयहरु खोलिउन् । नेपालमा गरिबी अन्त्य होस् । जनताले स्वास्थ्य सुविधा पाउन् । यहाँका राजमार्गहरुको स्तरोन्नती होस् । दुई लेन, तीन लेन, चार लेन हुँदै ६ लेनसम्मका राजमार्गहरु होउन् । पूर्वाधारको विकास पनि द्रुत गतिमा होस् ।’
त्यस्तै हाईडा«े परियोजनाहरुपनि बनुन् भन्ने उनले कामना गरे । उनले भने,‘नेपालमा जलविद्युत परियोजनाहरु बने भने यसले नेपालको प्रगति हुन्छ । आर्थिक समृद्धिमा यसले ठूलो टेवा पुर्याउँछ । यसले नेपाललाई मात्रै होईन, भारतलाई पनि फाईदा हुन्छ । भारतले पनि प्रशस्त लाभ लिन्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here