-विजय खत्री
गलकोट जैविक, भौतिक, सामाजिक, साँस्कृतिक, धार्मिक र प्राकृतिक रुपले भरिपूर्ण क्षेत्र हो । पर्यटकीय दृष्टिकोणले गलकोट एकदमै धनी छ । जहाँ वरिपरि पहाडै पहाड बिचमा समथर भूमि, खड्का थान(गोलकोत), सहश्रधारा, निलुवा, घुम्टे, गाईघाट झरना, गाजाको दह, मोतिमारेको दह, सम्परखाको दह, हरिचौरमा अवस्थित राजदरबार, उत्तर र पूर्वबाट बगेका कन्चन खोला, गौंदि र दरौंको दोभान आदि क्षेत्रहरू अवस्थित छन् ।
भौगोलिक पृष्ठभूमि :
नेपालको राजनैतिक इतिहासमा मध्यकालदेखि आधुनिक कालसम्म पनि महत्वपूर्ण स्थानको रुपमा स्थापित गलकोट वर्तमान नेपालको पश्चिम भागमा अवस्थित छ । गलकोटको ‘गोलकोत’ वर्तमान गलकोट नगरपालिका वार्ड न. ३ मा अवस्थित गोलो पहाडको टाकुरामा रहेको छ । जुन ठाउँ मध्येपहाडी राजमार्गको हटिया बजारदेखि करिब १० किमी दक्षिणपूर्वमा रहेको छ । तत्कालीन गोलकोत राज्यमा अमरभूमि, अर्गल, दुदिलाभाटी, हरिचौर, हटिया, हिल, काँडेबास, मल्म नरेठाँटी, पाण्डवखानी, रणसिंकिटेनी, रिघा, सल्यान, सिसाखानी, सुखौरा र तारा गाउँ विकास समिति रहेका थिए । हाल गलकोट नगरपालिका अन्तर्गत ११ वटा वडा रहेका छन् । जसमध्ये साविकका गा.वि.स क्रमशः दुधिलाभाटी, नरेठाँटी, हटिया, हरिचौर, मल्म, काँडेबास, रिघा र पाण्डपखानी मात्र समावेश भएका छन् । माथि उल्लेखित गा.वि.स.मा हटिया, हरिचौर र मल्मलाई २/२ वटा वडा बनाइएको छ ।

गलकोट नगरपालिकामा पूर्वदेखि दक्षिण पश्चिममा फैलिएको महाभारत पर्वतश्रृंखला रहेका छन् । यी मध्ये सबैभन्दा अग्लो १०३९३ फिट अग्लो घुम्टे शिखर रहेको छ । यहाँ उत्तरपूर्वबाट पश्चिमतर्फ बगेका दरौं र गौंदी दुई खोला गलकोटको समथर फाँटलाई सिँचित गर्दै उत्तरगंगा ढोरपाटनबाट बग्दै आएको बढीगाढमा मिसिन पुग्दछन् । भौगोलिक रुपले हराभरा भएको गलकोट क्षेत्र वनजंगल, विभिन्न जातका चराचुरुङ्गी, जंगली जनावरका साथै लेकबेसी, समथर फाँट भएकै कारणले तातो तथा चिसो दुवै ठाउँमा उत्पादन हुने खाद्यवाली पाइन्छ । यहाँ विशेष गरि समसितोष्ण फलफुल, तरकारी खेती र खाद्यान्न उत्पादन हुने गरेको छ । हावापानीको हिसाबले पनि गलकोट क्षेत्र निकै मनमोहक रहेको छ ।
गोलकोटको नामाकरण
नेपालको मध्यकालीन इतिहासमा चौबिसे राज्यमध्ये गलकोट राज्य पनि एक थियो । यस राज्यमा मल्ल राजाले राजकाज चलाउनु पूर्व ररेटाकुरे राजाले हालको गलकोट नगरपालिका ३ सम्पखरामा बसी प्रशासनिक कार्य गरेको इतिहास रहेको छ । गलकोटमा रैथाने भएर प्रशासन सञ्चालन गरिरहेका ‘ररेटाकुरे’ मगर प्रशासकलाई पर्वत राज्यका राजा दिलम्बर ‘दिलिप बम’ ले वि.स. १५४६ सालतिर विजय गरी पर्वत राज्यमा मिलाएका थिए । राजा दिलम्बरका नाति राजा प्रतापि नारायणले आफ्ना छोराहरुलार्ई अंश दिने क्रममा जेठा जितारी मल्ललाई गलकोट राज्य दिएका थिए । त्यत्ति बेलाको प्रचलन अनुसार जितारी मल्ल विभिन्न थर, घरका मानिसहरू, आवश्यक खाद्य सामग्री, सुरक्षाका लागि हातहतियारसहित वि.स. १६३१ मा गलकोट आइ बसेका थिए । राजा जितारी मल्लले कतैबाट युद्ध हुँदा सुरक्षाका हिसाबले उक्त गोलकोतलाई दरबारका रुपमा स्थापना गरेका थिए । वर्तमान गलकोट नगरपालिका–३ मा अवस्थित गोलो ‘टोपी’ आकारको पहाडको टाकुरामा ‘दरबार तथा कोतघर’ निर्माण गरी राज्य प्रशासन सञ्चालन गर्न थालेकोले यसै गोलो पहाडको नामबाट यस क्षेत्रको नाम गोलकोत रहन गएको हो । पछि गोलकोतको अपभ्रंश भई हाल गलकोट भन्ने नाम प्रचलनमा रहन गएको हो ।
ऐतिहासिक महत्व
वि.स. १६३१ मा राजा जितारी मल्लले हालको गलकोट नगरपालिका–३ स्थित गोलो पहाडको टाकुरामा कोतघर तथा झिंगटीको दरबार निर्माण गरी राज्य प्रशासन सञ्चालन गर्न थाले । त्यस पश्चात पर्वतका राजा प्रतापी नारायण र गोरखाका राजा राम शाह गलकोट आइ केही समय बसी ठूलो धार्मिक यज्ञसमेत लगाएका थिए । गलकोट क्षेत्रका थुमानाइके, थरी, उमराव, जेठाबुढा, आरीको समुपस्थितिमा विभिन्न सामाजिक, आर्थिक थितिहरु बसाए । मुसीकोटका राजासँग मैत्री सम्बन्ध रहेकाले राम शाहले मुसिकोटकी राजकन्यालाई गलकोटमा झिकाई वरण गरी गोरखा फर्केको कुरा इतिहासकारले उल्लेख गरेका छन् । जितारी मल्लको मृत्युपश्चात पार्थिव, बिमु, शिर्पती, श्रीदत्तपार्थिक पति, नारायण, श्रीनिवास र जगतबम मल्लले स्वतन्त्र रुपमा राज्य प्रशासन सञ्चालन गरेका थिए ।
गोलकोट राज्यको पर्वत राज्यसँग भैयाद (भाई भारदार) को सम्बन्ध थियो भने गुल्मी, अर्धाखाँची, कास्की, पाल्पा राज्यसँग मैत्री सम्बन्ध गाँसिएको थियो । गोरखा राज्यमा पृथ्वीनारायण शाहको उदयपश्चात गोरखालीहरू नेपाल एकीकरणको अभियानमा लागेका थिए । यसै क्रममा गोरखाली सेनाले वि.स. १८२९ मा सतहुँ, वि.स. १८३० मा ढोर र वि.स. १८४१ आषाढमा लमजुङको मकैडाँडामा आक्रमण गर्दा गलकोट राज्यका सेना चौबिसे राज्यका सेनासहित गोरखाली राज्यका सेनासँग निर्णायक युद्ध लडेका थिए । वि.स. १८४३ आश्विन १४ गते गोरखाली सेनाले पर्वत राज्यमाथि आक्रमण गरेका थिए । वि.स. १८४४ जेठको अन्तिम हप्तामा गलकोट राज्यलाई गोरखा राज्यका सेनाले आक्रमण गरि विजय प्राप्त गरे । यस पछि गलकोट राज्य गोरखा राज्यमा मिलेको थियो । यसरी वि.स. १६३१ मा स्थापित राज्य वि.स. १८४४ मा नेपाल राज्यमा एकीकृत भएको थियो । यस प्रकार करिब २१३ वर्षसम्म मल्ल राजाले गलकोटको कोतबाट स्वतन्त्र रुपमा राज्य प्रशासन सञ्चालन गरेको इतिहास पाइन्छ ।
धार्मिक एवं सांस्कृतिक महत्व
जसरी गलकोटको ऐतिहासिक महत्व छ, सोही अनुरुपमा धार्मिक एवं सांस्कृतिक महत्व पनि रहेको छ । मध्यकालीन नेपालका बाइसे चौबिसे राज्यका कोतमा जस्तै जितारी मल्लले आफ्नो साथमा ल्याएको इष्टदेवीलाई कोट दरबारको दक्षिणपूर्वी ५०० मिटरमा मन्दिर बनाई स्थापना गरेका थिए । उक्त जंगलमा बनाइएको मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वती, भगवती र गणेशका मूर्तिहरु रहेका छन् । देवीदेवताका मूर्ति, युद्धमा प्रयोग गरिने भाला, खुँडा, तरबार आदि खड्गमा प्रतिवर्ष बडादशैं आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म र चैतेदशैं चैत्रशुक्ल पतिपदादेखि रामनवमीसम्म पूजापाठ गर्ने प्रचलन छ । मन्दिरमा पुजारी रहेका ब्राह्मण, थापा, भण्डारी, खड्काले आफ्नो दायित्व अनुसार वेद, चण्डी र सप्तस्वती पाठ गर्ने, पुजा गर्ने प्रचलन उहिलेदेखि नै रहिआएको छ । अहिले माथि उल्लेखित थरका व्यक्तिले त्यसको उत्तराधिकारी ठान्ने गरेको देखिन्छन् । कोतमा राखिएका खड्गमा प्रतिपदादेखि नैनित्यपूजा गर्ने, अष्टमीको दिन कालरात्रीको पूजा गरी रातको १२ बजे कालो बोका काटेर रगत चढाउने, देवीको मन्दिरमा पञ्चमीको दिनमा पाठी काटी रगत चढाउने गरिन्छ । त्यस्तै, भगवतीको मन्दिरमा स्थापना गरिएका महाकाली, महालक्ष्मी र महासरस्वती, भगवतीका मूर्तिमा नवदुर्गाको रुपमा कुमारी, त्रिमूर्ति, कल्याणी, रोहीणी, कालिका, चण्डिका, साम्भवी, दुर्गा र शुभद्राको क्रमिक रुपमा पूजा गर्ने गरिन्छ ।
दशैंको अष्टमी र नवमीको दिनमा गलकोट क्षेत्रका स्थानीयबासीका साथै गुल्मी, बागलुङका विभिन्न स्थानबाट हिन्दु धर्मावलम्बीले आफ्नो मनोकांक्षा पूराहोस् भनी भाकल गरिएका पञ्चवली (परेवा, कुभिण्डो, बोका, कुखुराको भाले र राँगो) को पञ्चेबाजासहित बलि दिने प्रचलन छ । उक्त मन्दिरमा पूजापाठ गर्नाले मनमा शान्ति, मनोकांक्षा पूर्ण हुने, दैवी बिपत्तिबाट बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । मकै छर्ने तथा धान रोप्ने समयमा आकाशबाट पानी नपर्दा साथै आपत–विपतमा पूजापाठ लगाउँदा विपद् पार लाग्ने धार्मिक विश्वास समेत रहेको छ । यही कारणले खड्ग थानको महत्व झनै बढेर गएको छ ।
चैतेदशैंको नवमीको दिन कोत (खड्ग थान) मा पूजापाठ र बली दिने गरिन्छ । यस कोत भवन (भगवती मन्दिर) मा बली दिने कार्य सकिएपश्चात् स्थानीय गन्धर्वले पञ्चेबाजाको तालमा बलि दिइएका राँगाको रगत अनुहारमा लगाई लठ्ठी नचाई राक्षसी नाच प्रस्तुत गर्ने प्रचलन रहेको छ । जसलाई सोराँगे नाच्ने भनिन्छ ।
वि.स. २०५४ मा स्थानीय युवाले ‘गलकोट संस्कृति संरक्षण तथा समाज विकास मञ्च’ नामक क्लव स्थापना गरी स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरूलाई आमन्त्रण गरी लोकसंस्कृतिमा आधारित झ्याउरे, सालैजो, सोरठी, यानीमाया, सुनमाया लगायतका गीत तथा नृत्य प्रतियोगिता हुने गरेका छन् । क्लबले लोकसंस्कृतिको जर्गेना गर्न, गलकोटका नागरिकमा एकताको भावना जगाउन र पर्यटकीय स्थलको रुपमा विश्वमा परिचित गराउने उद्देश्यले कार्यक्रम गर्ने गरिएको छ । यसरी गलकोटको कोतले धार्मिक एवं सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निभाएको छ ।
नवमीका दिन गलकोट क्षेत्रका साथै विभिन्न क्षेत्रबाट मेला हेर्न आउने तथा मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीको भीड लाग्ने गर्दछ । सोही अवसरमा स्थानीय हस्तकलाका सामग्री डोका, दाम्ला, नाम्ला, खुर्पेटा, लोपोन्मुख बुट्टेनली, बाँसको काइयो, ठेकी, राडीपाखी लगायत खाद्यन्न र लत्ताकपडा किनबेच हुने गर्दछ । जसले गर्दा गाउँमा उत्पादन भएका वस्तुहरू गाउँमा नै खपत हुने भएकाले आर्थिक उपार्जनमा समेत सघाउ पुगेको छ । यस किसिमको बजारले गलकोटबासीहरू केही वस्तु तथा सेवामा आत्मनिर्भर छन् भन्ने कुरा पुष्टि हुन्छ ।
वर्तमान अवस्था
पर्यटनको हिसाबले हाम्रो देश विश्वका अन्य देशको तुलनामा अग्रस्थानमा छ । एक आर्थिक वर्षमा नेपालमा पाँचदेखि सात लाख विदेशी पर्यटक घुम्नका लागि आउने गरेको तथ्यांकले देखाउँदछ । जसमा ८०–८५ प्रतिशत पर्यटक पर्यटकीय क्षेत्र पोखरामा भ्रमणको लागि पुग्ने गरेका छन् । पोखराबाट गलकोटको कोतसम्मको दुरी करिब १३० किमी मात्रै छ । केही प्रयत्न गरेको खण्डमा यहाँ पर्यटक भित्राउन सहज हुने देखिन्छ । यदि हामीले यस कोतको संरक्षण, प्रचार–प्रसार, उचित व्यवस्थापन साथै परम्परागत हातहातियारलाई जर्गेना गर्न सकियो भने पोखरासम्म आएका पर्यटकलाई गलकोटसम्म पु¥याउन सकिन्छ । पर्यटन बोर्डको तथ्यांकानुसार एक जना पर्यटकले दिनमा सरदर २५०० देखि ३००० सम्म खर्च गर्ने गरेको पाइन्छ । गलकोटमा एक आ.व. मा जम्मा १०० जना विदेशी पर्यटक भित्राउन सकेमा मात्रै पनि करिब ३० लाख रुपैयाँ भित्रिन्छ । गलकोटमा पर्यटकीय वातावरण निर्माण गर्न स्थानीय सरकारले व्यवसायी र स्थानीय जनतासँग हातेमालो गर्दै अगाडि बढ्न जरुरी छ ।
पर्यटनको आवागमनसँगै गलकोट क्षेत्रको विकासमा महत्वपूर्ण फड्को मार्ने निश्चित छ साथै गलकोटमा रोजगारीको अवसर सिर्जना भइ आम्दानीको स्रोत बढ्नेछ । अर्को तर्फ स्थानीय स्तरमा उत्पादित वस्तुले समेत उचित मूल्य पाउने छन् । यसरी उत्पादनमा वृद्धि गर्न सकिँदा त्यसको प्रत्यक्ष तथा परोक्ष रुपमा गलकोट नगरपालिकाको पनि आम्दानी वृद्धि हुन जान्छ । सोही आम्दानीलाई गलकोटको विकासका लागि नै खर्च गरी एक नमुना नगरपालिका बनाउन सकिन्छ साथै पर्यटकीय नगरीको रुपमा स्थापित हुन सक्दछ ।
गलकोटको इतिहास बोकेको कोत (खड्क थान) को संरक्षण र जर्गेना गर्न सकिएन भने भविष्यमा यहाँको पहिचान नै गुम्ने खतरा छ । यसमा हामी गलकोटबासी सचेत हुन जरुरी छ ।
हाल यस गोलकोतको क्षेत्रफल करिब ७ रोपनी रहेको छ । यसको संरक्षण गर्न नसकिए भविष्यमा अतिक्रमणका कारण कोतको क्षेत्रफल साँघुरो हुन नसक्ला भन्न सकिँदैन । त्यसैले यसको संरक्षण, सम्वद्र्धन र व्यवस्थापनको कार्य अगाडि बढाउनु पर्दछ ।
मजुवाफाँट र सिमखेत घडेरीका लागि ३÷४ आना–आनामा टुक्रिने क्रमसँगै नुवाकोट, सिहाँला, माम्ले, बोहोराफाँट, बराहाथाना, टोक्री, सर्दाखेत, टेउवा, झाँक्रिस्थान, काजेसा लगायतका गाउँहरु बुढाबुढीका दाँतहरु जस्तै ८÷१० वटामा सिमित छन् । यसले बजारमा तिब्र रुपमा जनसंख्या वृद्धि भएकाले स्वच्छ वातावरण र कोलाहलबाट मुक्तिका लागि मानिस शान्त ठाँउको खोजीमा भौतारिएको अवस्थामा कोतलाई शान्तिको पर्यायका रुपमा स्थापित गर्न सकिन्छ । यहाँ (कोत) बाट घुम्टेको पहाडका साथै वरिपरिको रमणीय स्थलको आनन्द लिन समेत सकिन्छ ।
पर्यटकीय क्षेत्र
गलकोट पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो । यहाँ कोट (गोलकोत), सहश्रधारा (क्यानोइङ खेल), निलुवा, घुम्टे, गाइघाट झरना, गाजाको दह, मोतिमारेको दह, सम्परखाको दह, हरिचौरमा अवस्थित राजदरबार, उत्तर र पूर्वबाट बगेका कन्चन खोलाहरु, गौंदी र दरौंको दोभान आदि पर्यटकीय क्षेत्र साह्रै मनमोहक छन् । यिनको सही ढंगले प्रचार–प्रसार गर्न सकेमा पर्यटकको आगमनमा वृद्धि हुनसक्छ ।
विश्वको सबैभन्दा सानो देश भ्याटिकन सिटी प्राकृतिक स्रोतको रुपमा त्यति धनी नभए पनि त्यहाँको अत्यधिक प्रचार–प्रसारका कारण पर्यटकको भिड लाग्ने गरेको छ । जहाँ पर्यटकलाई आवश्यक पर्ने सेवासुविधाहरूको सहज उपलब्ध हुनु पनि त्यहाँको प्रमुख विशेषता हो । हाल त्यहाँको अर्थतन्त्र पर्यटनले धानेको छ । यसै गरी गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउनको लागि यातायातको सुविधा हुनु अत्यन्तै आवश्यक छ भने आजकल पैदल यात्रा गर्ने चलन पनि बढेको छ । पैदल यात्राको लागि स्थानीय ढुंगाको प्रयोग गरी राम्रो टे«किङ रुट निर्माण गर्न जरुरी छ ।
अन्त्यमा
जुनसुकै ठाउँको विकासका लागि स्थानीयले विशिष्ट कार्य गर्नुपर्दछ । स्थानीय जनताको सहकार्यमा सरकारी तथा गैरसरकारी संस्थाको सामूहिक प्रयत्नबाट सुन्दर गलकोट बनाउन सकिन्छ । यसको लागि दृढ संकल्प र इच्छाशक्ति चाहिन्छ । भविष्यमा रोजगारी, स्वच्छ वातावरण, विकास, शिक्षा, स्वास्थ्यको लागि गलकोट छोड्न नपरोस् भन्ने उद्देश्यले यहाँ प्रचलित संस्कार, संस्कृति, धार्मिक स्थलको जर्गेना गर्दै विकासको आधार खडा गर्नुपर्दछ । जसरी हामीले हिजो हाम्रा बाबुबाजेबाट सिक्यौं त्यही सिकाइ हाम्रा पुस्तामा पुस्तान्तण गर्दै अघि बढेनु पर्दछ । जसले गर्दा भोलिका दिनमा हाम्रा पुस्ताले गलकोटमा जन्मिनुमा आफू गर्व गर्ने वातावरण बन्न सक्दछ ।
गलकोट क्षेत्र र गलकोटबासीको विकासका लागि हाम्रा प्राकृतिक सम्पदा, धार्मिक, संस्कार, सांस्कृतिक, कलात्मक हस्तकला तथा लोककलालाई संरक्षण र सम्र्बधन गर्नु पर्दछ । गलकोटको अर्थतन्त्र रेमिट्यान्समा मात्र सीमित नभएर कृषि र पर्यटनमार्फत अगाडि बढ्न सकेको खण्डमा गलकोट आफैमा आत्मनिर्भर बन्नेछ ।



















