नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउने प्रयास भइराखेको बताएका छन् ।
नेकपाका केन्द्रीय सदस्य वामदेव क्षेत्रीद्वारा लिखित ‘नेपालको अर्थ राजनीति, सम्भावना र चुनौती’ विषयको पुस्तक सार्वजनिक गर्दै उनले संघर्षबाट प्राप्त भएका गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व संविधानको आधारस्तम्भलाई कमजोर बनाउने खेल भइरहेको बताएका हुन् । उनले यी उपलब्धिमध्य एक कमजोर हुँदा मुलुक अप्ठ्यारोमा पर्न सक्नेतर्फ सचेत गराए । उनले भने, “सङ्घर्षबाट प्राप्त उपलब्धिलाई कमजोर बनाउने प्रयास भइराखेको छ, यसलाई संस्थागत बनाउन सबै एकताबद्ध हुनु जरुरी छ ।”
उक्त कार्यक्रममा प्रचण्डले राष्ट्रिय पूँजीको विकासलाई प्राथमिकता दिँदै राष्ट्रिय हितअनुकूल विदेशी पूँजीको प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले सरकारको कामलाई जनपक्षीय बनाउँदै राष्ट्रिय पूँजी निर्माणमा ध्यान दिनुपर्ने पनि बताए ।
पूर्वप्रधानमन्त्री प्रचण्डले भने, “हाम्रा विकास नीति, बजेट तथा कार्यक्रम राष्ट्रिय पूँजी निर्माण गर्न केन्द्रित छन् की छैनन्, समाजवादको आधारका रुपमा रहेको राष्ट्रिय पूँजीको विकास गर्न खोज्दा हाम्रो गतिविधिले कतै दलाल पूँजीको विकासमा मद्दत पुगेको त छैन ।”
समाजवाद उन्मुख राजनीति, अर्थतन्त्र, संस्कृति र विकासको समग्र आयामबारे चिन्तन, मनन र अध्ययन गर्नुपर्ने समय आएको बताउँदै उनले समाजवादतर्फ अघि बढ्ने प्रयास जारी रहेको प्रष्ट्याए । उनले भने, “अबको समाजवाद सबैभन्दा विकसित समाजवाद हो, कम्युनिष्ट आन्दोलनभित्र अत्यन्त रुढीवादी चिन्तन हावी देखिएको अवस्थामा समाजवादको धरातललाई बलियो बनाउनु जरुरी छ ।”
राम्रो भविश्यको चाहनामा विभिन्न चरणमा जनताले सङ्घर्ष गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले सङ्घर्षको एउटा बिन्दुमा समझदारीमार्फत गरिएको राजनीतिक घोषणा राज्यका अङ्गले अङ्गीकार गर्न नसक्दा पूराना र नयाँ लडाइँमा पूरानो विचार हावी भएको बताए । उनले भने, “सडकमा सङ्घर्ष गर्दा राजनीतिक नेतृत्व हावी हुने तर सत्तामा पुग्दा राजनीतिक नेतृत्व असफल हुने अवस्था सिर्जना भएको छ ।”

















