काठमाडौं / एनआई सी एसिया बैंक लिमिटेडको २०७५ मंसिर १७ गते बसेको ३८० औ सञ्चालक समितिको बैठकले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गरेको छ ।
न्यौपानेले ३८ वर्षकै उमेरमा देशको ठूलो बैंकको जिम्मेवारी पाएका छन् । न्यौपानेको नेतृत्वमा बैंकले सफलता पाउने आशा बढाएको छ । आन्तरिक लेखापरिक्षण विभागमा प्रमुख हुँदै बैंक अफ एशिया नेपाल लिमिटेडबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका न्यौपानेले बैंकको प्रमुख जोखिम अधिकृत , सहायक प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा जिम्मेवारी सम्हालि सकेका छन् ।
त्यसैगरी सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ ।२०४६ मंसिरमा तत्कालीन नेपाल ग्रिण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग सेवामा प्रवेश गर्नुभएका पाण्डेले विभिन्न बैंक तथा एनआई सी एशिया बैंकका विभिन्न विभागहरुमा लामो समयदेखि विभागीय प्रमुखको भूमिका निर्वाह गर्दै आएको बैंकले जनाएको छ ।
नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेसगैं बैंकको दीर्घकालीन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा समेत उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको पनि बैंकले जनाएको छ ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले मंसिर १७ गतेबाटै पदभार ग्रहण गर्दै ‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने बैंकको मूल नारालाई आत्मसात गर्दै समृद्व नेपाल, सुखी नेपालीको राष्ट्रिय अभियानमा बैंकको तर्फबाट योगदान पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।














