तोकिएकोभन्दा बढी शुल्क लिए कारबाही हुन्छ : शिक्षामन्त्री पौडेल

102

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएभन्दा बढी शुल्क लिएमा मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्ने बताउनुभएको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजूरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्री पौडेल आज भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षणमा जानुभएको हो ।

चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले कलेज सञ्चालकले बढी शुल्क लिन नपाउने उहाँले बताउनुभयो । अनुगमनका क्रममा मन्त्री पौडेलले कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई भन्नुभयो, “बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुनअनुसार कारबाही हुन्छ ।’’

मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म प्रतिवेदन पेश गर्न पनि निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक बिमल खड्काले जानकारी दिनुभयो । ‘‘भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा विद्यार्थी अभिभावकसँग बसेर वार्ता गर्नुहोस्’’ मन्त्री पौडेलले निर्देशन दिँदै भन्नुभयो । मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई वार्ताका लागि बोलाउनुभएको छ ।

काठमाडौँ मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि तालाबन्दी एवं प्रदर्शन गर्दैआइरहेका छन् । बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here