काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले निजामती कर्मचारीहरूका युनियन सबैको साझा हुनु पर्ने बताएका छन् । नेपाल निजामति कर्मचारी युनियन, गृह मन्त्रालयको ८ औँ विभागीय अधिवेशनको उद्घाटन कार्यक्रममा मन्त्री खाणले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले युनियनले सरकारले सेवा सुविधा नदिँदा, सरकार जनताप्रति उत्तरदायी नहुँदा र राम्रो काम हुन नसक्दा सरकारलाई दबाब दिनुपर्ने जनाए ।
तोकिएको समयभन्दा बढी काम गर्नुपर्ने भएकाले थप समयमा काम गरेमार्फत कम्तिमा खाजा खर्च थप गर्ने विषयमा आफूले अर्थ मन्त्रालयमा कुराकानी गरिरहेको पनि गृहमन्त्री खाणले बताए । ‘थप समयमा काम गरेवापत कम्तिमा पनि भत्ता उपलब्ध गराउनुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसका लागि अर्थ मन्त्रालयमा हामीले पहल गरिरहेका छौँ । अर्थ मन्त्रालयबाट सकारात्मक जवाफ आएको छ । तर, निर्णय भइसकेको छैन,’ मन्त्री खाणले भने ।
गृह मन्त्रालय मातहतका कर्मचारीले सहज र प्रतिकूल दुवै अवस्थामा काम गर्नु पर्ने भएकाले यो काम गर्छु, यो गर्दिन भन्ने छुट नभएको बताए । उनले जिल्लाको प्रमुख रहने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले एकैपटक बिदा लिएर जिल्ला बाहिर नजान मन्त्रालयले सर्कुलर जारी गरिसकेको जनाए ।
सिराहामा भएको घटनाको उदाहरण दिँदै घटना घट्दा प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख जिल्लामा नभएको अवस्थाले गर्दा थेग्न नसक्ने भएपछि परिवर्तन गर्नुपरेको जनाए । युनियनको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष रामकुमार लम्सालले जानकारी दिए । कार्यक्रममा युनियनमा आबद्ध रहेर काम गरेका सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो ।


















