महानगरको सभापतिमा प्रगतिमानलाई समर्थन

50
काठमाडौं । नेपाली कांग्रेस काठमाडौंमा आज नगर अधिवेशन हुँदैछ। ११ वटा नगरपालिकामध्ये १० वटामा शनिबार  अधिवेशन हुन लागेको हो।

दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन बाँकी रहेकाले आज नगर अधिवेशन नहुने नेपाली कांग्रेसले जनाएको छ।

चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ। त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहोर्‍याउन संस्थापन र इतर पक्ष तयार भएपछि निर्विरोध नेतृत्व छानिन लागेको हो।

काठमाडौंका बाँकी नौ वटा नगरपालिकामा नेतृत्व चयनका लागि सभापति शेरबहादुर देउवा र कृष्ण सिटौलाको एउटा टिम बनेको छ भने इतर पक्षबाट प्रकाशमान सिंह र गगन थापाको अर्को टिम तयार गरिएको छ ।

सबैभन्दा धेरै चर्चा यसपालि काठमाडौं महानगरको चुनावको हुँदैछ। किनभने यहाँ १५ वर्षपछि चुनाव हुँदैछ भने मुख्य दुई समूहबीच प्रतिस्पर्धाको तयारी छ।

काठमाडौंमा पछिल्लो समय पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापा एकै ठाउँमा उभिएका छन्।

साथै सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष पनि एकै ठाउँमा आइपुगेका छन्। कांग्रेसका यी दुई पक्षबीच काठमाडौंमा प्रतिस्पर्धा हुनेछ।

दुई समूहले प्यानल नै बनाएर शनिबार काठमाडौंको पालिका अधिवेशनमा भाग लिने तयारी गरेका छन्।

सिंह-थापा समूहबाट काठमाडौं महानगर वडा नम्बर २५ का वडाध्यक्ष रहेका पुराना नेता नीलकाजी शाक्य सभापति पदका उम्मेदवार छन्।

कम्युनिष्टहरूको गढमा उनले २०७४ मा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्ष जितेका थिए। काठमाडौंलाई थप व्यवस्थित बनाउन आफूले काम गर्न सक्ने नीलकाजीले बताउँदै आएका छन्। साथै देउवा-सिटौला पक्षबाट तरूण दल काठमाडौंका संस्थापक अध्यक्ष रहेका प्रगतिमान रञ्जित सभापति पदका अर्का उम्मेदवार हुन्।

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत र सिटौलानिकट रहेका भीमसेनदास प्रधानले यसपालि देउवा-सिटौलालाई काठमाडौंमा एकै ठाउँमा उभ्याएका छन्।

प्रधानले सभापति देउवासहित आफूहरूले महानगरको सभापतिमा रञ्जितलाई सहयोग गर्ने निर्णय गरेको जनाए ।

‘काठमाडौंका पूर्वसभापति ध्यानगोविन्द रञ्जितलगायत हामी सबै साथीहरू प्रगतिमान रञ्जितलाई सहयोग गर्नेमा छौं।

भूकम्पका बेला पनि उहाँले राम्रोसँग काम गर्नुभएको थियो। तरूण दल काठमाडौंको संस्थापक अध्यक्ष रहेर पनि उहाँले काम गर्नुभएको अनुभव छ। युवा हुनुहुन्छ, नेतृत्व गर्न सक्ने क्षमता छ भने भिजन पनि छ,’ प्रधानले भने।

प्रधानका अनुसार सभापति देउवा र पूर्वमहामन्त्री सिटौलाको पनि महानगरको सभापतिमा प्रगतिमानलाई समर्थन छ। ‘सभापति र पूर्वमहामन्त्री सिटौलाले पनि प्रगतिमानलाई समर्थन गर्नुभएको छ,’ प्रधानले भने।

महानगरमा सभापतिका उम्मेदवार रहेका प्रगतिमानले पनि आफूलाई सभापति देउवासहित पूर्वमहामन्त्री सिटौलाको पनि समर्थन रहेको दाबी गरे।

‘पार्टी संगठन बलियो बनाउने हो। स्थानीय चुनावमा मेयरसहित धेरै वडाध्यक्ष जित्ने हो,’ उनले भने, ‘१५ वर्षसम्म महानगरमा चुनाव नहुँदा नेतृत्वविहीन अवस्था रह्यो। नेतृत्वको खडेरी पर्‍यो। सबैसँग समन्वय गर्दै म पुराना र नयाँ पुस्ताको साथ लिएर महानगरमा पार्टीको संगठन बलियो बनाउँछु।’

देउवा-सिटौला र सिंह-थापाले महानगर कार्यसमिति चुनावमा प्यानल नै बनाएर प्रतिस्पर्धाको तयारी गरेका छन्। प्रगतिमानले पनि प्यानलबीच नै चुनाव हुने बताए।

‘प्यानल बनाएर जाने पक्षमा म थिइनँ, तर अब प्यानल नै हुने भयो। यो पार्टीका लागि विडम्बना हो। सकभर सहमतिमै अधिवेशन गरौं भनेको सकिएन,’ उनले भने।

आफूलाई पूर्वमहामन्त्री सिंहले पनि समर्थन गरेको दाबी उनको थियो।

‘उहाँले मलाई समर्थन गर्नुहुन्छ। केन्द्रीय सभापति उठ्ने भनेको नेताले तल्लो तहमा हुने अधिवेशनमा धेरै चासो लिनुहुन्न होला। उहाँको समर्थनमा अर्को प्यानल बनेको भन्ने छ,’ उनले भने।

काठमाडौंमा हुने कांग्रेसको निर्वाचनमा पहिलेदेखि नै सिंह भर्सेस अरू नेता हुने गर्दथे। यसपालि प्रकाशमान र गगन एकैठाउँमा आइपुगे भने उनीहरूविरूद्ध अरू नेता एकजुट छन्।

‘पहिलेदेखि नै काठमाडौंमा प्रकाशमान भर्सेस अरू नेता हुने गर्दथ्यो। यसपालि प्रकाशमानलाई साथ दिन गगन आइपुगे,’ सिंहनिकट एक नेता भन्छन्।

थापाको क्षेत्रका पुरूषोत्तम खकुरेल महानगरको सचिव पदमा उठ्ने तयारीमा छन्। भीमसेनदास प्रधानलाई छाडेर खकुरेल थापानिकट भएका हुन्।

साथै शाक्य प्यानलबाटै सुशन वैद्य पनि सचिवमा उठ्दैछन्। वैद्य पनि लामो समयदेखि गगननिकट छन्। यसपालि महानगरमा सचिव दुई पदमा निर्वाचन हुँदैछ।

‘महानगर सभापतिमा सिंहनिकट नीलकाजी र दुबै सचिव गगननिकट खकुरेल र वैद्यलाई समेटेर प्यानल बनाइएको छ,’ ती नेताले भने, ‘काठमाडौंमा अब यसैगरी मिलेर अगाडि जाने भन्ने मोटामोटी सहमति सिंह र थापाबीच छ।’

प्रकाशमान र गगनबीच संसदीय दलको चुनावदेखि नै सहकार्य थियो। संसदीय दलको नेतामा देउवा र सिंह भिडेका थिए। त्यसबेला गगनले सिंहलाई साथ दिए भने भीमसेनदास प्रधानले भने देउवालाई सघाएका थिए।

सिंहसँग लामो समयदेखि नै सहकार्य रहेको थापा बताउँछन्।

‘संसदीय दलकै नेता छान्ने चुनावमा मैले प्रकाशमान सिंहसँगै सहकार्य गरेर जाने निधो गरेको हो,’ उनले भने, ‘यसले गर्दा काठमाडौंमा कांग्रेस संगठन निर्माणलाई सहयोग पुग्छ। काठमाडौंको दशवटै निर्वाचन क्षेत्रका साथीहरूसँग तीन वर्षअगाडि नै मैले छलफल गरेर यो बाटो लिनुपर्‍यो भनेको हो।’

तीन वर्षदेखि गृहकार्य गरेर सिंहसँग सहकार्य गरेर अगाडि बढ्ने निधोमा पुगेको पनि थापा बताउँछन्। सिंहले पार्टीका तल्ला तहमा सर्वसहमतिमा नै नेतृत्व चयन हुनुपर्ने बताएका छन्। पार्टीमा यसपालि धेरै पद रहेकोले सबैलाई ठाउँ दिएर जानुपर्नेमा सिंह रहेको उनीनिकट एक नेताले बताए।

‘उहाँले उस्तै परे सभापतिमा लड्नुपर्छ, त्यसका लागि सबै समूहलाई तलदेखि नै समेटेर लैजाँदा सहयोग मिल्छ भन्नुभएको छ,’ ती नेताले भने, ‘आफू-आफू किन झगडा गर्ने? पार्टीभित्र सकेसम्म सहमति गरौं, चुनाव नगरौं भन्ने उहाँको भनाइ छ। पार्टीमा लामो समयदेखि दु:ख गरेकाहरूलाई सहयोग गरेर जानुपर्छ भन्ने उहाँको भनाइ छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here