काठमाडौँ, पछिल्ला केही दिन यता पश्चिमी वायुको प्रभावका कारण तापक्रम निरन्तर घट्दै गएकाले चिसो बढेको छ ।
पश्चिमी वायुको प्रभावले मौसममा बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री पुगेको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम ६ र अधिकतम तापक्रम १९ डिग्रि सेल्सियस रहेको थियो । जाडो याम शुरु भइसकेकाले न्यूनतम तापक्रम तिरन्तर घट्नाका साथै चिसो बढ्ने वरिष्ठ मौसमविद्हरु बताउँछन् ।
मौसमविद्हरुका अनुसार पश्चिमी वायुको प्रभावका साथै यावुमण्डलमा विकसित भएका स–साना गतिविधिका कारण मौसममा खराबी आएको हो । अहिले पानी पार्ने प्रणालीको विकास हुन सकेको छैन उक्त प्रणाली सक्रिय भए चिसो झनै बढ्नेछ ।
आज पनि पूर्वी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।


















