प्रचण्ड पहिलो पटक सार्वजनिक भएको सिक्लेसमा शान्ति स्मारक

136

काठमाडौ, तत्कालीन नेकपा माओवादीका अध्यक्ष (हाल नेकपाका अध्यक्ष) पुष्पकमल दाहाल प्रचण्ड सार्वजनिक भएको कास्कीको सिक्लेसमा शान्ति स्मारकको अनावरण गरिएको छ । शान्ति प्रक्रियाको प्रस्थान विन्दु बनेको कास्कीको मादी गाउँपालिकामा निर्माण भएको शान्ति स्मारकको एक कार्यक्रमकाबीच सोमबार प्रचण्डले अनावरण गरेका छन् ।

तत्कालीन सशस्त्र आन्दोलनरत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग सिक्लेसमा छलफल गरी वार्ताको वातावरण बनाउन तत्कालीन गृहमन्त्री तथा सरकारी वार्ता टोलीका संयोजक कृष्णप्रसाद सिटौला सिक्लेस आएका थिए ।

त्यसलगत्तै अध्यक्ष प्रचण्डलगायत माओवादी पार्टीको शीर्ष नेतृत्व २०६३ असार २ गते बालुवाटारमा सार्वजनिक भएका थिए । त्यसपछि मात्र मुलुक शान्तिप्रक्रियामा प्रवेश गरेको थियो ।

प्रचण्ड पहिलोपटक सार्वजनिक भएको स्थल सिक्लेसको ऐतिहासिक एवं राजनीतिक महत्वलाई दृष्टिगत गरी शान्ति स्तम्भसहितका पूर्वाधार निर्माण गरिएको हो । दुई रोपनी क्षेत्रफलमा पैmलिएको स्तम्भसहितको स्मारक गाउँपालिका र स्थानीय जनसहभागिता परिचालन गरी रु १५ लाखको लागतमा निर्माण सम्पन्न गरिएको हो ।

स्तम्भमा शान्ति प्रकृयासँग सम्बन्धित विगत, वर्तमान र भविष्यको सन्देश दिने विभिन्न २० वटा भाव व्यक्त गरिएको छ । स्मारकमा शान्ति प्रक्रियासँग सम्बन्धित विभिन्न तस्बीर, दस्तावेज समेटिने गरी सङ्ग्रहालयसमेत सञ्चालन गरिएको छ ।

अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले तत्कालीन विद्रोही तथा सरकार दुवै पक्षले जोखिम मोलेर नै शान्ति प्रक्रियाको थालनी गरिएको भन्दै अब शान्ति प्रक्रियाका बाँकी कामहरु छिट्टै टुङ्गो लगाउने बताए ।

विश्वका लागि पनि नेपालको शान्ति प्रक्रिया अध्ययनको थलो भएको बताउँदै उनले शान्ति प्रक्रियाको उद्गम थलो सिक्लेसको महत्व झनै बढेको बताए । राजनीतिक परिर्वतनको लागि तत्कालीन सात राजनीतिक दल तथा विद्रोहीसमेत एक भएर सङ्घर्ष गर्दै संविधान निर्माण गर्न सफल भएको र अब आर्थिक समृद्धिका लागि पनि सबै पक्ष एकताबद्ध हुनुपर्ने खाँचो अध्यक्ष प्रचण्डले औँल्याए ।

समारोहमा नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्व गिरिजाप्रसाद कोइरालाको शीर्षस्थ व्यक्तित्वका कारणबाट नै नेपालको शान्ति प्रक्रिया सफल भएको बताए । काङ्ग्रेस पार्टी प्रतिपक्षमा भएपनि विकास र समृद्धिको यात्रामा सरकारलाई सकारात्मक सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दै उनले द्वन्द्वका पीडितलाई सरकारले न्याय दिनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here