काठमाडौं / अवैधरुपमा ‘दुबईबाट तस्करी गरेर २०७४ माघ ९ गते त्रिभुवन विमानस्थल हुँदै काठमाडौं भित्र्याएपछि हराएको ३३ किलो सुन भारतमा बरामद भएको छ।
भारतीय प्रहरीय र त्यहाँको राजस्व अनुसन्धान विभाग टोलीले गत शुक्रबार कोलकाता–दिल्ली राजमार्गस्थित धनकुनी क्षेत्रबाट सुन बरामद गरेको हो।
सुन तस्करीको छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समितिका संयोजक तथा सहसचिव ईश्वरराज पौडेलले कोलकाता–दिल्ली राष्ट्रिय राजमार्गबाट भारतीय राजश्व अनुसन्धान विभागको टोली र भारतीय प्रहरीले बरामद गरेको जानकारी दिए।
‘दुबईबाट तस्करी गरेर २०७४ माघ ९ गते त्रिभुवन विमानस्थल हुँदै काठमाडौं भित्र्याएको ३३ किलो सुन कोलकातामा बरामद भएको खबर आएको छ’, संयोजक पौडेलले अन्नपूर्णसँग भने, ‘नेपालबाट हराएको ३३ किलो परिणामको सुनसहित दुईजना नेपाली पनि पक्राउ परेपछि छानबिन गर्दा त्यही सुन भएको खुलेको छ। यसबारेमा त्यहाँको राजस्व अनुसन्धान विभागले कोलकातास्थित नेपाली महावाणिज्यदूतावासलाई गराइसकेको छ।’
यसरी भयो बरामद : कोलकात्ता पुर्याइएको सुन भारतीय बजारमा व्यवस्थापन गर्ने तयारीस्वरुप दुवै नेपाली व्यापारी सुन लिएर त्यता लागेका थिए। भारतीय राजस्व अनुसन्धान निर्देशनालय र प्रहरीको संयुक्त टोलीले एकै दिन दुई ठाउँबाट ९९ किलो सुन बरामद गरेका थिए। लखनउबाट प्रहरीले ६६ किलो सुन बरामद गरेको थियो। त्यही दिन राजस्व अनुसन्धान निर्देशनालय र भारतीय प्रहरीको संयुक्त अप्रेशनका क्रममा कोलकात्तास्ति राष्ट्रिय राजमार्गबाट ३३ किलो सुन बरामद भएको हो।
गियर भित्र भेटियो ३३ किलो सुन : ३३ किलो सुन एउटा स्विफ्ट कारभित्र भेटिएको छ। स्विफ्ट कारको गियर नजिक सानो बक्स बनाएर सुन राखिएको थियो। ड्यास बोर्डनजिकै बक्स बनाएर लुकाइएको अवस्थामा बरामद भएको हो। अन्नपूर्ण पोष्ट


















