देजगमोबाट तेस्रो जनआन्दोलन उठानको घोषणा

254

काठमाडौंको कमलपोखरीस्थित होटेल कमलमा आयोजित पत्रकार भेटघाट कार्यक्रमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले अब देशमा एक ऐतिहासिक तेस्रो जनआन्दोलनको उठानका लागि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको नेतृत्वमा तयारी भइरहेको जनाउनु भएको छ।
मोर्चाको बुद्धनगरस्थित कार्यालयमा केन्द्रीय समितिको पूर्ण वैठक बसी लिइएका संघर्षका निर्णयहरुको सार्वजनिकीकरण गर्दै उहाँले निरन्तर संघर्षको उठानसँगै यसलाई आम हडतालको उचाइमा पुर्याउने  पनि जनाउनु भएको छ ।

पत्रकारहरुमाझ अध्यक्ष सीपी गजुरेलले अब उठान गरिन लागेको तेस्रो ऐतिहासिक जनआन्दोलनको जिम्मेवारी लिन सबै तयार रहन अनुरोध पनि गर्नु भएको छ । एक जिम्मेवार वैकल्पिक शक्तिका रुपमा जिम्मा लिन र त्यसको कुशलतापूर्वक नेतृत्व गर्न आफूहरु र आफ्नो मोर्चा तयार रहेको भन्दै गजुरेलले जसका लागि देशभक्त, वामपन्थी, प्रगतिशील तथा अग्रगामी शक्तिहरुको मोर्चा बनाएर अघि बढ्न तयार हुनुपर्ने कुरामा जोड दिनु भएको छ । उहाँका अनुसार यो विकल्प कुनै पनि व्यक्तिका विरुद्धमा अर्को व्यक्ति खडा गर्ने नभई सिंगो संसदीय व्यवस्थाका विरुद्धमा जनताको सत्ता स्थापना गर्ने विकल्पको आन्दोलन हो।

पत्रकारहरुसँग कुराकानीका क्रममा गजुरेलले यसको तयारी आजैदेखि तपाईहरुसँगको भेटघाटबाटै सुरु गरेका छौ, तपाईका समाचार माध्यमहरुमा यो समाचार प्राथमिकताका साथ हेडलाइनमा राखी प्रचारप्रसारमा ल्याउनुहोला, यसैबाट तयारीको सुरुआत हुने दाबी गर्नु भयो ।

गजुरेलका अनुसार प्रचारप्रसारका अतिरिक्त मोर्चाले चरणवद्ध संघर्षका कार्यक्रमहरुलाई अघि बढाउने भएको छ । जसका लागि देशव्यापी जनसम्पर्क र जनसम्बन्धलाई जोड्न मेचीमहाकाली अभियान चलाउनुका साथै यो मेचीमहाकाली अभियानको सुरुआत फागुन ७ गते पूर्वमा झापा, पश्चिममा कञ्चनपुर, मध्यमा पोखरा र राजधानी सहर काठमाडौं गरी ४ ठाउँबाट उद्घाटन गरिने छ । फागुन ७ देखि २१ गतेसम्म लगातार १५ दिन भव्य रुपमा देशव्यापी गरिने यी संघर्षका कार्यक्रमहरुमा व्यापक जनताको सहभागिता रहने उहाँले  दाबी गर्नु भयो । समापन फागुन २१ गते चितवनमा गरिने पनि उहाँले जनाउनु भयो ।

गजुरेलका अनुसार देशको इतिहासमा एक ऐतिहासिक दिनका रुपमा स्थापित चैत्र २४ गतेका दिनमा एक वृहत् जनसभा गरी केन्द्रीय रुपमा व्यापक जनपरिचालन गरिने छ । जसका लागि काठमाडौं सहरका देशभक्त, प्रगतिशील, अग्रगामी, राष्ट्रवादी तथा वामपन्थी शक्तिहरुलाई सहभागिताका लागि हार्दिक आमन्त्रण पनि गरिने छ । विज्ञप्तिमा जनाइएअनुसार उक्त मोर्चा निर्माण र सहकार्यका लागि देजमो अध्यक्षको अध्यक्षतामा तीन सदस्यीय वार्ता टोली पनि गठन गरिएको  जनाइएको छ ।

पत्रकारहरुसँगको कुराकानीका क्रममा गजुरेलले देश निकै भयाबह अवस्थामा पुगेको जनाउनु भएको छ । समाजवाद निर्माण, समृद्ध नेपाल, सुखी नेपाली जस्ता नारा दिएर वर्तमान वाम नामधारी ओली सरकारले सिंगो देशलाई भ्रष्टाचार, माफियातन्त्र, विचौलिया र तस्करीको आहालमा डुबाएको भन्दै अब त्यसले तेस्रो जनआन्दोलनको आवश्यकतालाई अपरिहार्यसमेत बनाएको कुरामा  उहाँले जोड दिनु भयो ।

उहाँका अनुसार ओली-दाहालको भण्डाफोर अहिले उनकै स्थायी समितिका सदस्यहरुले धुम्बाराहीमा गरिरहेका, नेपाली कांग्रेसको भण्डाफोर उसले आयोजना गरेको र हाल चलिरहेको महासमितिको वैठकमा भइरहेकाले अब त्यही भण्डाफोर र असक्षमताका आधारमा तेस्रो जनआन्दोलनको भूमिकासहित जनता उठ्नथालेका छन् । यसबाट जनताले थाहा पाइसकेका छन् कि कथित वाम आवरणमा देखिएको ओली सरकार आफैमा असक्षम र नाललायक त भइसकेको छ, यसको विकल्पमा कांग्रेस पनि अब जनताले नरुचाएको पार्टी बनिसकेको छ।

उहाँले पूर्व लडाकूहरु माइतीघर मण्डलामा अनसनमा बसेका र उनका नेतालाई गिरफ्तार गरेर गायब बनाइएको प्रसंग उल्लेख गर्दै अब लडाकूहरु पनि तेस्रो जनआन्दोलनभन्दा अन्यत्र विकल्प नदेख्ने दावी गर्नु भयो । इतिहासमा धोखाधडी र विश्वासघात फेरि आउन नदिन आफूहरुले पाठ सिकेर अघि बढेको कुरामाथि प्रकाश पार्दै उहाँले प्रचण्डहरुले गरेका गद्दारीका विरुद्ध विद्रोह गरेर आफूहरुले जनताको विश्वास र माया नगुमाएको दावी पनि गर्नु भयो ।

पत्रकारहरुसँग मोर्चाका अध्यक्ष गजुरेलले प्रश्नोत्तर मार्फत् अन्तरसम्बाद गर्नु अघि मोर्चाका केन्द्रीय सचिव परि थापाले प्रेस विज्ञप्ति वाचन गर्नु भएको थियो ।  विज्ञप्तिमा संघर्षहरुका साथै केन्द्रदेखि स्थानीय स्तरसम्म देशव्यापी संगठनको विस्तार गर्ने यसका भेला तथा सभा र सम्मेलनहरु गर्ने, अन्तरक्रियाहरु सम्पन्न गर्ने र संघर्षका लागि कार्यगत एकताको पहल गर्ने कुराहरुमा जोड दिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here