संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न आग्रह

3

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताको मूल मर्म र पीडितको भावनाअनुसार संक्रमणकालीन न्यायका बाँकी कामहरू अविलम्ब पूरा गर्न सबै पक्षलाई आग्रह गरेका छन्।

विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिनको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै संयोजक प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न सबै राजनीतिक दल, सरकार, सम्बन्धित निकाय र सरोकारवाला पक्षको ध्यानाकर्षण गराएका हुन्।

२०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी) का अध्यक्षका रूपमा आफूले हस्ताक्षर गरेको उक्त सम्झौता केवल दुई पक्षबीचको सहमति मात्र नभई नेपाली जनताको त्याग, बलिदान र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेज भएको प्रचण्डले उल्लेख गरेका छन्। यही सम्झौताको जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र संविधान निर्माणजस्ता युगान्तकारी उपलब्धि हासिल भएको उनको भनाइ छ।

यद्यपि, शान्ति सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्। सन्देशमा उनले भनेका छन्, “विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी कामहरू पूरा गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ।”

प्रचण्डले शान्ति सम्झौताको उद्देश्य द्वन्द्वको अन्त्य मात्र नभई पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु रहेको स्पष्ट पारेका छन्। शान्ति सम्झौता साझा राष्ट्रिय प्रतिबद्धता भएकाले यसको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको उनले बताएका छन्।

यस अवसरमा उनले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै शान्ति प्रक्रियामा योगदान पुर्‍याउने राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित तथा आम नेपाली जनताप्रति आभार प्रकट गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here