काठमाडौं / संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री उपेन्द्र यादवले वर्तमान संविधानले देश नचल्ने बताउँदै तत्काल संशोधन गर्नुपर्ने जनाए । उनले भने,‘यो संविधानले देश चल्दैन् । जति चाँडो संविधान संशोधन ग¥यो, त्यति चाँडो मुलुकले बाटो पाउँछ ।’
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले संविधान संशोधन गराउने समझदारीका आधारमा नै आफूहरु सरकारमा सहभागी भएको स्पष्ट पारे । उनले भने,‘संविधान संशोधन गराउन र मुलुकमा भएका सबैखाले विकृति तथा विसंगतिहरुको अन्त्य गर्ने समझदारीका आधारमा हामी सरकारमा सहभागी भएका हौं ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रीसमेत रहेका अध्यक्ष यादवले संविधान संशोधन नगरेसम्म मुलुकले बाटो नपाउने ठोकुवा गरे । उनले भने,‘संविधान संशोधन गराउनको लागि हाम्रो प्रयत्न भैरहेको छ । संविधान संशोधन नभएसम्म मुलुकले स्थिरता पनि पाउँदैन् । अहिले मुलुक अलमलिएको छ । मुलुकलाई यो अलमलपनाबाट बाहिर निकालेर अब अगाडि बढाउनुपर्छ। यसको लागि चाँडोभन्दा चाँडो संशोधन संशोधनको विद्येयक अगाडि बढाउनुपर्छ ।’
मन्त्री यादवले संसदको यही चालू हिउँदे अधिवेशनमै संविधान संशोधनको विद्येयक दर्ता हुने र पारित हुने पनि विश्वास दिलाए । उनले भने,‘यदि संशोधन प्रस्ताव दर्ता भएन भने जनतामा सरकारप्रति अविश्वास हुन्छ । जनताको विश्वास गुमेपछि राजनीति काम लाग्दैन् ।’


















