आठ पानी उद्योगमा सिलबन्दी

181

राजविराज / खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहाको आठ पानी उद्योगमा सिलबन्दी गरिएको छ ।

प्रशोधित पिउने पानी निर्देशिका, २०७४ बमोजिमको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका लहान नगरपालिकास्थित फ्रेड इन्टरनेशनल वाटर उद्योग, गोलबजार नगरपालिका–७ चोहर्वास्थित इन्दिरा जल, आनन्द जल, गोलबजार नगरपालिका–६ स्थित कमलामाई पानी उद्योग र सीता हेल्दी कुलिङ वाटर इण्डष्ट्रिजमा सिलबन्दी गरेको हो ।

यस्तै लहान नगरपालिका–१ स्थित सीता मिनरल वाटर फ्याक्ट्री, लहान नगरपालिका–७ स्थित ढलकोट माता मिनरल वाटर उद्योग र कर्जन्हा नगरपालिका–१० स्थित मिथिला पानी प्रशोधन उद्योग समेत गरी आठ पानी उद्योग सिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो । घरेलु उद्योग कार्यालय लहान र उपभोक्ता हित संरक्षण मञ्च सिरहाका प्रतिनिधि समेतको सहभागितामा भएको अनुगमनका क्रममा मापदण्ड विपरित ती उद्योग सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको प्रमुख सिंहले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here