परनिर्भर गलत अर्थनीतिको पासोमा परेको आयात–निर्यात परम्परा

411

-लोकनारायण सुबेदी

रातारात धनी बन्ने माफियागिरी, कमिशनखोरी र भ्रष्टाचार आजको नेपाली अर्थतन्त्रका असाध्यरोग जस्तै बनेका छन् । यसरी अर्थतन्त्रलाई उक्सिन नदिने, अत्यन्तै कमजोर पार्ने र गलत दिशा दिने गम्भीर प्रकृतिका यी हानिकारक तीन तत्वको सर्बत्र ब्यापक साँठगाँठ छ । यिनको सेटिङ्ग चल्ने गरेसम्म नेपाली अर्थतन्त्रमा कत्ति पनि सुधार आउन सक्तैन र यसले अग्र तथा उध्र्वगामी दिशा र गति लिन पनि पटक्कै सक्तैन । किनभने यस्तो स्थितिमा उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा हात हाल्ने र लगानी गर्ने अनुकूल बातावरण नै बन्न दिदैन । अनि जनता अर्थतन्त्रमा मनोयोगले सक्रिय हुन पाउँदैनन् र यसमा आफ्नो अपनत्व र ममत्व पनि जाग्ने स्थिति बन्दैन । यसरी जनता सचेत, संगठित र सक्रियरूपमा अर्थतन्त्रमा लाग्ने अनुकूल बातावरण नबनेसम्म हाम्रा योजना तथा आयोजनाहरू जतिसुकै आदर्श र कर्णप्रिय लाग्ने सुनिए पनि तिनबाट कुनै सकारात्मक प्रतिफल निस्कदैन । बिगतदेखिका मूलतः पाँच वर्षे र संक्रमणकालीन तीन वर्षे योजना तथा आयोजनाहरूको असफलताको कथा ब्यथाले यही कुरा दर्शाउदै आएको छ ।

हुन पनि नेपालको नियति के हुँदै आएको छ भने जो सत्तामा गयो देशको अर्थतन्त्र उसैको पकेटको बिर्ता जस्तो बन्दै आएको छ । मध्यकालीन बर्बर राणाकालमा यस्तो हुनु अस्वाभाबिक पनि थिएन । तर प्रजातन्त्रोत्तर कालमा पनि यही गलत परम्परा नै कायम रह्यो । सात सालको सीमित परिवर्तनको दशकमै नेपालमा आर्थिक बिकासको योजना शुरु भएको हो । तर ०१७ सालको गतिरोधपूर्ण सामन्ती शाही अधिनायकबादी पञ्चायती ब्यबस्थाले सत्ता हातमा लिएपछि पनि नेपालको अर्थतन्त्र ‘शाही पञ्चायत पकेटमनी’ अर्थतन्त्रको रूपमा परिचालित भयो । फलतः राजकीय उद्योग ब्यवसाय हुन् या निजी, तिनले दरबारमा निश्चित कमिशन बुझाएपछि जे गर्ने पनि छुट रहने ग¥यो । फलतः अर्थतन्त्रले सही दिशा र गति लिन सकेन । भ्रष्टाचार, कमिशनखोरी र कर छली त्यो बेलामा पनि मौलाएकै थियो ।

पञ्चायतको अन्त्य भएर बहुदलीय ब्यवस्था आएपछि पनि यो गलत परम्परा र प्रबृत्तिले बिल्कुलै छाडेन । अझ त्यसमा पञ्चायतले शुरु गरेको कथित आर्थिक समायोजनको बजारबादी निजीकरण र उदारीकरणको राष्ट्रिय हित बिपरीत र जनबिरोधी नीतिलाई नै अझ तीब्रता दिएर राज्यस्तरका सबै उद्योगधन्धालाई तिनका बिसंगतिहरूलाई हटाएर सही र जनदिशा दिनुको सट्टा कौडीको मोलमा हचुवाको भरमा स्वाहा पारियो । यसरी ‘शाही पञ्चायती पकेटमनी अर्थतन्त्र’ अब ‘दलीय पकटेमनी अर्थतन्त्र’मा परिणत भयो । मुठ्ठीभर ब्यक्तिहरू मोटाउने र देश तथा जनता दुब्लाउने क्रम जारी रह्यो र यो क्रम अझ तीब्रतर भयो । भ्रष्टाचार, कमिशनखोरी, कालोबजारीको राष्ट्र र जनताबिरोधी कालोधन्धा बिना बहुदलीय ब्यवस्था नै टिक्दैन भन्ने जस्तो स्थिति सृजना भयो । बहुदलीय ब्यवस्था ‘महल–पजेरोको बिलाशी ब्यवस्था’ हो भन्ने कुरा त्यसबेलाका अर्थ–राजनीतिक गतिबिधिले प्रष्ट पारेकै हो । शाही शासनभन्दा यो पनि केही फरक रहेनछ भन्ने कुराको पुष्टि गराउने काम भयो ।

पछिल्लो राजनीतिक परिबर्तनले राजतन्त्रको अन्त्य गरेर गणतन्त्रात्मक लोकतन्त्रको घोषणा गरे पनि जुन सामन्ती तथा साम्राज्यबादी साँठगाँठको राष्ट्र र जनताबिरोधी अर्थतन्त्र मुलुकमा कायम र चालु थियो सत्तामा रहे बसेका दलहरूले त्यसलाई फेर्नु पर्ने र जनहितकारी तुल्याएर राष्ट्रलाई बलियो बनाउनुपर्ने आवश्यकता देखेनन् । बरु त्यसैमा कायम रहेर देश र जनताको दोहन गर्न र कमाउन सकिन्छ भन्ने हेतुले उनीहरू त्यही औपनिवेशिक दोहनको गलत परम्पराको सम्बाहक बने । आज सर्बत्र जुन भ्रष्टाचार, कमिशनखोरी, तस्करी, कालोजारी र खासगरी सम्पत्तिको श्रोत नखुलेको कालो अर्थतन्त्रको बर्चश्व ब्याप्त छ त्यो मूलतः यसै गलत परम्पराको परिचायक हो । आजको हाम्रो राष्ट्रिय अर्थतन्त्र नराम्रोसँग थिल्थिलो र शिकार भएको कारण र कारक यिनै कुरा हुन् ।

यसै परिप्रेक्षमा हामीले हाम्रो अयात निर्यात ब्यापारको नाजुक अबस्थालाई हेर्नु र केलाउनुपर्ने हुन्छ । जस्तासुकै ब्यबस्था र सरकार फेरिए पनि तिनले दिने नारा र बास्तबिक ब्यवहारका बीच तालमेल छैन । भन्ने एउटा कुरा र गर्ने अर्कै कुरा भएपछि त्यो दुई नम्बरी अर्थतन्त्र (अण्डरवल्र्ड इकोनोमी) कै अभिन्न अंग भएर जान्छ । हाम्रो देशमा लामो समयदेखि यस्तै हुँदै आइरहेको छ । त्यसैले यहाँ स्रोत र साधनहरूको आम जनता र राष्ट्रको हितमा सही परिचालन.हुन सकेको या हुन पाएको छैन भन्ने स्पष्ट छ, जसले गर्दा आयात प्रतिस्थापन गर्ने, राष्ट्रिय आर्थिक क्षमता अभिबृद्धि गर्ने र चौतर्फी समृद्धि ल्याउने कुराहरू कुण्ठित भएका छन् । यो यथार्थ बस्तुगत सत्यलाई स्वीकारेर यसलाई बदल्ने दृढ राजनीतिक इच्छाशक्ति भएको नीति र नेतृत्व बिना फेरि पनि परिस्थितिमा कुनै तात्विक परिबर्तन नहुने कुरा एकदमै प्रष्ट छ । यो अहिलेसम्मको राष्ट्रिय अनुभवले सिद्ध गरेको कुरा हो ।

त्यसैले आज हाम्रो आयात र निर्यातबीचको खाडल डरलाग्दो रूपमा असन्तुलित बन्न पुगेको छ । हामी सयमा ९४ प्रतिशत आयात गर्दैछौ भने केवल ६ प्रतिशत मात्र निर्यात गर्दछौ भन्ने तथ्य जुन भर्खरै सार्बजनिक भएको छ, त्यसले यही कुरा मात्र दर्शाउँदछ ।

यो भर्खरै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्क हो । यसले निर्यातको तुलनामा आयातको मात्रा अत्याधिक बढी रहेको प्रष्ट देखाएको छ । त्यस केन्द्रका अनुसार कूल व्यापारमा निकासीको मात्रा पाँच दशमलव आठ प्रतिशत मात्र रहेको छ भने आयात ९४ दशमलव दुई प्रतिशत रहेको छ ।

यस चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा कूल वैदेशिक व्यापार अघिल्लो वर्षको त्यसै अवधिको तुलनामा ३२ दशमलव तीन प्रतिशतले वृद्धि भई रु ६ खर्ब ४४ अर्ब ५० करोड पुगेको उल्लेख छ । पाँच महिनाको अवधिमा कूल निर्यात १२ दशमलव ३ प्रतिशतले वृद्धि भई रु ३७ अर्ब ५० करोड हुँदा आयात भने ३३ दशमलव आठ प्रतिशतले बढेर रु ६ खर्ब ७ अर्ब पुगेको छ । आव २०७४/७५ को पाँच महिनाको अवधिमा निर्यात र आयात व्यापारको अनुपातमा समेत उच्च वृद्धि भएको छ ।

यसप्रकार निर्यातको तुलनामा आयातको मात्रा बढेका कारण मुलुकको व्यापारघाटासमेत बढ्दै गएको केन्द्रले जनाएको छ । देशको बिकासका लागि नभै नहुने अति आवश्यक वस्तु मानिएको पेट्रोलियम पदार्थ, विकास निर्माणका लागि चाहिने फलाम तथा स्टीलका उत्पादन, निर्माण उपकरण तथा अन्य यन्त्र र तिनका सामान मुलुकमा उत्पादन नहुने तर नभई नहुने यातायातका साधान, विद्युतजन्य उपकरण तथा हवाइजहाज तथा तिनका सामानको आयात बढेको जनाइएको छ ।

अझ उल्लेखनीय बिडम्बना त अर्को के छ भने नेपाल कृषि प्रधान देश भए पनि कृषिजन्य वस्तुको आयात यस अवधिमा करीब १४ प्रतिशतले वृद्धि भएको छ । यही अनुपात कायम रहेमा यसको बार्षिक वृद्धि कति पुग्ने हो अनुमान गर्न सकिन्छ । यस समीक्षा अवधिमा कृषिजन्य वस्तुको निर्यातमा भने २६ प्रतिशतको वृद्धि भई रु ११ अर्ब ४४ करोड पुगेको छ । यद्यपि कृषिलाई हरेक बजेट बक्तब्यमा उच्च प्राथमिकता दिएको ढोल पिट्ने गरिदै आएको छ । तर यथार्थ बास्तविकताले यसको पनि पोल खोलिदिएको छ ।

त्यसैगरी सुनचाँदीजस्ता वस्तुको आयातको हिस्सा पनि नेपालको कूल व्यापारको लगभग चार प्रतिशतको हाराहारीमा पुगेको छ । यता परम्परागत रूपमा निकासी भई रहेका गैरकृषिजन्य वस्तु ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, यार्न जस्ता वस्तुमा उल्लेख्य वृद्धि भएकोले मुलुकको समग्र निर्यातमा भने सुधार देखिएको छ ।

देशको निर्यातको आयतन पहिल्यैदेखि आयातको तुलनामा धेरै सानो भएको हुँदा यस वृद्धिले मुलुकको निर्यात आयात अनुपातलाई सुधार गर्न खासै योगदान दिन सकेको देखिदैन । नेपालको वैदेशिक व्यापारको देशगत संरचना गन्तव्यका दृष्टिले नेपालको निर्यात व्यापारमा भारतको हिस्सा सबैभन्दा बढी र उल्लेख्य छ ।

भारतबाहेक अन्य प्रमुख गन्तव्य रहेका मुलुकमा संयुक्त राज्य अमेरिकामा १२ प्रतिशत, जर्मनीमा चार प्रतिशत, बेलायतमा चार प्रतिशत र टर्कीमा तीन प्रतिशत छन् । भारततर्फको निकासीमा २० दशमलव ५ प्रतिशतले वृद्धि भई रु २१ अर्ब ९२ करोड पुगेको छ । भारतमा निकासी भएका प्रमुख वस्तुमा चिया, जुस, फलाम तथा फलामका उत्पादन, कपडा, जुटका उत्पादन र अलैंची छन् । यस्तै संयुक्त राज्य अमेरिकातर्फको निर्यातमा २६ दशमलव ६ प्रतिशतले वृद्धि भई रु ४ अर्ब ६८ करोड पुगेको छ । अमेरिका निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोशाक, फेल्ट, छुर्पी, टोपी र ग्लासवेयरलगायत छन् ।

यस प्रकार देशगत र वस्तुगत हाम्रो निर्यातको आयतन अत्यन्तै सानो र आयातको आयतन अत्यधिक ठूलो छ । यसले हाम्रो अर्थतन्त्र अत्यन्तै नाजुक र कमजोर रहेको प्रष्ट दर्शाउँदछ । अनि यस स्थितिको जिम्मेवार को भन्ने प्रश्न पनि सँगसँगै उठ्दछ । निश्चय पनि सत्ता सञ्चालक जिम्मेवार हुनुपर्ने हुन्छ ।- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here