हिन्दी भाषालाई विशेष महत्त्व, हिन्दी बोल्नेलाई मात्र जागिर

225

बिर्तामोड / भारतसँग सीमा जोडिएको झापाका विभिन्न अस्पतालमा जागिर खान हिन्दी, आसामी वा बंगाली भाषा जानेकै हुनुपर्ने बाध्यता रहेको छ नत्र, जागिर नपाइने स्थिति छ । कर्मचारी आवश्यकतासम्बन्धी विज्ञापन आह्वान गर्दा तीनवटै भाषा नजान्नेलाई आवेदन नदिन अस्पतालले आग्रह गरेको हुन्छ।

भारतीय बिरामीलाई पहिलो प्राथमिकतामा राखेर उपचार गरिन्छ। यी अस्पतालमा सरसफाइका कर्मचारीबाहेक सबैका लागि भाषा महत्त्वपूर्ण हुन्छ। अधिकांश भारतीय बिरामी आउने हुँदा बोलीचाली र व्यवहारमा सहज होस् भन्ने हेतुले हिन्दी भाषालाई विशेष महत्त्व दिइएको मेची आँखा अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियार जनाए। भने, ‘उताबाट आउनेले नेपाली बोल्न र बुझ्न जान्दैनन्। त्यही भएर काउन्टरदेखि सबै शाखामा हिन्दी, आसामी तथा बंगाली भाषा बोल्ने कर्मचारी राख्नुपर्ने बाध्यता छ।’

झापाका आँखा अस्पतालमा आउने बिरामीमध्ये ७५ प्रतिशतभन्दा बढी भारतीय नै हुन्छन्। अस्पतालमा चिकित्सकबाहेक विभिन्न शाखा र महाशाखामा सरदर २५ जना कर्मचारी छन्। ती सबैले हिन्दीसहित भारतका विभिन्न भाषा बोल्छन्। भारतमा भन्दा नेपालमा आँखाको उपचार सस्तो र गुणस्तरयुक्त हुने भएकाले नेपालको सीमावर्ती बजारका आँखा अस्पतालमा भारतीय नागरिकको चाप हुने गर्छ।

बिर्तामोड आँखा अस्पतालका ओप्थाल्मिक अफिसर विनोद दाहाल भन्छन्, ‘नेपालका आँखा अस्पतालमा नेपाली तथा भारतीयलाई लिने शुल्कमा विभेद छैन, उनीहरूकै भाषी कर्मचारी र चिकित्सक हुन्छन्, त्यसैले भारतीय बिरामीको चाप हुन्छ।’ झापा, मोरङ र सुनसरीलगायत तराईका जिल्लाका आँखा अस्पतालमा अधिकांश बिरामी उत्तरपूर्वी भारतबाट आउँछन्। बंगाली, हिन्दी र प्रान्तीय भाषा नै बोल्छन्। ‘उता बोलिने भाषा नबोली सुखै छैन्’, दाहालले भने।अन्नपूर्ण पोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here