काठमाडौं / सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीलाई रिहा गर्न अस्वीकार गरेको छ ।
संसद र सरकारले हतारमा शपथ खुवाएर विधिवत सांसदको दर्जा उपलब्ध गराएपछि पनि जेल यात्रा गरेका चौधरीलाई सर्वोच्च अदालतले जेलमुक्त गर्न अस्वीकार गरेको छ ।
टिकापुरमा एक निर्दोष बालक र सात प्रहरी सुरक्षाकर्मीहरुको हत्यामा चौधरीलाई कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलको आदेशले जिम्मेवार ठह्¥याउदै गरेको थुनामा बसी मुद्वाको पुर्पक्ष गर्ने भन्ने निर्णयलाई सर्वोच्चले निरन्तरता दिएको छ । सो फैसला आज सर्वोच्च अदालतले समेत सदर गरेपछि रेशम चौधरीलाई शपथ खुवाउने सरकार र संसदलाई ठूलो धक्का महशुस गराएको छ ।
स्मरणीय छ टीकापुर घटनामा एसससपी लक्ष्मण न्यौपानेसहित सातजना प्रहरी अधिकृतको ज्यान गएको थियो भने नेत्रबहादुर साउदका दुई वर्षीय छोरा टेकबहादुर साउद मारिएका थिए। टीकापुर काण्डमा संलग्न भएको अभियोगमा रेशम चौधरीसहित ५८ जनाविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा चलाएको थियो । कर्तव्य ज्यानका अभियुक्त रेशम चौधरीले कारागारमै बसेर प्रतिनिधिसभामा उमेदवारी दिएका थिए । निर्वाचन आयोगले फौजदारी अभियोगमा आरोपित व्यक्तिलाई उमेदवार बन्न रोक लगाएको थिएन , जसको परिणाम अहिले देखापरिरहेको छ ।




















