– निशा तामाङ
पति र पत्नीबीचको सम्बन्ध–विच्छेदको प्रभाव छोरा छोरीलाई कतिसम्म नकारात्मक परिणाम दिने खालको हुन्छ भन्ने बारेमा यसअघि पनि चर्चा गरिसकेको छु । कुनै कुनै सम्बन्ध–विच्छेदले समाजलाई नै प्रभावित तुल्याउने रहेछ छ भन्ने पनि अनुभव गरियो । पछिल्लो पटक समाजलाई नै अस्तव्यस्त बनाउनेगरी चर्चित पत्रकार रवि लामिछाने र ईशाबीचको सम्बन्ध–विच्छेदले समाजमा तरङ्ग पैदा गरेको छ । हुन त सम्बन्ध–विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको पाइन्छ । सम्बन्ध–विच्छेदको बारे लेख्दै गर्दा अहिले देशमा राम्रा र असल छवि बनाइसकेका टेलिभिजन प्रस्तोता रवि लामिछानेको सम्बन्ध–विच्छेदबारे भइरहेका विभिन्न टिकाटिप्प्णीहरू र चर्चाबारे नलेखिरहन सकिएन । तसर्थ रवि लामिछानेको सम्बन्ध–विच्छेद र सामाजिक सञ्जालमा फैलिएका उनीबारे केही चर्चाहरू सम्बन्धमा चर्चा गन मन लाग्यो ।
मानिस सबै स्वतन्त्रता चाहन्छन् , यसमा कुनै विमति कसैले पनि राख्न सक्दैन । हरेक मानिसका लागि स्वतन्त्रता प्रिय लाग्छ । मानिस भएपछि स्वतन्त्रपूर्वक बाच्ँन चाहन्छन् भन्ने मान्यता सर्वत्र स्वीकार्य छ । स्वतन्त्रपूर्वक बाचिँरहेका महिला तथा पुरुष जब वैवाहिक सम्बन्धमा बाधिँने क्रममा दम्पतिहरू सुरुमा खुशी नै हुन्छन् । तर सबै दम्पतिहरू खुशी हुन्छन् भन्न सकिन्न । उनीहरूको सम्बन्ध कटुतापूर्ण हुँदै सम्बन्ध–विच्छेदको अवस्थासम्म पुग्दछ । यही विषयसंगै मलाई व्यक्तिगत स्वतन्त्रता र खुशीको विषयलाई पनि यहाँ जोड्न सान्दर्भिक लागेको छ । नयाँ जीवनको शुरुवात गर्ने दम्पतिहरूमा एक आपसमा स्वतन्त्रताको इच्छा पनि हुनु स्वाभाविक हो । तर यही स्वतन्त्रता खोज्ने क्रममा जीवनमा जब उतारचढाव र सुःख दुःख झेल्न समस्या आइपर्न थाल्छ तब द्वन्द सुरु हुन्छ । एक अर्कामा नकारात्मकता देखिन थाल्दछ । हेर्ने दृष्टिकोणमा फरकपन आउने गर्दछ । एकले अर्काप्रति हस्तक्षेपकारी निगरानी गर्ने क्रम सुरु हुन्छ र कलहः बढ्छ । त्यही कलह घरभित्रको अशान्ति बन्न पुग्छ र बिस्फोटक हुन जान्छ र सम्बन्ध–विच्छेदको अवस्थासम्म पुग्छ । पति र पत्नीबीचमा साझा लक्ष्य बन्ने हो भने निश्चय पनि यो सम्बन्ध सबैभन्दा निकटस्थ सम्बन्ध हो । पति र पत्नीको सम्पत्ति साझा हुन्छ , यौन चाहना साझा हुन्छ , छोरा छोरीहरू साझा हुन्छन् । यही साझा लक्ष्यले नै पति पत्नीको सम्बन्धलाई सुमधुर बनाउदछ । तर जब साझा लक्ष्य विखण्डित हुन पुग्छ , तब मात्र द्वन्दले प्रवेश गर्छ ।
गत मंसिरमा रवि लामिछानेको अमेरिका बस्दै आएकी जेठी श्रीमती इशासँग कानुनी रूपमा डिभोर्स भएको खबर बाहिर आएसंगै रवि र इशाबीच २५ वर्षअघि बिहे भएको खुलासा भयो । रविको यो विवाह धेरैलाई जानकारी थिएन । विवाह भएकै जानकारी अरुलाई नभएपनि उनको सम्बन्ध–विच्छेद भएको चर्चा व्यापक बन्यो । रवि बारे सकारात्मक धारणा बनाएकाहरूले पनि अनेक टिका टिप्प्णी गर्न थालेका छन् । उनको विवाहदेखि सम्बन्ध–विच्छेदको विषयसम्मले उनलाई उनको पूर्व पत्नीलाई र अहिले उनको निकिता पौडेलसंगको अफेयर चलिरहेको भनेर हल्ला फैलिएको प्रसङ्गले विशेष चर्चा पाएको छ । यो चर्चाले एउटा वैवाहिक जीवनलाई सम्बन्ध–विच्छेदमा टुंग्याएर बसेकी निकितालाई कति धेरै मानसिक तनाव भइरहेको होला ? अनुमान गर्न सकिन्छ । उनको वैवाहिक सम्बन्धसंग रहेको यो पाटोसंगै रविको जेठी श्रीमतीबाट जन्मिएका दुईवटी छोरीलाई पनि कति मानसिक तनाव भोग्नु परेको होला ? सामाजिक संजालमा उनी र उनको पत्नीबारे विभन्न आलेचना गरिएको छ । यो आलोचनाले उनका छोरीहरूमा पर्ने असरबारे हामी केही नसोची अनेक आरोप प्रत्यारोप र आलोचना गरिरहेका छौं ।
सुखी जीवन या खुशी जीवनले मात्र सम्बन्ध बनाइराख्न सक्दैन । सम्बन्ध वास्तवमै खुशी र सुखी हुनलाई स्वतन्त्र हुनु आवश्यक हुन्छ भन्ने कुरा रवि र ईशाको सम्बन्ध–विच्छेदको प्रकरणले पुष्टि गरेको छ । स्वतन्त्रतासंगै आफूले पाएको सुखप्रति मानिस खुशी हुने गर्दछ । वैवाहिक जीवनबाट अनेक सुख पाए पनि मानिस व्यक्तिगत खुशी नभएमा उसको जीवनमा उतारचढाव आउने गर्दछ । विवाह गरेर जीवनमा जति नै खुशी भए पनि वास्तव मै मानिस स्वतन्त्रतापूर्वक बाच्न सकिरहेको छैन भने उ कहिले पनि खुशी हुन सक्दैन । रवि र ईशाको सुखी जीवनमा आएको दुर्घटनाले यही पुष्टि गर्दछ । सबैलाई लाग्दछ रवि र ईशाको साझा लक्ष्य छोरीहरूको भविष्य थियो । उनीहरूबीचमा आएको दुर्घटनाले उनीहरू दुवैजना छोरीहरूको भविष्यप्रति चिन्तित नभएको पुष्टि भएको छ ।
हाल भइरहेको सम्बन्ध–विच्छेदको मुख्य कारण दम्पतीहरूबीच हुने असमझदारी नै हो भन्न सकिन्छ । हतारमा प्रेमविवाह, अन्तरजातीय विवाह, परिवारको दवाव र विश्वासमा विवाहगर्ने तर विवाह पछि एक आपसमा असमझदारी बढ्दै जानु, जोडी मध्ये कुनैको विवाहपूर्व अर्के व्यक्तिसँग सम्बन्ध हुनु, श्रीमानबाट हिंसात्मक व्यवहारहरू हुनु, पटक पटक सम्बन्ध–विच्छेद गर्न दवाव पर्नु , सार्वजनिक रूपमा वदनाम गर्नु जस्ता कारण सम्बन्ध–विच्छेद बढ्दै गइरहेको पाइन्छ । नेपाल जस्तो देशमा सम्बन्ध–विच्छेद गर्नेको संख्या दिन प्रतिदिन बढ्दै जानु दूर्भाग्यपूर्ण हो । [email protected]


















