काठमाडौं । विवादित बन्दरगाह निर्माण कार्यको प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार शिलान्यास गरेका छन् । चोभारमा अब सुख्खा बन्दरगाह निर्माणको काम औपचारिक रुपमा शुरु भएको छ ।
शिलन्यासको लागि प्रधानमन्त्री ओली पुग्नुअघि प्रहरीले दर्जनौं स्थानीयलाई पक्राउ गरेको थियो । बिहान पक्राउ परेका उनीहरुलाई प्रहरीले साँझ छोडेका थिए ।
सरकारले बन्दरगाह बनाउन आफूहरुको २१५ रोपनी जग्गा हडपेको आरोप लगाउदै चोभारवासी बन्दरगाह निर्माणको विरोधमा छन् । त्यो जग्गा फिर्ता पाउनुुपर्ने माग गर्दै स्थानीय बासिन्दाले चोभारमा सुख्खा बन्दरगाह बन्ने निर्णयको विरोध गरेका थिए । बन्दरगाह बनाउनैपर्ने भए त्यसभन्दा पहिला आफुहरुको माग पुरा गर्नुपर्ने उनीहरुको भनाइ छ । यता सरकार जायज माग पुरा हुने भन्दै निर्माण थालेको छ ।
प्रधानमन्त्री ओलीले बिहिबार शिलन्यास गरेको बन्दरगाह क्षेत्रमा शुक्रबार पुग्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलिले सुरक्षा दिइरहेको थियो ।
चोभार संरक्षण समितिका अध्यक्ष पञ्चलाल महर्जनले चोभारका जनतालाई राणा शासन र पञ्चायती व्यवस्थाले भन्दा ठुलो त्रास देखाइएको जनाए । उनले भने, ‘यहाँका बासिन्दा प्रहरीले जुनसुकै बेला पक्राउ गर्छ भनेर थर्कमान छन् ।’
चोभार संरक्षण समिति अन्तर्गतको संघर्ष समितिका संयोजक ज्ञानेन्द्र महर्जनले प्रहरीले जुनसुकै बेला दुःख दिनसक्ने भएकाले बिहीबार राति घर छाडेर अन्यत्र बसेको जनाए । ‘बिहीबार बिहान ८ बजे चोकतिर जादै गर्दा प्रहरीले मलाई अपहरण शैलीमा उठायो’, उनले भने, ‘बेलुका रिहा भए पनि राती फेरि लैजाला भनेर अन्तै बास बसें ।’
बिहीबार बिहान आएका प्रहरीहरुले घरमा रहेकाहरुलाई ढोका लगाएर घरभित्रै बस्न आदेश दिएको र बाहिर हिँडिरहेकालाई समातेर भ्यानमा कोचेको स्थानीयबासीले जनाए ।


















