बागलुङ : नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले मसाललाई फुटाउन भारतीय खुफिया संस्था ‘र’ लागि परेको दावी गरे।
राष्ट्रिय जनमोर्चाले बागलुङमा आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सिंहले मसालले निरन्तर भारतीय विस्तारवादी नीतिको विरोध गरेका कारण मसाललाई टुक्राउने षड्यन्त्र भइरहेको जनाए । पार्टी सरकारमा रहँदा र नरहँदा भारतीय विस्तारवादी नीतिको विरुद्धमा सम्झौताहिन संघर्ष गरेकाले उनीहरुले मसाल फुटाएर कमजोर बनाउन लागि परेको उनले जनाए ।
उनले नेपालका सबै दलमा भारतीय खुफिया संस्था छिरेको समेत आरोप लगाए। ‘नेपालका प्राय दलमा ‘र’ छिरेको छ, सिंहले भने,’त्यसकारण दलले गर्ने कार्यक्रम पनि ‘र’ कै निर्देशन अनुसार हुन्छ, त्यसैको प्रभाव हो भारतीय हेपाहा प्रवृत्तिको नेपालका ठूला दलले विरोध गर्न नसक्नु।’
उनले ‘र’ कै कारण नेकपा मसालको आठौँ महाधिवेशन समेत प्रभावित हुन थालेको भन्दै आफ्ना नेता कार्यकतालाई भारतीय एजेन्टबाट जोगिन आग्रह गरे।


















