काठमाडौं / सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र, नागरिकता लगायतमा रहेको नाम हटाई नक्कली नाम राखी विभिन्न प्रयोजनका कागजात बनाउने कार्यमा संलग्न काठमाडौं तारकेश्वर बस्ने काभ्रे घर भएका विपुन श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं तारकेश्वर-११ मनमैजुमा रहेको उग्रचण्डी साईवरमा नक्कली कागजात बनाउने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त साईबर जाँच गर्दा नक्कली कागजात बनाएको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । साथै साईबरबाट नक्कली सर्टिफिकेट लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने ल्यापटप, फोटोकपी प्रिन्टर, पेनड्राईभ र तयारी अवस्थामा रहेको नक्कली कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


















