काठमाडौं / दशै दिशाबाट आएका चराको माझमा उभिएर फाप्रे चरोले भन्यो, ‘मेरा प्याराप्यारा चराहरू, म अघोर चिन्तामा डुबेको छु, जता पायो उतै झैझगडा बाहेक केही देखिँदैन, एक टुक्रा जमीनका लागि काटाकाट छ, दुई चार दाना अन्नका लागि भीषण युद्ध गर्छन्, यस्तो चालाले कसरी चल्छ ?’
हरेक कुरा आफैँभित्र छ, देख्न सक्नुपर्छ भन्ने सामाजिक सन्देश दिन सफल नाटक ‘चराको सम्मेलन’ पर्सियाका सुफी कवि फरिद उद्दीन अत्तरले लेखेको नाटकको नेपाली अनुवाद हो । एक्टर्स स्टुडियोको प्रस्तुतिमा शनिबारदेखि राजधानीको कौसी थिएटरमा उक्त नाटक मञ्चन शुरु गरिएको छ ।
पर्सियाली नाटकलाई पिटर ब्रुक र ज्याक्लोद कायरले नाट्य रूपान्तरण गरेका हुन् । नेपाली अनुवाद भने पुष्पराज आचार्यको हो । उक्त नाटक नेपालीमा निर्देशन गर्न पाएकोमा खुशी भएको निर्देशक दिया मास्केको भनाइ छ । बीसौं भारतीय नाट्य महोत्सवमा सहभागी हुन जाने क्रममा त्यसको तयारी स्वरूप यहाँ पाँच दिनका लागि नाटक मञ्चन गरिएको आयोजकले जनाएको छ । गएको असोजमा शिल्पी थिएटरमा पनि यो नाटक मञ्चन भएको थियो ।
नाटकमा केही मिथक र रहस्य अनौठा लाग्ने खालका छन् । मान्छेको यात्रा भनेर देखाउन नमिल्ने भएकाले यहाँ चरालाई प्रयोग गरिएको छ । नाटक हेर्ने दर्शकलाई एक घण्टा ३० मिनेट आलस्य लाग्दैन ।
कहिले खित्का छाडेरै हाँस्न मन लाग्छ भने कहिले शान्त । नाटकमा चरारूपी मानिस पात्रले जीवन्त प्रस्तुति दिएका छन् । चराकै हाउभाउ र चराका आवाज मिसाएर कलाकारले कला प्रस्तुत गरेका छन् ।


















