काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको जनाउनुभएको छ ।
तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले विविध सांस्कृतिक परम्परा र संस्कृतिले नेपाललाई विश्वमा अलग पहिचान दिएको जनाउनुभएको छ ।
प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, `नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश हो । यहाँ हरेक जातजातिका आआफ्नै परम्परा, चाडपर्व, वेशभूषा रहेका छन् । मुलुकमा बसोबास गर्ने सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सद्भाव र सम्मान छ ।´
वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य राखेर अघि बढेको स्पष्ट पार्दै उहाँले यस यात्रामा देशका सबै जातजाति, धर्म र सम्प्रदायको योगदान अपेक्षित रहेको जनाउनुभएको छ । प्रधानमन्त्रीले भन्नुभएको छ, `हाम्रा सांस्कृतिक पर्व, वेशभूषामार्फत पनि समृद्धिको अभियानमा टेवा पु¥याउन सकिन्छ । यस्ता सम्पदालाई पर्यटक आकर्षण गर्ने माध्यमका रुपमा समेत विकास गर्न सकियो भने हाम्रो संस्कृति पनि जीवित रहन्छ । यस्ता सम्पदाको अवलोकनका लागि स्थानीयस्तरमा पुग्ने पर्यटकमार्फत आयआर्जन गर्न पनि सकिन्छ ।´
प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।


















