-चन्द्रप्रकाश बानियाँ
पञ्चायतकालका तीनदशक एकोहोरो जिन्दावादको शंखनाद सुनेरै नेपालहरूको समय बित्यो । वामपन्थीहरू कोठाभित्र सीमित रहे । कांग्रेसहरूको तुजुक प्रवासमै पोखियो । ३६ सालमा काठमाडौंमा अलिकता ‘मुर्दावाद’को कर्णमधुर नाद सुनियो । तर त्यो पनि जनमत संग्रहमा पराजित भएपछि अर्को एकदशक थला प¥यो । ४६ सालमा चाक्सीवारीमा फलेको विरोध अभियानको वीउ भने गतिलै परेछ । त्यसयता विरोध जुलुस, ¥याली र मुर्दावादका तुमुल नादहरूले सहरबजार गुञ्जिएकै छन् । सडकहरू रङ्गिएकै छन् । रङ्गविरङ्गका प्रदर्शनहरूले निरन्तरता पाएकै छ भन्दा फरक पर्दैन । व्यवस्था परिवर्तनको निमित्त होस् वा संविधान बनाउँने सन्दर्भमा होस् नेपालका गाउँ सहरहरू राम्रैसंग रन्कने गरेका छन् । पृथकतावादी सिके राउतहरू मात्र होइन, निख्खर लोकतन्त्रवादी कांग्रेसीहरू हुन् वा विशुद्ध हिन्दूवादीहरू हुन् सबै सडकमा हैसियत अनुसार पोखिएकै छन् । उसो त भौतिक विकासको चरमचुलीमा पुगेको संयुक्त राज्य अमेरिका, फ्रान्स वा युरोपको सबभन्दा मजबुत अर्थतन्त्र भएको वेल्जियममा पनि जनताको असन्तोष बेलामौका प्रदर्शित हुँदै रहन्छ र सडकमा विरोध जुलुसहरू निस्कदैं रहन्छन् भने हाम्रोजस्तो विकासको नाममा भर्खरै वामेसर्दै गरेको मुुलुकमा जनताका मनारीहरू पुग्ने कुरै भएन । इच्छा अपेक्षा अतृप्त रहेपछि समाजमा असन्तोष बढ्ने नै भो । असन्तोष चुलिँदै गयो भने विद्रोहमा रूपान्तरित हुन बेर लाग्दैन । तर विडम्बना कस्तो रहँदो रहेछ भने सडकमा पोखिने सबै असन्तोष, नाराजुलुस वा विरोध प्रदर्शनहरू जनताको सुखदुसँग सम्वन्धित हुदैनरहेछन् । जनता देखाएर चबाउने दाँत राजनैतिक समूहहरूको स्वार्थरक्षा मात्रै हुँदोरहेछ ।
वैरगनीयाबाट प्रारम्भ भएको होस् वा चाक्सीबारीबाट अथवा दिल्लीको १२ बुँदेको सहमा किन नहोस् कांग्रेसको नेतृत्वमा सुरुभएका हरेक आन्दोलनहरूमा जनताका धेरथोर आकांक्षाहरू अवश्य जोडिएका थिए । अन्याय, अत्याचार, शोषण, दमन, गरीबी र अविकासबाट पिल्सिएका नेपालीहरूलाई कथित प्रजातान्त्रिक पद्धति अवलम्बन गरेका मुुलुकहरूको भौतिक विकासले लोभ्याउनु स्वाभाविक थियो । पञ्चायतइतर राजनीतिक पक्षले पछौटेपनको एकमात्र कारण एकतन्त्रीय निरंकुश सत्ता हो भनेर नेपाली जनतालाई घोकाउँदै आएको थियो । कांग्रेस होस् वा तत्कालीन एमाले अथवा बन्दुक बोकेको माओवादी नै किन नहोस्, नेपालीहरू आँखा चिम्लेर पछि लाग्नुको कारण पछौटेपनबाट मुक्तिको अभिलाषा थियो । राजनीतिक दलहरूका झुठा दावा र प्रंतिबद्धतासँग नेपालीहरूभन्दा बेसी सायद संसारका अरु कुनै मुलुकका नागरिकहरू झुक्किएको उदाहरण इतिहासमा छैन होला । नेपालीहरूको कमसेकम तीनपुस्ता व्यवस्था परिविर्तनको आन्दोलनमा खर्च भयो । कैयौं मुुलुकहरूले एकै पुस्तामा अकल्पनीय भौतिक उन्तति र आर्थिक समृद्धि हासिल गरेको उदाहरणले नेपालीहरूलाई अधैर्य बनाउनु स्वभाविक थियो । त्यही व्यग्रताले नेपालीहरूलाई एक पटक होइन, अनेकपटक सडकमा उतारेको हो ।
यतिखेर नेपालको सत्ता निकै बलियो सरकारको हातमा छ । राजनीतिक अस्थिरताको कारणले देशको भौतिक उन्नतिको अभियानले अपेक्षित गति लिन नसकेको हो भन्ने ठम्याई नेपाली समाजमा विकसित भएको थियो । त्यसमा आंशिक सत्यता थिएन भन्न मिल्दैन । तर विकास निर्माण, उन्नति समृद्धि बलियो सरकार बन्नासाथ दन्त्यकथाको आँगनमा आकाशबाट फुरौला बर्सेझैं बर्सने कुरा थिएन । हरेक सानो ठूलो निर्माणले निश्चित समय लिन्छ । भोकले दपेटेको छ भन्दैमा मिनेटमै रोटी सेकिदैन । अवश्य, वर्तमान सरकार हातखुट्टा बाँधेर बसेको छैन होला र केवल आफू र आफन्तको घरभण्डार भर्ने कार्यमा मात्र जुटेको छैन होला । सरकार र पार्टीका आश्वासनहरूमा व्यक्त भएका चम्कात्कारिक परिर्तिनहरू तत्क्षण दृष्टिगोचर भैदिए हुन्थ्यो भन्ने कामना जनताले राख्नु एउटा कुरा हो, तर तीन तीन पुस्तादेखिको भोको नेपाली पेट छुमन्तर गरेर भरिदिने हैसियत सरकारसँग अवश्य छैन । त्यसैले सरकारले देखाउने सपना र फिल्डमा देखिने वास्तविकताबीच तालमेल नमिलेको होला भन्न सकिन्छ ।
संसदीय प्रणालीमा बहुमतवालाहरूले सरकार बनाउँछन् । अल्पमतहरूले सचेतकको भूमिका निर्वाह गर्छन्, खवरदारी गर्छन् । त्यसैले प्रतिपक्षलाई ‘प्रतीक्षारत सरकार’ भन्ने पनि गरिन्छ । कुनै खण्डखातिरबस सत्तारुढ दलले सदनको बहुमत गुमायो भने सरकार बनाउनका लागि सधै धोतीपाटा कसेर तम्तयार अवस्थामा प्रतिपक्षले ढुकीबसेको हुन्छ । २०४६ को राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसलाई पूरै एक कार्यकाल प्रतिपक्षको वेञ्चमा थन्किनुपरेको इतिहास छैन । प्रतीक्षा अर्थात कुर्नु निकै अत्यासलाग्दो कार्य हो । प्रतीक्षाका पल पलहरू निकै गरुङ्गा लाग्छन् । एक एक पल घन्टा बरारबर लामा र अत्यासलाग्दा बन्दछन् । अवश्य, नेपाली कांग्रेसका लागि पूरै पाँच वर्षसम्म प्रतिपक्षको वेञ्चमा थन्कनुपर्नें सम्भावनाले अत्याएको होला । आजैदेखि संसदका कुर्चीहरू बिझाउन थालेको होलान् । नरम कुर्चीहरूले बिभ्mने वनैया काँडालेझैं घोच्न थालिसकेका होलान् । सत्ताको ब्रह्मलुट टुलुटुलु हेरिबस्नुपर्ने नियति ठूलै कहर बनेको होला । तर उसको मर्काको औषधी कुनै डाक्टरसँग छैन । उसै पनि आफ्नो हातमा सत्ताको बागडोर हुँदा नेपालीहरूको मन पग्लनेगरी रिझाउन नसकेकै हो । कम्युनिष्ट सरकारको अकर्मण्यताबाट बिच्किए पनि लामो कांग्रेसी कुशासनको स्मरण नेपालीहरको मनमष्तिष्कमा ताजै छ । त्यसैले तत्काल नेपाली मतदाताहरू काँग्रेसप्रति सहानुभूतिशील बनिहाल्लान् भनेर पत्याउन सकिदैन ।
कांग्रेस यतिखेर आन्दोलनको मुडमा देखिएको छ । जनता तत्काल कांग्रेसको साथलाग्ने लक्षण भने छैन । उसै पनि जनताको मनछुने विषय समातेर आन्दोलनमा उत्रने सीप कांग्रेससँग छैन । उसको विरासत नै त्यस्तो होइन । त्यस्तो सीपको विकास भैदिएका भए राजा महेन्द्रसँग विपीले त्यति ठूलो पराजय भोग्नुपर्ने नै थिएन । ४० को दशक प्रारम्भ हुँदानहुँदै तत्कालीन मालेमा जवानीको रङ्ग नचढिदिएका भए कांग्रेस एक्लैले पञ्चायतविरोधी आन्दोलन उठाउन किमार्थ सक्तैनथ्यो । कांग्रेसले जन्मदेखि नै जनतासँग जोडिने अभ्यास गर्दै गरेन । जनताको मनोविज्ञान बुभ्mने तरिका जान्दैजानेन । जनताको साथ र समर्थनविना कुनै पनि राजनीतिक आन्लोलन सफल हुन सक्दैन । विपी, जीपी, एसपी हुँदै देउवासम्म आइपुग्दा पनि कांग्रेस उही पुरानै ढर्राढाँचाबाट बाहिर निस्कन सकेन । बाँके वा दमौलीमा खोलिने अस्पतालको इसुले दार्चुलादेखि ताप्लेजुङ् सम्मका जनतालाई एकनाससँग छुन सक्तैन भन्ने कुरा कांग्रेसले बुझ्दैन । वाइडबडी जहाज खरिद प्रकरणले राजधानीको बौद्धिक जमातबाहिर कुनै प्रभाव पार्दैन भन्ने कुरा जान्दैन । अमेरिका रिसायो भने नेपाललाई तत्काल के नोक्सान हुनसक्छ भन्ने कुरा पनि आम जनताको पंक्तिमा जानकारी रहँदैन भन्ने कुरा पनि बुझ्दैन । आयोगका अध्यक्षहरूको नियुक्ति खारेजी को को मिलेर गर्छन् भन्ने कुरासँग जनताको सरोकार रहदैन भन्ने सामान्यज्ञान कांग्रेसले राख्दैन । त्यसैले जनताले निल्न, पचाउन वा बुझ्न नसक्ने विषयहरू उठाएर जनता जगाउने अभियानमा जुटेपछि जनता कसरी कांग्रेसको आन्दोलनसँग जोडिन्छन् र ? जनता जनार्दन किनाराका तमासे मात्र बन्छन् । समर्थन गर्नुपर्ने कारण नै देख्दैनन् । सहभागि बन्ने रुचि जाग्दैन । त्यसैले होला यसपटकको कांग्रेसको देशव्यापी विरोध प्रदर्शन निकै फिका देखियो । विरोध प्रदर्शन होइन, काँग्रेसको हैसियतको प्रदर्शन मात्रै सावित भयो । १२ बुँदे दिल्ली सम्झौतापूर्वको सातदलको रत्नपार्क केन्द्रित आन्दोलनको दुरुस्त झल्को मात्र दिन सफल भयो भन्नु आग्रह मानिदने छैन ।


















