भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस मनाइने फेब्रुअरी महिना प्रेमी महिना हो । यो महिना प्रेम गर्नेहरूका लागि कुम्भ महिना हो । आफूले मनपराएको वा चाहेको मानिसलाई आफ्नो भावना अभिव्यक्ति गर्ने दिन हो भ्यालेन्टाइन डे ।
भ्यालेन्टाइन डे को इतिहास
यसको इतिहास खोतल्दा तेस्रो शताब्दीमा पुग्नुपर्छ । एजेन्सीको सहयोगमा भ्यालेन्टाइन्स डेबारे तयार पारिएको सामग्री सन्त भ्यालेन्टाइनको सम्झनामा यो दिवस मनाइन्छ । यस दिन कुनै केटा वा केटीले प्रपोज गर्दा इन्कार गर्न सक्दैनन् भन्ने मान्यता पनि छ । भ्यालेन्टाइन्स डेमा प्रेमी–प्रेमिका, पति–पत्नीले एक–अर्कालाई गिफ्ट दिएर प्रेम साट्ने गर्छन् ।
इ।सं। २६९ को १४ फेब्रुअरीमा सन्त भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो । भ्यालेन्टाइन रोमका पादरी थिए । उनी पादरी मात्र थिएनन्, प्रेमका पुजारी पनि थिए । त्यसैले उनलाई फाँसी दिइएको दिनलाई प्रेम दिवसका रूपमा विश्वभर मनाइन्छ ।
रोमका शासक क्लाडियसले उनलाई फाँसी दिएका थिए । क्लाडियस तेस्रो शताब्दीमा रोमका सम्राट थिए । उनले भ्यालेन्टाइनलाई किन दिए त फाँसी रु सम्राट क्लाडियसले त्यतिवेला पूरै राज्यमा अचम्मको आदेश जारी गरे । उनको आदेशमा भनिएको थियो कि अधिकारी या सैनिकले विवाह गर्न नपाउने ।
उनले विवाहलाई गैरकानुनी घोषणा गरिदिए । किनभने, अविवाहित पुरुषसँग अब्बल क्षमता हुन्छ भन्ने क्लाडियसको मान्यता थियो । विवाहपछि पुरुषको बुद्धि र शक्तिमा ह्रास आउने उनको अड्कल थियो । तर, यस्तो हुकुमलाई सन्त भ्यालेन्टाइनले अन्यायपूर्ण भएको बताए र विरोधमा उत्रिए । भ्यालेन्टाइन विरोधमा मात्र उत्रिएनन्, उनले कैयौँ अधिकारी, सैनिक र युवा जोडीको विवाह नै गराइदिए । उनले मानिसलाई विवाह गर्न प्रोत्साहित गर्थे । यस्तो गतिविधिलाई उनले निरन्तरता दिए ।
जब राजा क्लाडियसले यस्तो कुरा थाहा पाए त्यसपछि उनी निकै क्रोधित बने । र, भ्यालेन्टाइनलाई फाँसी दिने निर्णय गरे । १४ फेब्रुअरीको दिन उनलाई फाँसी दिइयो र भिया फ्लामिनियामा दहन गरियो । यही दिनलाई प्रेम दिवसका रूपमा मनाउन सुरु गरिएको हो ।
उनीसँग जोडिएको अर्को पनि कथा छ । भ्यालेन्टाइनलाई जेलमा कोचिएको थियो र उनले एक जेलरकी छोरीलाई मन पराएका थिए । भ्यालेन्टाइनले जसलाई मन पराएका थिए, उनी दृष्टिविहीन थिइन् । उनीहरू प्रेममा परे । भ्यालेन्टाइनले आफैँ भेटेर जेलरकी छोरीलाई पहिलोपटक ग्रिटिङ दिएका थिए । एक दिन उनी भ्यालेन्टाइनलाई भेट्न जेलमा गएकी थिइन् । तर, त्यहाँ उनले भ्यालेन्टाइन होइन, उनले लेखेको पत्र मात्र भेटिन् । मर्नुभन्दा पहिले भ्यालेन्टाइनले आफ्नो हस्ताक्षरसहित लेखेका थिए, ‘फर योर भ्यालेन्टाइन ।’ जुन उद्धरण आजको दिनमा पनि प्रयोग गरिन्छ । यो पनि विश्वास छ कि जब भ्यालेन्टाइनको मृत्यु भयो, अकस्मात् उनकी प्रेमिकाले आँखा देख्न थालेकी थिइन् ।
प्रेम जोडीका लागि फेब्रुअरी विशेष माया प्रेमको महिना हो । यस महिनाको एक हप्तासम्म अर्थात फेब्रुअरी ७ देखि १४ तारिखसम्म ‘भ्यालेन्टाइन्स विक’का रूपमा मनाउने गरिन्छ ।
भ्यालेन्टाइन्स विक
भ्यालेन्टाइन्स विकको सुरुवात आज अर्थात फेब्रुअरी ७ ‘रोज डे’बाट सुरु हुन्छ । फरक–फरक रङका गुलाबको अर्थ पनि फरक–फरक छन् । रातो गुलाबलाई प्रेमको प्रतीक मानिन्छ भने पहेँलोलाई साथी, पिंक वा पिचलाई प्रशंसा र सेतो गुलाबलाई सम्बन्धको प्रतीक मानिन्छ । आफूले माया गर्ने मायालुको लागि खास गरेर रातो गुुलाब दिने चलन छ ।
फेब्रुअरी ८ मा ‘प्रपोज डे’ । यो प्रेम गर्नेहरूका लागि अवसरको दिन पनि हो । यस दिन आफ्नो पार्टनरलाई गिफ्ट र फूल दिएर प्रपोज गर्ने चलन छ । फेब्रुअरी ९ मा ‘चकलेट डे’ का रूपमा सेलेब्रेसन गरिन्छ । यस दिन आफ्नो प्रियजनलाई चकलेट दिएर प्रेम आदान–प्रदान गरिन्छ । चकलेटले सम्बन्धमा मिठास थप्ने विश्वास छ ।
फेब्रुअरी १० मा आउँछ, ‘तेड्डी डे’ । जुन दिन आफ्नो प्रियजनलाई डल दिन सक्नुहुन्छ । यसको सांकेतिक अर्थ हुलेवाला बच्चामा लुकेको आनन्द हो ।
त्यसपछि आउने अर्को फेब्रुअरी ११ मा ‘प्रमिस डे’ । प्रेम जोडीले एक–अर्काप्रति गर्ने प्रमिसले सम्बन्धमा विश्वासको वातावरण सिर्जना गर्छ । र, सम्बन्धलाई झन् कसिलो बनाउन भूमिका खेल्छ ।
त्यसपछिको फेब्रुअरी १२ लाई ‘हग डे’का रूपमा मनाइन्छ । हग गर्दा चिन्ता र तनाव पनि दूर हुने विश्वास छ । यस दिन एक–अर्कामा अंकमाल गरेरमाया साटासाट ष्र्ने गरिन्छ । न्यानो स्पर्शसहितको अंकमालले प्रेम जोडीलाई सुरक्षित महशुस गराउँछ ।
भ्यालेन्टाइन्स डेको अघिल्लो दिनलाई अर्थात फेब्रुअरी १३ ‘किस डे’ का रूपमा मनाइन्छ । यस दिन आफूले माया गर्ने मान्छेलाई माया स्वरुप किस गर्ने वा चुम्बन गरेर माया प्रदर्शन गर्ने चलन छ ।
अनि फेब्रुअरी १४ ‘भ्यालेन्टाइन्स डे’अर्थात् प्रेम दिवसका रूपमा मनाइन्छ । प्रेम स्वरुप आफूले माया गरेको मान्छेलाई यो दिन मायाको भाव प्रकट गर्दै प्रेमभाव दर्शाइन्छ ।


















