भ्रष्टाचार ढाकछोप गर्ने संस्कार बढ्दै गएकोमा प्रधानमन्त्री ओलीद्वारा चिन्ता व्यक्त

85

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारजन्य गतिविधि नियन्त्रण गर्न सरकार दृढ रहेको जनाउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने सङ्कल्पका साथ अघि बढेको जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘भ्रष्टाचार नियन्त्रण गर्न सरकार, आयोग र अन्य निकाय दृढ छन्, अब भ्रष्टाचारी लुक्न र भ्रष्टाचार लुकाउन सम्भव छैन, भ्रष्टलाई घरमा श्रीमती, श्रीमान् र छोरा छोरीले घृणा गर्दछन् । भ्रष्टाचार सबैको सत्रु हो । भ्रष्टाचारलाई निमिट्यान्न पार्नु अहिलेको आवश्यकता हो ।’

सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण र निर्मूल हुनु आवश्यक रहेको जनाउँँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार स्वयं भ्रष्टाचारको सत्रु भएको टिप्पणी गर्नुभयो । भ्रष्टाचार ढाकछोप गर्ने संस्कार बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीले भ्रष्टाचारका कारण आदर्श र सदाचारयुक्त समाज केही प्रदूषित भए पनि स्वच्छता कायम गर्दै अघि बढ्नुपर्ने जनाउनुभयो ।

भ्रष्टाचार नियन्त्रण हुन नसके लोकतन्त्र नै सङ्कटमा पर्नेतर्फ सरोकारवाला सबैलाई सचेत गराउँदै उहाँले जनताको प्रणालीलाई प्रभावकारी बनाउन र अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न भ्रष्टाचार अन्त्य हुनुपर्ने जनाउनुभयो । उहाँले भन्नुभयो, ‘आयोगको सफलता सरकार र सिङ्गो नेपालको विकास प्रक्रिया तथा लोकतन्त्रको सफलता हो ।’

अब नेपाल गरीब भइरहन नसक्ने दोहो¥याउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मरुभूमिका देश पनि धनी भइसके, जनसङ्ख्या बुढाबूढी भएको मुलुक पनि धनी नै छन्, हाम्रो ६० प्रतिशत जनसङ्ख्या क्रियाशील छ तर पनि गरीब छौँ, प्राकृतिकरुपमा निकै सम्पन्न भए पनि गरीब छौं किन ? यो विषय अब नेपाललाई स्वीकार्य छैन् ।’

निश्चित समयसीमा तोकरै नेपाललाई विकासको चरणमा लैजाने जनाउँदै प्रधानमन्त्री ओलीले पाँच वा दश वर्षभन्दा पछि नेपाल गरीब रहँदैन भन्नुभयो । उहाँले भन्नुभयो, ‘त्यसपछि नेपाल गरीब छ, नेपाल पछाडि छ, नेपाल कमजोर छ भन्ने स्वीकार्य हुँदैन, नेपाल आकारमा मझौला भए पनि हैसियतमा निकै अगाडि छ ।’

नेपाल विद्वान र तिनका सन्तान भएको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उर्बरतायुक्त, ऋषिमुनीदेखिका ज्ञानगुनले भरिपूर्ण सदाचारयुक्त देश भएको सन्दर्भमा अन्तर्राष्ट्रिय मञ्चमा नेपाल ठाडो शिरका साथ उभिने जनाउनुभयो । उहाँले भन्नुभयो, ‘अब हामीले हात फैलाउने होइन, सहयोग गर्ने बिन्दुमा पुग्नुपर्छ । दान लिने होइन दान दिने ठाउँमा पुग्नुपर्छ । यसका लागि भ्रष्टाचार अन्त्य हुनु जरुरी छ ।’

प्रधानमन्त्रीले सरकारका सबै निकायलाई भ्रष्टाचारबाट मुक्त रहन र मुक्त राख्नका लागि सम्बन्धित निकायकालाई सहयोग गर्न तथा आयोगलाई भ्रष्टाचार नियन्त्रण र निवारणमा हातेमालो गर्न आह्वान गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here