रोहित चन्द पुनः इन्डोनेसियन क्लबमै जाने

466

काठमाडौं/नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियन क्लब पर्सिजा जकार्तामा पुनः अनुबन्धित हुने भएको छ । गएको सिजन पर्सिजा जकार्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुयवल प्लेयर तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुन सफल भएको थियो । जकार्ताको मुख्य सदस्यको रुपमा रहँदै आएका रोहितले आफ्नो खेलको प्रभाव देखाएकोल क्लबले फेरि बोलाएको थियो । ‘हामीले रोहितसँगको सम्झौताबारे मौखिक सहमति गरिसकेका छौं । अब भोलि या पर्सी उनी आइपुग्नेवित्तिकै लिखित सहमति हुने छ’ पर्सिजाका सिइओ फेर्री पोउलुसले इन्डोनेसियन सञ्चारमाध्यमसँग भनेका छन् ।

अन्तर्राष्ट्रिय क्लबमा आबद्ध भएर दक्षिण एसियाली राष्ट्र बाहिर टिम च्याम्पियन बनाउने र विधागत अवार्ड जित्ने रोहित पहिलो नेपाली फुटबलरसमेत हुन् । पर्सिजामा दर्शकहरुबाट विशेष प्रभावित रोहितले त्यहाँ आफ्नो क्षमता देखाइसकेकाले अब अन्य देशका क्लबमा आबद्ध हुने चाहना रहेको बताएका थिए । अस्ट्रेलिया, मलेसिया र थाइल्याण्डका केही क्लबमा कुराकानी गरिरहे पनि उनी पुनः जकार्ता नै पुग्ने भएका हुन् । विशेष त गएको सिजन लिग जित्दा जकार्ताका प्रशिक्षक रहेका स्टेफानो कुगुरा टेको रोहितबाट निकै प्रभावित भएका थिए । नयाँ सिजनका लागि उनी इन्डोनेसियन लिग वानकै क्लब बालि युनाइटेड गएपछि रोहित पनि उतै जानसक्ने खबर पनि आइरहेका थिए ।

अहिले पर्सिजामा प्रशिक्षक बनेका इभान कोलेभ पनि रोहितको आगमनलाई लिएर सकारात्मक छन् । सिइओ पोउलुसका अनुसार प्रशिक्षक कोलेभकै आग्रहमा रोहितसँग नयाँ सम्झौताका लागि कुराकानि गरिएको थियो । रोहितको स्थानमा हेरिएका उज्वेकिस्तानका ज्याखोनगिर अब्दुमुमिनोभले प्रभाव देखाउन नसक्दा मिडफिल्डमा राम्रो खेलाडीको खोजिमा प्रशिक्षक कोलेभ थिए । रोहितको २०१८ को डिसेम्बर अन्तिममा पर्सिजासँग सम्झौता सकिएको थियो । यसअघि उनी २०१३ देखि २०१५ सम्म पर्सिजा जाकर्तामा अनुबन्धित भएका थिए । त्यसपछि २०१७ देखि २०१८ सम्म उनले उही क्लबबाट व्यवसायिक फुटबल खेले ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here