संसद बैठकमै च्यातिन् नियमावली

60

काठमाडौं/प्रतिनिधिसभाको समानुपातिक तर्फबाट निर्वाचित सांसदले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन नियमावलीको विरोध गरेका छन् । उक्त नियमावलीले निर्वाचन क्षेत्रमा जाने ४ करोड रुपैयाँ विनियोजनमा समानुपातिक सांसदलाई भूमिका नदिएको उनीहरुको गुनासो पोखेको छ । कांग्रेस सांसद उमा रेग्मीले उक्त नियमावली संसद बैठकमै च्यातिन् । सबै समानुपातिक सांसदको तर्फबाट भन्दै नियमावली च्यातेकी हुन् । निर्वाचन आयोगले समानुपातिक र प्रत्यक्ष निर्वाचित सांसदलाई एकै खालको प्रमाणपत्र दिए पनि सरकारले नियमावलीमार्फत समानुपातिक सांसदलाई विभेद गरेको उनले आरोप लगाएको थियो । ‘सबै समानुपातिक सांसदलाई दोस्रो दर्जाको बनाउने नियमावली पाच्य छैन । सरकारले यो नियमावली परिवर्तन गरोस्, एउटै हाउसमा बसेका सांसदको मानमर्दन नगरोस्,’ उनले भनिन् ।

सांसद रामबहादुर विष्टले नियमावलीले राणाकालमा राणाहरुको बर्गीकरण गरिएजस्तै सांसदको पनि बर्गीकरण गरेको आरोप लगाउनु भयो । व्यंग्य गर्दै ‘सत्तापक्षका प्रत्यक्ष सांसद ए क्लासका, प्रतिपक्षका प्रत्यक्ष सांसद बी क्लासका र समानुपातिकका सबै सांसद सी क्लासका भनी बर्गीकरण गरियोस् ।’ नियमावलीले कार्यक्रम परामर्श समितिमा प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने र समानुपातिक सांसद, राष्ट्रियसभाका सांसद एवं स्थानीय तहका जनप्रतिनिधिहरु सदस्य रहने व्यवस्था गरेको छ । सांसद विष्टले भने, ‘समितिभित्र बस्ने सांसदको कुनै हैसियत हुँदैन रहेछ । समन्वय समितिको बैठक बस्नु पनि नपर्ने, माइन्युटिङ गर्न पनि नपर्ने, अन्तिम निर्णय संयोजकको हुने व्यवस्था गरिएको रहेछ ।’ यसले गर्दा उक्त बजेटमा प्रत्यक्ष निर्वाचित सांसदको एकाधिकार हुने भएकाले आफूहरु अन्यायमा परेको समानुपातिक सांसदहरुको भनाइ छ ।स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट विकास गर्ने हो कि मुख मिठा गर्ने बजेट हो भनी सांसद विष्टले प्रश्नसमेत गरे ।

‘म अंगीकृत सांसद १’

बुधबारको बैठकमा सांसद लक्ष्मी परियारले ‘म यो गरिमामय सदनको अंगीकृत सांसदको हैसियतबाट मेरा आफ्ना केही भनाइ राख्न अनुमति चाहन्छु’ भन्दै आफ्नो भनाइ सुरु गरिन् । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सञ्चालन निर्देशिकाले सांसदलाई दुई तहमा विभाजन गरेको उनले दावी गरिन् । ‘दुई तहको सांसद हो भने हामीलाई दुई ठाउँमा बस्ने व्यवस्था गरियोस्, प्रत्यक्ष एकातिर, समानुपातिक अर्कोतिर ।’ उनले कटाक्षा गरिन् । सांसद परियारले प्रत्यक्ष निर्वाचित सांसदलाई वंशज र समानुपातिक सांसदलाई अंगीकृतको जस्तो व्यवहार गरिएको जानकारी दिइन । यस्तो सोचाई समानुपातिक समावेशी प्रणालीमाथिकै चुनौती भएको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here