के लेखौं केपी कमरेडका राम्रा काम भनेर ?

306

–निमकान्त पाण्डे
सम्भवतः यदि कसैले राम्रो काम गर्छ भने त्यसको विरोध अपवादमा मात्र हुनसक्छ । किन भने प्रतिशतकै कुरा गर्ने हो भने एक सयमा ९५ प्रतिशत भन्दा बढि मानिस राम्रो कामकै पक्षमा हुन्छन् । यो विषयमा पंक्तिकार पनि अपवाद हुन सक्दैन । व्यक्तिगत हिसाबले पनि अलि बढि नै देश, जनता र राष्ट्रियताप्रति चिन्ता लाग्ने भएकाले मुलुक राम्रो होस्, राज्य र त्यसको बागडोर सम्हाल्ने व्यक्ति जनताप्रति उत्तरदायी होस भन्ने चाहना बढि नै हुने गर्छ । अर्काे तर्फ पेशागत हिसाबले पनि राज्य जनताप्रति बफादार हुनपर्छ भन्दै लेख्दै र बोल्दै आएकाले देशको भविष्यप्रति चासो हुनु स्वाभाविक हो । देश र जनताको लागि भनेरै १४ वर्ष जेल बसेका केपी ओली र देश र जनताकै लागि भनेर १७ हजार जनताको रगत बगाएर गरिएको सशस्त्र युद्धका कमाण्डर प्रचण्ड दुवै जनाले नेतृत्व गरेको पार्टी अत्याधिक बहुमतका साथ सरकार सञ्चालनको जिम्मवारीमा पुगेका बेला यी नेताहरूप्रति आशा जाग्नु स्वाभाविक हो ।

प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा नौ महिने सत्तारोहणका बेला देखाएको देशभक्ति र जनताप्रति देखाएको आशाले मलाई पनि कायल बनाएको थियो । त्यतिबेला भारतीय नाकाबन्दीमा लिएको अडान र जनतालाई देखाएको आशा र भरोसाबाट उत्साहित हुँदै प्रधानमन्त्री ओलीका पक्षमा लेख्न र बोल्न पंक्तिकारले कुनै कञ्जुस्याइ गरेन । तर दोस्रो पटक प्रधानमन्त्रीको आशनमा बसेको एक वर्षमा जनताले महसुस गर्ने गरी काम गर्न नसकेको देख्दा गुनासो बढ्नु ु स्वाभाविक हो । जसरी आम जनतामा सरकारको काम गराईबाट सन्तुष्टि हुने ठाउँ छैन त्यसरी नै पंक्तिकारले पनि सन्तुष्टि हुने ठाउँ देखेको छैन ।

केपी कमरेड ! तपाईको नेतृत्वको सरकारले गरेका कामहरूलाई राम्रा काम मान्ने हो भने मार्क्सवादी दर्शन नै गलत हो भन्ने मान्यतामा पुग्नु पर्ला । त्यसो गर्नु कसरी सम्भव होला र ? मैले नचिनेका बिहारका नितिश कुमार र सिक्किमका पवन चाम्लिङसमेत त्यहाँका जनताबाट प्रशंसा पाईरहेका छन् ! उनीहरू मार्क्सबादी होईनन् ! पाकिस्तानका प्रधानमन्त्री ईमरान खान आज बिश्वकै सामु प्रशंसाको पात्र बनेका छन् ! चीनका सि जिन पिङ माओ पछिका लोकप्रिय नेता बनिरहेका छन् ! तपाईं पनि नौ महिने कार्यकालमा यस्तै–यस्तै लोकप्रिय बनिरहनुभएको थियो । कस्तो काम गर्दा जनताले मन पराउँछन् र कस्तो काम गर्दा लोकप्रिय भईन्छ भन्ने कुरा तपाईले आफ्नै नौ महिनाको समीक्षा गरे पुग्छ ।

मान्छेले अवसर एक पटक पाउँछ । जब त्यो अवसरलाई सदुपयोग गर्न चुकिन्छ, त्यसले राम्रो भनिएको व्यक्तिलाई पनि गलत सावित गर्न सक्छ । भन्ने गरिन्छ, समय बलबान हुन्छ । त्यो कुरा तपाईको हकमा पनि लागु हुन्छ । विगतमा तपाइले गरेको योगदान एक ठाउँमा छ । त्यसबीचमा कतिपय महत्वपूर्ण र दुरगामी राष्ट्रिय मुद्दामा तपाइको निर्णयले तपाईलाई लामो समयसम्म गलत पात्रका रूपमा खेदिरह्यो । त्यही समयले पुनः तपाईलाई नाकाबन्दीको सामना गर्ने अवस्थामा ल्याई पु¥यायो र एउटा असल राष्ट्रवादी व्यक्तित्वका रूपमा स्थापित गरायो । अहिले पनि समय तपाईसँगै छ र पछिल्ला घटनाक्रमले तपाईले प्राप्त गरेको लोकप्रियातालाई तपाईबाट खोस्ने चेस्टा गरिरहेको देखिन्छ । त्यसैले समयका बारेमा तपाईजत्तिको विद्धान व्यक्तिलाई सुझाव दिईरहनु नपर्ने हो ।

तपाईका सामु अहिले पनि आफूलाई सफल सावित गर्न निकै धेरै र महत्वपूर्ण समय छ र साथै यो समयभित्र तपाईले गर्न चाहने हो भने तपाइसंग प्रारम्भमै गरिहाल्नुपर्ने केही कामहरू छन् । जस्तो– साना लगानीका व्यवसायीलाई कर मिनाहा गर्ने, कर्जा सुलभ गर्ने र ब्याज दर घटाउने, ठूला लगानीका ब्यापारीलाई करमा छूट नदिने, कर छल्नेहरूलाई उन्मुक्ति नदिने, कानून आम जनसाधारणलाई मात्र होइन, जनताले कानून पालन गरेकै हुन्छन् । गल्तीले कानुन विपरित काम गरिहाले पनि सजाय भोगिरहेकै छन् । तर हेर्नुस त , उच्च तहका नेता र उच्च पदस्थ कर्मचारीहरूलाई ! कानुन यिनिहरूलाई नै लागू गर्न कडाई गर्ने हो । यस्ता केही महत्वपूर्ण कामहरूलाई प्राथमिकतामा राख्नुभयो भने त्यो तपाईकै हितका लागि हुनेछ । यस्ता कामले तपाईको व्यक्तित्व र लोकप्रियतामा वृद्धि हुन्छ, तर देश र जनता यही कारणले दीर्घकालसम्म पनि राज्यका लागि ऋणी बन्ने छन् । अर्थात जनतामा सरकारप्रतिको भरोसा बढेर जनेछ ।

एउटा सानो उदाहरण हेर्न सकिन्छ, जनसाधारणले अज्ञानता बस कानून उल्लंघन गरेको हुन्छ तर नेताहरू र कर ठग्ने ब्यापारीलाई संरक्षण गर्ने कर्मचारीहरूले जानाजान कानून उल्लंघन गरिरहेका हुन्छन् । यस्ता कुरामा प्रधानमन्त्रीले ध्यान दिन आवश्यक छ । सत्तामा हुँदैमा सबै कुराको जानकारी हुन्छ भन्ने छैन । त्यसैले जनताका कुरा पनि सुन्ने धैर्यता राख्न सक्नुपर्छ । स्कुल र कलेजहरूमा शुल्कमा एकरूपता, अस्पतालहरूको लूटतर्फ निगरानी, बैंकहरूको मुनाफाप्रति ध्यान दिन सक्ने हो भने यो देश र जनता दुवैका लागि उपलब्धि नै हुन सक्छ । यस्ता महत्वपूर्ण कुरामा ध्यान दिने हो भने केपी कमरेडले राज्यकोषबाट लाखौं लगानी गरेर पत्रपत्रिकामा ठूला ठूला तस्वीर छपाउने कस्ट गर्नु पर्दैन, सञ्चारमाध्यम आफैले तपाईको समाचार र तस्वीर ठूला ठूला शीर्षकमा छाप्ने छन् । कामै नगरी प्रशंसाको मात्र अपेक्षा गर्नुभयो भने त कसरी त्यो सम्भव होला र ? अनि कसरी लेख्न सकिएला र केपी कमरेडका राम्रा काम भनेर ?-  जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here