-चन्द्रप्रकाश बानियाँ
सरकारले जनताको मनोभावना बुझ्न नसकेको हो कि जनताले सरकारलाई चिन्न नसकेका हुन् कुन्नी, दुबैथरी एकअर्काको व्यवहारबाट सन्तुष्ट देखिदैनन् । सरकार गठनको बार्षिकीको अवसर पारेर प्रधानमन्त्रीबाट एकवर्षे कार्यकालको प्रदर्शन उत्साहवर्धक रहेको रिपोर्ट सार्वजनिक गरियो । रिपोर्टमा सरकारको चौतर्फी सफलताको बखान थियो । सरकारको कार्यक्षमताबाट संसारै आश्र्चचकित रहेको दावी गर्दैआएका प्रधानमन्त्रीको बार्षिक रिपोर्टमा कमी, कमजोरी र असफलताको स्वीकारोक्तिको अपेक्षा कसैले गरेको थिएन । जनताका नाममा सम्बोधन गर्ने योजनाको उद्देश्य जनतामा थप निराशा सम्प्रेषण गर्नु हुन सक्तैनथ्यो । प्रधानमन्त्रीको सम्बोधन जस्तो आउने अपेक्षा थियो त्यस्तै आएको हो । तर जमिनी सत्य के रह्यो भने प्रधानमन्त्रीको सम्बोधनले न जनतामा कुनै उत्साहको सञ्चार ग¥यो न जनताले नै गम्भीरतापूर्वक सुन्नु पर्ने र पक्षविपक्षमा अभिव्यक्त हुनुपर्ने आवश्यकता ठान्यो । समर्थन वा विरोधको अर्थ र आवश्यकता नेपाली समाजले देख्दैदेखेन । सम्बोधनमा परेका विषयहरूमा विश्वास पनि गरिएन, आलोचना गर्ने रुचि पनि प्रदर्शन भएन । प्रमले उत्साहपूर्वक वाचन गरेको कार्यसफलताको सकारात्मक सूचिप्रति आम जनता प्रतिक्रियाविहीन रहने अवस्था उत्पन्न हुनु निश्चय पनि राम्रो शंकेत हो भन्न सकिदैन ।
विश्वास/अविश्वास, समर्थन वा विरोधविहिनताको अनपेक्षित परिस्थिति किन कसरी निर्माण हुन गएको होला त भन्ने स्वाभाविक प्रश्न सबै जिज्ञासुहरूको मनमा उत्पन्न हुने नै भो । किन यस्तो भयो भन्ने प्रश्नको तथ्यसंगत जवाफ खोज्नको निमित्त सरकारको वास्तविकता र जनताको बुझाई टटोल्ने/पर्गेल्ने कोशिस गर्नु उपयुक्त हुनेछ । कम्युनिष्ट नामधारी दुईवटा पार्टीहरू निर्वाचनलगत्तै आपसमा मिल्ने वाचा सहित जनताका बीचमा मतयाचनाका लागि प्रस्तुत भएका थिए । निर्वाचन लगत्तै ‘जुत्ताको नाप अनुसार खुट्टा काटेरै भए पनि मिलाउने‘ एउटा महत्वपूर्ण शैद्धान्तिक भनाई वर्तमान प्रधानमन्त्री तथा तत्कालीन एमालेका अध्यक्षबाट सावर्जनकि भएको थियो । ‘खुट्टाको नाप अनुसारको जुत्ता बनाउने‘ कम्युनिष्ट परम्परामा शिद्धान्तलाई व्यवहारमा प्रयोग गर्ने सन्दर्भमा अपनाउनुपर्ने विधिको सार्वकालिक भाष्य मानिन्छ । भाव र भाषाले त्यसको उल्टो अर्थ दिने जार्गन निर्माण गर्नुको कारण परम्पराभन्दा उल्टो बाटो हिड्ने आसय थियो भनेर बुझ्नु पथ्र्यों । पार्टीनाममा जडिएको ‘कम्युनिष्ट‘ भन्ने शब्दावली जनमत आकर्षित गर्ने ट्रेडमार्कको रूपमा मात्र प्रयोग गरिएको हो भन्ने कुरा अनेक अवसरमा अनेकपटक एमालेको नेतृत्वले सार्वजनिक गर्दै आएको थियो । त्यसमाथि पार्टी एकता अघिपछि आफ्नो पार्टी अब ‘परम्परागत कम्युनिष्ट चरीत्रको रहने छैन‘ भन्न पनि भ्याइसकिएको थियो । नेकपा डबल त्यही आधारभूमिमा निर्माण भएको नयाँ पार्टी हो । कार्यकारणबस पार्टीको नाममा कम्युनिष्ट भन्ने शब्दावली झुण्डिएको भए पनि न पार्टी कम्युनिष्ट आदर्शप्रेरित छ न नेताहरूमा कम्युनिष्ट चरीत्र नै बाँकी छ । वास्तविकता त्यस्तो भए पनि नेपाली मतदाताहरूले भने नेकपालाई एउटा सिद्धान्तनिष्ठ कम्युनिष्ट पार्टी मानेरै मत दिएका हुन् । त्यही कारणले आम मतदाताले सरकारको काम कार्यवाहीमा कम्युनिष्ट चिन्तन, आदर्श र नैतिकताको अपेक्षा गरेका थिए । जनताको अपेक्षामा सरकार खरो उत्रन सम्भवै थिएन, उत्रिएन । अपेक्षित लक्षण नदेखिएपछि जनतामा निराशा व्याप्त हुनु स्वाभाविक हुने नै भो । जनताको बुझाईमै खोट थियो त्यसैले जनताको अपेक्षा पनि गलत नै थिए भन्नुपर्छ । अर्थात नेपाली मतदाताको आशा अपेक्षा ‘वैला गाई पालेर दुूधको पिउने धोको पाल्नु‘जस्तै असम्भव कल्पना थियो ।
सरकारले सत्ता सम्हालेको बर्षदिन बित्यो । यो एकबर्षे अवधिमा सरकारले प्राप्त गरेको उपलब्धिलाई बुझ्ने देख्ने र मूल्याङ्कन गर्ने मामलामा सरकार र जनता विल्कुल विपरित कित्तामा उभिएका देखिन्छन् । आफ्नो एकबर्षे उपलब्धिबाट सरकारको भूईंमा खुट्टा छैन तर जनताले भने सरकारको उपलब्धि देख्दैदेखेनन् । उल्टो आशा अपेक्षामा तुषारोपात गरिदएको अनुभूतिले जनतामा निराशा व्याप्त छ । जनताको मनमा गुम्सिएको निराशा गाउँघर, शहरबजार, चौरचौतारी र बाटैघाटै जताततै व्यक्त हुन थालेको छ । दुईजना मानिस जम्मा हुनासाथ सरकारको अकर्मण्यता र असफलतताको चर्चा सुरु भैहाल्छ । आपसी भलाकुसारीको सट्टा अकस्मात भेट भएका आफन्तजनहरूबीच समेत सरकारको निन्दा आलोचना र असन्तोष आदान प्रदान हुन थालेको छ । हो, त्यही समाजिक मनोविज्ञान टपक्क टिपेर हालसालै एकजना ख्यातनामा लोकगायकले गीत सार्वजनिक गरिदिएछन् । जनताको बोली टिपेर गाउने हुनाले नै लोक गायकको पगरी जनताले दिने हुन् । उनीहरूका गीतमा समाजको भावना प्रतिविम्वित हुन्छ । भाव र भाषाले जनताको प्रतिनिधित्व गर्छ । क्रोध र असन्तुष्टिको आवेगमा कसैले गीता पढ्दैन । सभ्य शिष्ट शब्दावलीको ख्याल गरिदैन । जनताको बोली टिपेर गाउने स्थापित कलाकारहरू कैयौंलाई शिष्टता र शालीनताको लक्ष्मणरेखाको ख्याल गर्न नसकेको आरोप यसअघि पनि लाग्ने गरेको सुनिन्थ्यो । यसपटक त्यो आरोप दोहोरिनु आश्चर्य मान्नुपर्ने विषय मानिदैन । जनताको आलोचनाभन्दा माथि कोही पनि हुदैन । तर यसपटक जनस्तरबाट कलाकार आलोचित भएको सुनिएन । बरु पं्रशंसित नै भएको देखियो तर सरकारी पक्ष भने रुष्ट भयो, उतर्सियो, र धाकधम्कीमा उत्रिने नादानी ग¥यो ।
जनताको भावनालाई जनताको बोलीमै गाउने एउटा कलाकारलाई आफ्नो सिर्जना बजारबाट फिर्ता लिनुपर्ने अवस्थामा पु¥याइएको घटनाले सरकारलाई थप आलोचित बनाएको छ । लोकप्रियताको ग्राफमा द्रुत ह्रास आउने कारण बनेको छ । त्यस्तो अप्रियस्थिति अकस्मात एकदिनमा निर्माण भएको हो भनेर पत्याउन समाज तयार छैन । तत्काल सरकारले निर्देशन नगरेकै भए पनि त्यस्तो परिस्थिति निर्माणको आधारभूमि तयारगर्ने प्रयत्न धेरै अगाडि देखि गरिएको थियो । सरकारको विरोध गर्नेहरूमाथि ‘अरिङ्गाल बनेर खनिने‘ उर्दी प्रधानमन्त्रीबाट कार्यकर्ताहरूको नाममा जारी भएको कुरा सार्वजनिक भएकै थियो । हो, त्यही निर्देशन परिपालनामा यसपटक युवासंघ नामको पार्टीदस्ता मैदानमा उत्रिएको हो । कलाकारलाई फोनबाट धम्क्याइयो, करियर समाप्त गरिरदिने चेतावनीयुक्त विज्ञप्ति सार्वजनिक गरियो । युवासंघको धाकधम्कीको कारणबाट एउटा कलाकारको मुखमा तत्कालको लागि ताला लाग्न सक्ला तर जनतामा भने थप निराशा र आक्रोश उत्पन्न गर्ने छैन भन्न सकिन्न ।
युवा संघ एउटा ‘मोटीभेटेड’ दस्ता हो । त्यसबाट स्वतन्त्र चिन्तन र विवेकको आशा गर्न सकिदैन । त्यस्तो परम्परा नै हुदैन । विशुद्ध आदेशपालक दस्ता भएको हुनाले न स्वतन्त्र भावना हुन्छ न परिीिथति र परिणामको आँकलन गर्ने क्षमता नै रहन्छ । त्यस्तो अधिकार पनि राख्दैन । औचित्याचित्यको मूल्याङ्कन गर्नै क्षमता राख्नेगरी दस्ता निर्माण गरिएकै हुदैन । घरमालिकको कुखुरो उठाउन तम्सिएको स्यालसँग घरमा पालिएको कुकुरको कुनै व्यक्तिगत दुश्मनी हुदैन । तर मालिकको इशारा पाउनासाथ स्यालमाथि जाइलाग्छ । मालिकको इशाराको अनुशरण गर्नु मालिक रिझाउने सर्वोत्तम विधि हो भन्ने चेतना कुकुरसँग रहन्छ । हाम्रो घरगाउँतिर युवासंघसँग मिल्दोजुल्दो एउटा लोककथन प्रचलित छ । उपल्लाघरे मुखियाले आफ्नो आँगनको डिलमा उभिएर तल्लाघरे जेठालाई अकस्मात पुकार्छन् । मुखियाको आवाज सुन्नासाथ तल्लाघरे जेठो खाँदै गरेको भाग छोडेर आगनमा निस्कन्छ । ‘ए ठूले ! जा जा, त्यो अन्तरे माहिलालाई दुई झापट दिएर आइज’ भन्ने मुखियाको आदेश सुनेको जेठो जुठै हात दौडदै अन्तरे माहिलाको घरमा पुग्छ र मुखियालेजस्तै माहिलाको नामोच्चारण गरेर बोलाउँछ । ‘छिमेकीले किन बोलायो‘ भनेर माहिलो बाहिर निस्कन्छ । माहिलालाई देख्नासाथ ठूलेले दुई लपेटा लगाउँछ । ‘मलाई किन हानिस्, मैले के खति गरिदिएँ, मेरो गल्ती के हो ?‘ भन्ने अन्तरे माहिलाको जिज्ञासामा ‘त्यो त मलाई थाहा छैन, मुखियालाई सोध्नु !‘ भनेर तल्लाघरे ठूले फर्केथ्यो रे ! वास्तवमा युवासंघ पनि ठूलेजस्तै अन्ध आज्ञापालक दस्ता हो । तर यसपटक एउटा अचम्म के भयो भने गीतमा प्रयोग भएको शब्दहरूले उसको मानमर्दन भएको अनुभूति ग¥यो रे ! त्यस्तो त नहुनुपर्ने हो । हुनसक्ने कुरै होइन । रोबोटिक दस्ता भावना र चेतनाविहीन आदेशपालक मात्रै हुन्छ । सम्भवतः घटनाको जिम्मेवारी लिनुपर्ने आदेश पनि माथिकै थियो कि ?- जनधारणा साप्ताहिक


















