काठमाडौं / नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर विचारक तथा नैतिकताका धरोहर कमरेड कृष्णदास श्रेष्ठको शनिबार निधन भएको छ ।
माड्साबको नामले परिचित श्रेष्ठको ८७ वर्षको उमेरमा शंखमूल, नयाँवानेश्वरस्थित आफ्नै निवासमा दिउँसो १ः४० मा निधन भएको हो । उनी दम र पिसाबनली बन्द हुने समस्याबाट पीडित थिए ।
श्रेष्ठको पार्थिव शरीरमा मोहन वैद्य किरण, रामबहादुर थापा बादल, झलनाथ खनाल, देव गुरुङ, सोनाम साथी, पम्फा भुसाल लगायतका नेताहरुले उहाँको निवासमा गई श्रद्धाञ्जली प्रकट गरेका थिए ।
श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीको लागि उहाँ आबद्ध नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को पार्टी कार्यालय बुद्धनगरमा ल्याइएको थियो । त्यहाँ आयोजित संक्षिप्त श्रद्धान्जली कार्यक्रममा पार्टीका अध्यक्ष मोहन वैद्यले श्रद्धान्जली मन्तव्य राखेका थिए ।
सांगठनिक रुपमा पछिल्लो समयमा उहाँको आबद्धता मोहन वैद्य पक्षधर नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को सल्लाहकारको रुपमा रहेको थियो ।
उहाँको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।

















