हत्यापछि डीएसपीलाई फोन

104

काठमाडौं/‘ससुरालीमा श्रीमती मारेर हिँड्ने मै हुँ, डिएसपी सा’प अब तपाईँहरु मलाई खोज्न नहिँड्नुस् यदि मलाई पक्राउ गर्न आउनुभो भने मलाई भेट्नु हुन्न, किनकी मेरो साथमा दुई मिटर लामो डोरी छ ।’

मंगलबार मध्यान्ह अपरिचित नम्बरबाट आएको फोन रिसिभ गर्नासाथ जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी बासु पाठक चकित भए । अघिल्लो दिनदेखि प्रहरीले जसलाई खोजिरहेको थियो तीनैले फोन गरेर पाठकलाई धम्कीको शैलीमा भने, ‘मलाई खोज्ने प्रयास गर्नुभो भने, मेरो लाश पाउनुहुन्छ नत्र बाँच्न दिनुस् ।’

श्रीमतीको हत्या गरेर डीएसपीलाई नखोज्न र भारतसम्म पुग्ने समय दिन आग्रह गर्ने व्यक्ति थिए, जिरी नपा–९ ठूलो पातलका तस्बिर तामाङ ९ वर्ष ३५० । मंसिर १० गते सोमबार राती जिरी नगरपालिका–९ स्थित ससुरालीमा सालोको बिहे भोज खान गएको बेला तामाङले सामान्य भनाभन हुँदा श्रीमतीलाई चिर्पट प्रहार गरेका थिए ।

‘चिर्पट प्रहारबाट उसको श्रीमती राममाया तामाङको घट्नास्थलमै मृत्यु भएको छ’ जिल्ला प्रहरी कार्यालय दोलाखका डिएसपी बासु पाठक भन्छन्, ‘श्रीमतीलाई आवेशमा आएर टाउकोबाट गिदी समेत निस्कनेगरी चिपर्ट हानेपछि उनी त्यही राती फरार भएका थिए, निकै ठूलो मेहनतले पक्राउ गर्न सफल भयौं ।’

श्रीमतीको हत्यापछि जेठानलाई फोन गरेर ‘मैले राममायालाई मारेको छु, मलाई खोज्नुपर्दैन भारत जान्छु’ भनेर हिँडेका तस्बिरले दुई दिन, दुई रात दोलखा र रामेछापका प्रहरीलाई ठुलो हैरानी दिए ।‘बुधबार बिहान तस्बिर तामाङलाई रामेछापको मन्थलीबाट नियन्त्रणमा लिएका छौं’ डिएसपी पाठकले भने, ‘कर्तब्य ज्यानमा म्याद लिएर थप अनुसन्धान
गर्छौं ।’

ससुरालीमा नाता–गोता र आफन्तहरु भोज खाइरहेको बेला बिहे घरभन्दा तल्लो घरमा श्रीमतीलाई बोलाएका तस्बिर र उनको श्रीमतीको बीचमा घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दोलखा सदरमुकाम चरिकोटमा भरियाको काम गर्ने तस्बिरले श्रीमतीले आफूले भनेको कुरा अटेर गर्ने र छोरीहरुको ख्याल नगर्ने गरेको भन्दै हत्या गरेको प्रहरीमा बयान दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here