नेपाल इन्भेस्टमेन्ट बैंकको एनआइबिएल क्रमिक मुद्दती खाता शुभारम्भ

576

काठमाडौं /  नेपाल इन्भेस्टमेन्ट बैंक (एनआइबिएल)ले ३३औँ वार्षिकोत्सवको उपलक्ष्यमा सोमबारबाट एनआइबिएल क्रमिक मुद्दती खाता शुभारम्भ गरेको छ ।

बैंकमा कुनै पनि बचत खाता खोल्ने ग्राहकले क्रमिक मुद्दती खाता खोल्न सक्ने छन्, हरेक महिना न्युनतम ३ सय ३३ रुपैयाँ जम्मा गरेर ३३ महिनाको अवधिका लागि उच्चतम ९ दशमलव २५ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ ।

त्यस्तै बालबालिकाहरूमा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नाममा चित्रकथा सार्वजनिक गरेको छ । विशेष गरी वालवालिकाहरूलाई सानै उमेरदेखि नै बैंकको महत्व तथा फाइदा बुझाई उनीहरूमा बचत गर्ने बानीको विकास गर्नका लागि एनआइबिएलले जानकारीमूलक बाल चित्रकथा प्रकाशनमा ल्याएको हो ।

त्यस्तै, ३३औं वार्षिकोत्सवको अवसरमा एनआइबिएल भिसा कार्ड प्रयोगकर्ताका लागि पिओएस मेसिन प्रयोग गर्दा ३३ प्रतिशत क्यास ब्याक अफर ३३ दिनका लागि प्रदान गरिने बैंकले जनाएको छ । यसवर्षदेखि बैंकले आफ्ना कार्ड सञ्जालमा मास्टरकार्डको सेवा सञ्चालनमा ल्याएको छ ।

आर्थिक वर्ष ०७४÷७५ को अन्त्यसम्ममा बैंकको चुक्तापुँजी १२ अर्ब ५८ करोड पुगेको छ भने जगेडा तथा कोषको रकम ९ अर्ब ७७ करोड पुगेको बैंकले जनाएको छ । बैंकले ०७४/७५ मा ४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ भने खुदनाफा ३ अर्व ६५ करोड पुगेको छ । बैंकको निक्षेप ११.४५ प्रतिशतले बढेर १ खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी १ सय २० अर्ब पुगेको छ । बैंकको खराबकर्जा (एनपिए) अनुपात १.३६ प्रतिशत रहेको बैंकले जनाएको छ ।

३३औँ बसन्तपार गर्दा आर्थिक वर्ष ०७५/७६को दोस्रो त्रैमाससम्ममा बैंकले एक खर्ब ४२ अर्ब निक्षेप संकलन गरी एक खर्ब २८ अर्ब कर्जा लगानी गरेको छ । उक्त त्रैमाससम्ममा बैंकले ४ अर्ब ७ करोड सञ्चालन मुनाफा कमाउन सफल भएको छ भने १ अर्ब ९७ करोड खुद मुनाफा कमाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here