उत्तर कोरियाली नेता किम जोंगको विशेष ‘रेल’

243

एजेन्सी/उत्तर कोरियाली नेता किम जोंग उनको व्यापक चर्चा भइरहन्छ । कहिले आफ्नो गोप्य जीवनशैलीका लागि त कहिले परमाणु हतियारको चक्करमा, उनीबारे मिडियामा चर्चा भइरहन्छन् । उनी मंगलबार आफ्नो ‘हरियो रेल’ मा यात्रा गरेर ट्रम्पसँगको दोस्रो भेटघाटका लागि भियतनाम पुगेका छन् । उनी धेरैजसो आफ्नो यही रेलमा यात्रा गर्न रुचाउँछन् । आज हामी तपाईंलाई किम जोंग उनको विशेष रेलबारे जानकारी दिँदै छौं । किमको रेल सर्वाधिक चर्चाको विषय त्यतिबेला बन्यो जब उनी रेलमै चीन भ्रमणमा निस्किए । सन् २०११ मा सत्ता सम्हालेपछि गत वर्ष मार्चमा उनी पहिलो पटक उत्तर कोरियाबाट बाहिर निस्किएका थिए । उनको हरियो रंगको रेल त्यतिबेला उनीभन्दा बढी चर्चित भएको थियो ।

हरेक हमलाबाट बच्न सक्षम छ किमको रेल १

किम जोंग उनको रेल हेर्दा जति साधारण देखिन्छ त्यो भित्रबाट निकै विशेष छ । जसरी ‘एयरफोर्स वान’ अमेरिकी राष्ट्रपतिलाई सुरक्षा दिन्छ, त्यसरी नै यो रेल पनि किमको ज्यानको रक्षा गर्छ । संसारभरीका विशेष प्रविधी यो रेलमा राखिएका छन् । यो रेलको हरेक सिसा ‘टिन्टेड ग्लास’ बाट बनाइएको छ । यसमार्फत् भित्र बसेका किमले बाहिरको सबै दृश्य देख्न सक्छन् तर बाहिरका कसैले पनि उनलाई देख्न सक्दैनन् ।

यतिमात्र होइन, रेलको ढाँचा निकै बलियो छ । कुनै गोलीले यसलाई छुनसमेत सक्दैन । किम जोंग उनको सुरक्षाका लागि यसलाई बुलेटप्रुप बनाइएको छ । यस्तै, रेलभित्रको ढाँचा कुनै पाँचतारे होटल जस्तो छ । किम जोंग उनका लागि यहाँ विशेष टिभी सेट राखिएको छ । यहाँ एक आलिशान बेडरुम पनि छ । यहाँ बस्दा बस्दै पनि उनी संसारभरीको खबर थाहा पाउन सक्छन् । रेलभित्रैबाट किम जोंग उन उत्तर कोरिया चलाउन सक्छन् । रेलभित्र उनका लागि विशेष कन्फरेन्स रुम पनि बनाइएको छ । यति मात्र होइन, यो रेलमा सेटलाइट फोनको पनि प्रबन्ध छ । यसमार्फत किम जता पनि फोन गर्न सक्छन् । यो एक ९० कोच भएको रेल हो र यसमा किम जोंग उनको रक्षाका लागि सधैं फौजी तयार हुन्छन् । किम जोंगको यो रेल निकै विलासी छ । तर किम जोंग उनका पिता किम जोंग इलले प्रयोग गर्ने यही रेल थप विलासी थियो ।

विदेशी रक्सी र स्वदेशी कबाब हुन्थ्यो किम जोंग इलको रेलमा।।

किम जोंग उनका पिता किम जोंग इललाई हवाइजहाजमा यात्रा गर्न डर लाग्थ्यो भन्ने गरिन्छ । उनी उचाईमा यात्रा गर्न सक्दैनथे । यसै कारण किम जोंग इलले यो विशेष हरियो रेलको प्रबन्ध आफ्ना लागि मिलाएका थिए भनिन्छ । उनी उत्तर कोरियामा यसैमार्फत् घुम्थे । यतिमात्र होइन, उत्तर कोरिया बाहिर जानका लागि पनि किम जोंग इल यो रेलको सहारा लिन्थे । आफ्नो पिताको मृत्यु पछि किम जोंग उनले उक्त रेल पाएको बताइन्छ ।

किम जोंग इलको रेलमा उनीसँग करिब सय सुरक्षाकर्मी रहन्थे । हरेक स्टेशनमा आएपछि उनी त्यहाँ बमको खोजी गर्दथे । किम जोंग इलले आफ्नो यो रेलबाट नै रुसको यात्रा गरेका थिए । त्यतिबेला मानिसहरुले किम जोंग इलको रेल भित्रबाट कस्तो देखिन्छ भनेर जान्न खोजेका थिए । उक्त रेलमा विदेशी रक्सीदेखि स्वदेशी कबाबसम्मको व्यवस्था हुने गरेको बताइन्छ । किमले आफ्नो यो रेलमा सुन्दर युवतीलाई कर्मचारीको रुपमा राखेका थिए । रेलभित्र निकै महँगा रक्सी हुन्थ्यो । यतिमात्र होइन, निकै महँगा रेड वाइन यहाँ हुन्थे । यहाँ हरेक समय उत्कृष्ट सेफको पनि उपस्थिती हुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here