यो कस्तो गणतन्त्र हो ? यो कस्तो व्यवस्था हो ? के हामीले यहि मागेका थियौं ? – नेता सीपी गजुरेल

258

सर्लाही /  देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य सीपी गजुरेलले सर्लाहीको बर्दिवासमा आयोजित जनसभामा मुलुकमा राष्ट्रियताको अवस्था विकराल बन्दै गएको बेला त्यसप्रति राज्य मौन देखिनुले आफुलाई आश्चार्य लागेको जनाए । ।

मेची महाकाली जनजागरण तथा परिचालन अभियान लिएर मुलुकका चार स्थानहरुबाट एकै साथ अघि बढेको  देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपालका नेता गजुरेलले अभियानको अवधीमा विभिन्न सीमावर्ती क्षेत्रमा आफुले अनुगमन, निरिक्षण र स्थानीयसँग छलफल गर्दा अधिकांश क्षेत्रमा नेपाली भूभागमा भारतीय अतिक्रमण भएको देखिएको जनाए ।

उनले कतिपय स्थानमा दश गजा क्षेत्र मिचिर भारतीय पक्षबाट सरकारी कार्यालय नै राखेको भेटिएको भएपनि त्यसप्रति नेपाल सरकार मौन हुनुले धेरै खालका प्रश्नहरु उब्जेको जनाउँदै भारतीय पक्षबाट दशगजा क्षेत्र मिचेर बस्ती बसाएको, एकपक्षिय रुपमा बाटो बनाएको, नेपालतर्फ आएर नागरिकहरुलाई आतंकित पार्ने खालका कामहरु गर्ने गरेको अनुगमन तथा निरिक्षणको क्रममा देखिएको जनाए ।

काठमाडौंमा बसेर राष्ट्रियताका सवालमा सरकारी वहस भएपनि सीमा क्षेत्रको सुरक्षाका लागि तराईका मधेशी समूदायले लड्नु परेको भन्दै उनले तराईका नागरिकहरु नै सबैभन्दा राष्ट्रवादी भएको तर्क गरे । सीमा क्षेत्रमा हुने आक्रमण र त्रासका बेलामा समेत ज्यानको प्रर्वाह नगरि तराईका नागरिकहरुले मुलुकको स्वाधीनताका लागि लडेका घटनाहरुको स्मरण गर्दै उनले भने–‘मधेशी नागरिकहरुमा वास्तविक राष्ट्र प्रेम छ, ओलीको जस्तो भाषणमा सिमित राष्ट्रिवादको के काम, सीमा मिचिएको छ, आँखा चिम्लेर बस्ने कस्तो सरकार ?’

उनले मुलुकमा कथित कम्युनिस्टको सरकार आएको भनिएपनि त्यसले जनताको गाँस, बाँस, कपास र शिक्षा, स्वास्थ्य र रोजगारको समस्या हल गर्न नसकेको औल्याउँदै त्यसलाई नामधारी कम्युनिस्ट सरकारको रुपमा परिभाषित गरे ।

उनले नेपालको वृहत नेपालको क्षेत्र खोजी गर्नुको सटो ओली सरकारले भएको क्षेत्रफल समेत पछिल्लो पटक प्रदेशको नक्साबाट गायब गरेको भन्दै आक्रोश व्यक्त गरे । उनले सात प्रदेशको कुल क्षेत्रफल जोड्दा १० हजार १९ वर्ग किलोमिटर जमिन ओली सरकारले नक्साबाट गायब गरेको जनाए ।

उनले प्रश्न गर्दै भने–‘कता गयो हाम्रो १० हजार १९ वर्ग किमि जमिन ?यसको जवाफ दिनु पर्दैन । अब जनताले यस्ता जनघाती, राष्ट्रघाती व्यवस्थालाई सडक आन्दोलनको बलमा खारेज गर्नुको विकल्प छैन, यसले हामी कसैको भलाई गर्दैन ।’

उनले दुई तीहाइको सरकारलाई देश र जनताको पक्षमा काम गर्न कसैले रोक्न नसक्ने भन्दै भने–‘संसदीय व्यवस्थामा दुई तिहाइको सरकार सार्वभौम हुन्छ, मन लागेमा सबै काम गर्न सक्छ, मात्र एउटा काम गर्न सक्दैन, त्यो भनेको महिलालाई पुरुष र पुरुषलाई महिला बनाउँन सक्दैन बाँकी त सबै गर्न सक्छ ।’

निर्वाचनको बेलामा विकास र संवृद्धीको सपना देखाएर जनतासँग झुट बोलेका नताहरु यतिबेला जनताको अगाडि राम्ररी बोल्न पनि डराउँनु पर्ने स्थिति भएको उनले भने ।

जनताको संरक्षण गर्नुपर्नेमा सरकारले अपराधीहरुको संरक्षण गरेको भन्दै उनले प्रश्न गरे–‘यो कस्तो गणतन्त्र हो ? यो कस्तो व्यवस्था हो ? के हामीले यहि मागेका थियो ?’ उनले अहिलेको लोकतान्त्रीक गणतन्त्र सामन्त, दलाल, पूजिवादीहरुको षडयन्त्रका रुपमा आएको भन्दै त्यो जनयुद्धमा आफुहरुले नमागेको तर्क गरे ।

उक्त जनसभामा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरीभक्त कडेल प्रतिक, पोलिटवयूरो तथा प्रदेश दुईका देजमो संयोजक कमल थारु, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विरेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

देजमो सर्लाहीका अध्यक्ष प्रेम भुजेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्थानीय बुद्धिजिवी, नागरिक, पत्रकार गरी ३०० जतिको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here