काठमाडौं / नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा विरामीहरूको निःशुल्क जाँच–परीक्षण गर्ने भएको छ ।
यस वर्षको विश्व श्रवण शक्ति दिवस यही फागुन १९ गते आइतवार तदनुसार मार्च ०३, २०१९ का दिन मनाइदैछ । यस वर्षको विश्व श्रवण शक्ति दिवसको नारा ‘आफ्नो श्रवण शक्ति जाँचौ'(Check your hearing) रहेको छ ।
विकसित र अल्प विकसित मूलुकहरूमा हाल तीब्र गतिमा बढ्दै गएका विविध प्रदूषणहरुः जस्तै ध्वनि प्रदुषण, वायु प्रदूषण, कोलाहल, विविध संक्रमणहरु, आदिका कारण मानिसहरूको श्रवण शक्तिमा क्रमिक ह्रास आउन थालेको छ । त्यसमा पनि अत्यधिक ध्वनिसहितका कल–कारखाना, विमानस्थल वरपरका वासिन्दा, अनियन्त्रित सार्वजनिक यातायातका ध्वनि, लामो समय ठूलो आवाजसहितको एयर फोन प्रयोग गर्ने वानी, चर्को आवाजसहितको मनोरञ्जन र कानका त्यस्ता केही संक्रमणहरू जसले मानिसको श्रवण शक्तिमा ह्रास ल्याउने मात्रै नभएर बहिरोपन निम्त्याउने समेत सम्भावना रहन्छ ।
तसर्थ समयमै गरिने श्रवण शक्ति ह्रास सम्बन्धी समस्याको पहिचान, निदान एवम् उपयुक्त उपचार श्रवण शक्ति जोगाउन वा बहिरोपनबाट बचाउन निकै महत्वपूर्ण हुनसक्छ । त्यसैले विश्व स्वास्थ्य संगठनले यस वर्षको विश्व श्रवण शक्ति दिवसको नारा ‘आफ्नो श्रवण शक्ति जाँचौ’ राखेको हुनुपर्छ । हाल विश्वभर करीव ४६ करोड मानिसहरु श्रवण शक्ति ह्रास हुने समस्याबाट पीडित रहेका छन् भने तिनमा ३४ करोड बालबालिका मात्रै रहेका छन् ।
नेपालको सन्दर्भमा आधिकारिक तथ्यांक उपलब्ध नभए पनि सो संख्या अत्यधिक भएको अनुमान छ । मानिसको श्रवण शक्ति ह्रास हुनुका प्रमुख कारणहरूमा खोपद्वारा नियन्त्रण गर्न सकिने केही त्यस्ता संक्रमणहरु जस्तैः दादुरा, गलगाड र रुवेला आदि छन् भने केही अरु प्रकारमा क्षयरोग र मलेरियाविरुद्धका औषधिहरु, चर्को आवाज निकाल्ने कल–कारखानाहरु, लगातार चर्को स्वरमा सुनिने नकारात्मक क्रियाकलापहरू मुख्य रहेका छन् ।
श्रवण शक्ति ह्रास हुनेमा विविध कठिनाईहरु आइपर्ने हुन्छ । जस्तैः व्यक्तिको व्यक्तिगत सञ्चार क्षमतामा ह्रास, पारिवारीक र सामाजिकीकरण, सिक्ने क्षमतामा कमी, काम र जीवनप्रतिको उत्साहमा कमी परिवार/समाजमा एक्लोपनको महसुस हुने आदि रहेका छन् । त्यस्तै वयष्क मानिसहरूको श्रवण शक्तिको ह्रासले उनीहरूको व्यवहारिक पक्ष वा संज्ञानात्मक गिरावट (Cognitive decline) निराशापन र मस्तिष्कलाई कमजोर पार्ने रोग (Dementia) जस्ता खतरनाक समस्याहरूको शिकार हुनसक्ने जोखिम बढाइदिने हुन्छ ।
समयमा रोगको पहिचान, निदान एवम् उपचार गर्ने हो भने श्रवण शक्ति ह्रासका धेरै समस्याहरु निवारण गर्न सकिन्छ । उपर्युक्त तथ्यलाई मनन गर्दै नर्भिकको नाक–कान–घाटीसम्बन्धी समस्याहरू यहि फागुन २० गते आइतवार तदनुसार मार्च ३ २०१९ का दिन विहान ९ः०० बजेदेखि साझ ५ः०० बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जाँच परामर्श सेवा उपलब्ध गराउने भएको छ । सेवा प्राप्त गर्नका लागि अग्रिम नाम दर्ता गर्नुपर्ने र उपर्युक्त सेवा परिचालनका लागि नाक–कान–घाटी विशेषज्ञहरु प्रा.डा. दिपेन्द्र श्रेष्ठ, डा.रेस्की देव, आदिको टोली कार्यरत रहने छ । सो दिन श्रवण शक्ति परीक्षण (Audiogram Test) गराउनुपर्ने भएमा सो सेवा समेत निःशुल्क प्राप्त हुनेछ । निःशुल्क परीक्षण सेवा प्राप्त गर्नेहरूमध्ये यदि कसैलाई श्रवण यन्त्र (Hearing Aid) को आवश्यकता परेमा उक्त यन्त्र २० प्रतिशत छुटसहितको दर रेटमा प्राप्त हुने र सेवारूमामध्ये यदि कसैको शल्यक्रियात्मक उपचार आवश्यक परेमा मार्च महिनाभित्रै शल्यक्रिया गराउनलाई विरामीले शल्यक्रिया शुल्कमा २५ प्रतिशत छुट प्राप्त गर्ने प्रावधान राखिएको छ ।


















