कञ्चनपुर / कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा रहेको धार्मिक पर्यटकीय क्षेत्र भम्केनीधाममा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्य शुरु भएको छ ।
भ्याली कन्स्ट्रक्सन प्रालिले रु १० करोड ८१ लाखमा मूर्ति निर्माणको ठेक्का पाएको हो । महाकाली शारदापीठका जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले मेचीकाली भ्रमण गरी मूर्ति निर्माणका लागि सुन, चाँदी, पित्तल, तामालगायतका धातु सङ्कलन गर्नुभएको थियो ।
भ्रमणका क्रममा उहाँले रु एक करोड ८४ लाख ७२ हजार रकम सङ्कलन गर्नुभएको थियो । भीमदत्त नगरपालिकाकाले मूर्ति निर्माणका लागि रु एक करोड उपलब्ध गराउने घोषणा गरेको छ ।
मूर्ति निर्माणका लागि २२ देखि ३० टनसम्म धातुको प्रयोग हुने बताइएको छ । तीन वर्षभित्र निर्माण हुने मूर्ति निर्माणका लागि १२ हजार मजदूर आवश्यक पर्ने निर्माण कम्पनीले जनाएको छ ।
अष्टधातुको नेपाल आमाको ७५ फिट लामो मूर्ति बनेपछि नयाँ पर्यटकीय गन्तव्य स्थल बन्ने र यस क्षेत्रको महिमा बढ्ने जगतगुरुले जनाउनुभयो ।


















