काठमाडौं / नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा फाल्गुन १५ गतेदेखि शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन गरेको उच्च स्तरीय राष्ट्रिय सुरक्षा (Advanced Training on National Security)तालिमको आज समापन भएको छ । उक्त स्टाफ कलेजमा माननीय उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एक समारोहका बीच अन्तिम प्रवचन गर्नु भई तालिमको समापन गर्नु भएको छ ।
उक्त तालिमको समापन समारोहमा मन्तव्य राख्नु हुँदै मन्त्री श्री पोखरेलले राजनैतिक स्थायीत्वले नै राष्ट्रिय सुरक्षाको चुनौति र खतरालाई सम्बोधन गर्न सक्ने र राष्ट्रिय सुरक्षाको लागि सवै नेपालीहरु एक ठाउँमा उभिएर राष्ट्रिय हितको मामलामा अन्तरविरोधी दृष्टिकोणलाई हटाई साझा धारणा राखेमा राष्ट्रिय सुरक्षाको नीतिगत प्रवन्ध मिलाउन सहज हुने कुरा समेत जनाउनु भएको थियो ।
कार्यक्रमको शुरुवातमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको थियो । नेपाल सरकारका विभिन्न निकायका पदाधिकारीहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु र अन्य सुरक्षा निकायका अधिकृतहरु गरि जम्मा २४ जनाले उक्त तालिम सफलतापूर्वक सम्पन्न गर्नु भएको छ ।
उक्त समापन समारोहमा नेपाल सरकार तथा अन्य सुरक्षा निकायका विशिष्ट व्यक्तिहरु, नेपाली सेनाका रथीवृन्द, विभिन्न विषयका विज्ञहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मीहरु एवं सैनिक अधिकृतहरुको उपस्थिति रहेको थियो ।


















