विराटनगर / आयोजक नेपालले साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । विराटनगरको शहीद रंगशालामा खेलमा भुटानलाई बंगलादेशले २–० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै अन्तिम चारमा पुगेको हो । समूह ए मा नेपाल, बंगलादेश र भुटान रहेको छ । भुटान दुबै खेलमा पराजित भएर बाहिरिएको छ भने नेपाल र बंगलादेश पनि सेमिफाइनलमा पुगे छ । बिहीबार भएको खेलमा बंगालदेशलाई भुटानले पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकेको थियो । तर भुटानले गोलको अवसर भने सिर्जना गर्न सकेन । १२औं मिनेटमा जहान सिरात सोप्नाले मध्यभागबाट पाएको लामो पासलाई पेनाल्टी एरियामा वान भर्सेस वानमा गोल गर्न सकेन । आक्रामक खेल खेलेको बंगलादेशका लागि भुटानी गोलकिपर संगीता मोंगर बाधक बनेकी थिइन् । उनले बंगालदेशकी कप्तान सविना खातुनले प्रहार गरेको बललाई उत्कृष्ट बचाउ गरिन् । खेलको ४७ औं मिनेटमा मिश्रात जहान मौसमीले हेडर गोल गर्दै बंगालदेशलाई अग्रता दिलाइन् । उनले मोनिका चक्माको कर्नर प्रहार बललाई हेडर गोल गरेकी थिइन् । यही गोल बंगलादेशका लागि टर्निङ पोइन्ट बन्यो । त्यसपछि ८५ औं मिनेटमा बंगालदेशकी कप्तान साविनाले गोल गर्दै २–० गोलको जीत दिलाइन् । समूह ‘ए’ को अन्तिम खेलमा नेपाल र बंगालदेशले १६ मार्चमा प्रतिस्पर्धा गर्ने भएको छ । यो खेलले समूहको विजेता र उपविजेताको टुंगो लाग्ने
छ ।
भुटान बाहिरियाे
भुटान प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बनेको छ । पहिलो खेलमा आयोजक नेपालसँग ३–० गोलअन्तरले पराजित भएको भुटानलाई सेमिफाइनल सम्भावना जीवितै राख्न बंगलादेशलाई पराजित गर्नु पर्ने थियो । त्यही रणनीतिको साथ भुटान मैदानमा छिरेको थियो । उसको रणनीति पहिलो हाफसम्म सफल पनि भयो तर दोस्रो हाफमा भने दुई गोल खादै प्रतियोगिताबाट बाहिरिन पुग्यो । भुटान प्रतियोगिताकै कमजोर टिम हो । भुटानले साफ च्याम्पियनसिपमा अहिलेसम्म कुनै खेलमा जित हात पार्न सकेको छैन । यो संस्करणमा पनि जीतविहीन रहदै भुटानले आफ्नो यात्रालाई सकाएको छ ।


















