काठमाडौं / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)को बन्दको प्रभाव देशभर देखिएको छ ।
सुरक्षा गरिएको संघीय राजधानी काठमाडौंमा ठाँउठाँउमा बम भेटिएको छ भने देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् ।
सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बुधबार रातिदेखि नै राजधानीसहित देशका विभिन्न सहरमा बम आतंक सुरु गरेका थिए ।
बन्दअघि बुधबार राति काठमाडौँ र देशका विभिन्न स्थानमा राँके जुलुस पनि निकालिएको थियो । सरकारले प्रतिबन्ध लगाएपछि प्रतिक्रिया जनाउँदै महासचिव विप्लवले केपी–बादल कम्पनीलाई उचित जवाफ दिन आफूहरु तयार रहेको जनाएका थिए ।
विप्लवका कार्यकर्ताले बन्दका क्रममा बिहीबार बिहानै देशका विभिन्न स्थानमा सवारी साधन जलाएका छन् ।


















